बिचार

संसद ब्यूताउनु भनेको दक्षप्रजापतिको शरीरमा बोकाको टाउको उल्टो पारेर जोडे जस्तै

यादब देवकोटा

पटकपटकको राजनीतिक परिवर्तनपछि नेताहरुले भन्ने गर्थे हामी सच्चियौं, अब गल्ती हुँदैन । जनताले विश्वास गरेअनि मत दिए तर पारा उही दुई तिहाईको हाराहारीमा मत पाएको नेकपाकै कारण संसद विघटन भयो ३ वर्षमा र पुनः निर्वाचनको घोषणा भयो । यसको एउटै कारण नेतृत्व तहमा रहेका नेताहरुको लोभीपापी चिन्तन मात्रै हो, देश र जनताको विकास र समृद्धिका लागि हैन । पटकपटक परीक्षणबाट असफल भएका यी नेताहरुबाट अब मुलुकले मुक्ति नै पाउनु पर्दछ यसको विकल्प अहिलेका दलहरुका युवा पुस्ताले दिन सक्नुपर्दछ ।

वैकल्पिक शक्तिहरु पनि टुटफुट र जुटमै फन्को लगाइहेको छ । यस्तो अवस्थामा जनता बाध्य छन्, इतिहासले पटकपटक अफल सावित गरेकाहरुलाई नै शक्तिमा पुर्याउन । तर अब समय आयो, जनता जागरुक हुने र दलका युवा पंक्तिका नेताहरुले देशको नेतृत्व लिने हिम्मत गर्ने । तर नेकपाको विभाजनपछि आशा गरिएका नेताहरु जसरी गुटको पछिलागेर विभक्त भए यसबाट स्पष्ट हुन्छ युवाहरु नाम मात्रका छन्, उनीहरु शीर्ष तहका नेताको दौराको फेर नसमाति अघि बढ्नै सक्दैनन् । नेपाली कांग्रेसभित्र पनि त्यस्तै छ । आशा गरिएका नेताहरु देउवा र पौडेल गुटमा लागेर एकले अर्कोलाई सत्तोसराप गरिरहेका छन् ।

तर सधैं अवस्था एउटै रहँदैन, यस्तै अवस्था लामो समयसम्म कायम रहने हो भने अहिलेको नेतृत्वदेखि उनका पछि लाग्नेहरु सबैलाई जनताले उठ्नै नसक्ने गरी थचारिदिनेछन् र नयाँ नेतृत्व जन्माउनेछन् । अहिलेसम्म त्यस्तो नेताको जन्म नभएकाले नै सबैले देशमाथि खेलवाड गर्न पाएका हुन् । अहिले नेपालमा नेतै छैनन्, जति पनि नेता भनेर दावी गर्छन्, जोजोले आफू देश र जनताका लागि संघर्ष गरेको भन्छन् उनीहरु सबै स्थापित गरिएका नेता हुन् । स्थापित गरिएकाबाट केहीँ हुँदैन । काखमा राखेको बिरालोले मुसा मार्दैन । अब मुसा मार्ने बिरालो चाहियो ।

सत्तारुढ नेकपा विभाजित भएको छ, यो नेकपाका इमान्दार कार्यकर्तालाई मात्र हैन आम देशबासीलाई अपाच्य विषय हो । पार्टी विभाजन कुनै राष्ट्रिय एजेण्डामा भएन, नेताहरुको शक्ति र स्वार्थपूर्ति हुन नसकेर भयो । प्रधानमन्त्री केपी ओलीले आफ्नै आफूलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट निस्काशित गर्ने खेलको सुइँको पाउनासाथ प्रतिनिधिसभा बिघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्नु र राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको बिघटन गरी २०७८ बैशाखमा मध्यावधि निर्वाचन गर्ने घोषणा गरेपछि नेपालमा राजनीतिक रन्थमोलको नयाँ चरण सुरू भएको छ ।

तीनवर्ष अगाडिको आमनिर्वाचनबाट इतिहासमै सबैभन्दा शक्तिशाली मानिएको सरकार आफ्नै दलका कारण कमजोर हुनु र नयाँ निर्वाचनको घोषणा भएपछि मुलुकमा नयाँ परिस्थितिको सिर्जना भएको छ । यो नयाँ परिस्थितिले नयाँ नेतृत्व पो जन्माउने हो कि, आशा छ, तर हरेक नागरिक स्वयं कति सचेत छ यस कुराप्रति भन्ने प्रश्न पनि छ । अब पनि पुरान सडेगलेका, असफल भएका नेताहरुलाई शक्तिमा पु¥याएर देश र जनताको भाग्य र भविष्यमाथि खेलवाड गर्न दिइरहने हो भने यसको दोष हाम्रै हो ।

सत्तारुढ दलभित्र यति सशक्त प्रतिपक्षको जन्म भयो कि त्यो वैधानिक प्रतिपक्ष नेपाली कांग्रेसभन्दा बलियो भयो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पटकपटक प्रधानमन्त्री ओलीलाई राम्रो काम गर्नु, हामी साथ दिन्छौं भन्दै सरकारका अनेक गल्तीहरु ढाकछोप गर्दै आए पनि सत्तारुढ दलकै नेताहरुले सरकारलाई ढाल्ने जुन खेल खेले नेपालको सत्ता राजनीतिमा अग्रजबाट पाएको विरासत नै थियो । आफ्नै दलको सरकार ढाल्नेहरुको भीड देशमा शक्तिशाली बनेर बसिरहेको छ । अझ नेकपाको निर्माण विजातीय मिश्रणबाट भएको थियो, त्यही विजातीय द्रव्य मन्थनबाट निस्केको विषको परिणाम नेकपा विभाजन हो ।

जनमतको पटक्कै ख्याल गरिएन दुबै पक्षबाट । पाँच वर्ष ढुक्कले स्थिर सरकार चलाउन नेकपालाई दुई तिहाइ नजिकको बहुमत दिएका थिए तर तीन वर्षमै त्यो जनमतको घोर अपमान भयो । सत्ताको लुछाचुँडीमा शक्ति र समय खर्च गरेर राष्ट्रिय खलनायक बन्ने बाटो रोजेका नेताहरुकै कारण अथाह स्रोत, सम्भावना भएको मुलुक अस्थिरता, अन्यौल र अराजकताको महाअन्धकार हुँदै असफलताको दिशातिर घकेलिएको छ । उनीहरुबाट देश र जनतालाई केन्द्रबिन्दुमा राख्ने भनेको भाषणमा मात्र हो, व्यवहारमा आफू, आफ्नो परिवार, आसेपासे र आफूलाई निर्देशन दिने, नेताा बनाउनेहरुको आदेश पालना मात्रै हो ।

अब यो अवस्थाको अन्त्य हुनुपर्दछ । चुनावको बिरोध गरेर सडक तताउनुको कुनै अर्थ छैन, मरेको संसद ब्यूताउनु भनेको दक्षप्रजातिको शरीरमा बोकाको टाउको उल्टो पारेर जोडिदिए जस्तै हो । यो संसद पुनःस्थापित भए पनि अब एकल सरकार बन्दैन, नौ नौँ महिनामा सरकार बदलिरहनुको साटो निर्वाचनबाट नयाँ शक्ति आउनु राम्रो र त्यो नै देश र जनताको हितमा छ । तर यसका लागि त्यस्तो शक्तिको जन्मदाताको अवतार हुनु आवश्यक छ ।

संविधानको संरक्षक राष्ट्रपतिबाट (व्याख्या, अपव्याख्या जे भए पनि) मन्त्रिपरिषद्को सिफारिशमा संसद विघटन गरिसकेपछि त्यसलाई ब्यूताउने हो भने यसअघि पटकपटक विघटन भएका संसदहरु पनि पुनःस्थापित होस् भन्दै नारा, जुलुश, प्रदर्शन, रिट पर्न थाले के होला ? पुरानो मर्ने र नयाँ जन्मिने क्रमको निरन्तरताको पक्षमा लाग्नुको विकल्प कसैसंग छैन ।

बेलैदेखि होस गरौं, योजना बनाऔं हामी आम जनताले– नेतृत्व चुन्नमा सचेत बनौं । अब बासी, सडेगलेका नेताहरुको पछि लागेर हैन, देशको माटो छातीमा राखेर कसम खाँदै देश बनाउने बाचासहित दल, नेता हैन, देश भनेर सबै पार्टीका कामगर्ने जोश, जाँगर, हिम्मत भएका युवापुस्ताका नेताहरु एकजुट हुनुपर्छ, देश बदल्ने अभिभारा ग्रहण गर्नुपर्छ । अझै पनि आआफ्ना ‘गडफादर’ नेताको दौराको फेर समातेर अवसर छोप्ने प्रवृत्तिलाई निरन्तरता दिइरहने हो भने युवा भनिएकाहरुको पनि पतन निश्चित छ । यो समय राजनीतिमा स्थापित भैरहेको स्वार्थीहरुको भीडलाई पन्छाउने अवसर पनि हो ।

सम्बन्धित खबर

Back to top button