जन सरोकार

विद्यालयमा निर्वाचन प्रक्रियाबारे प्रयोगात्मक सिकाइ

विद्यालय शिक्षामा सैद्धान्तिक सिकाइ मात्रै हुँदा विद्यार्थी व्यावहारिक हुन नसकेको गुनासो आइरहेको सन्दर्भमा नुवाकोटको बेलकोटगढी–११स्थित एक सामुदायिक विद्यालयले प्रयोगात्मक सिकाइमा फरक अभ्यास गरेको छ ।

उपल्लो तिगाउँस्थित पञ्चकन्या माध्यमिक विद्यालयमा कक्षा १० को सामाजिक विषयअन्तर्गत ‘निर्वाचनको प्रक्रिया’ शीर्षकको पढाइका लागि आज विद्यालय परिसरमा कक्षा तीनदेखि १० का विद्यार्थीको सहभागितामा नमूना निर्वाचन गराइएको छ ।

नमूना मतदानबाट विद्यार्थीको टोली नेता र उपनेतासमेत चयन गराइएको छ । मतदानामा ३० जना कूल मतदातामा रहेकामा २६ जनाले भाग लिएका थिए । उनीहरुलाई लाइन लगाइएर मतदानमा सहभागी गराइएको थियो । मतदान सकएपछि विद्यार्थीले नै सुरक्षासहित मतपेटिकलाई काँधमा बोकेर विद्यालयमै तयार गरिएको मत गणनास्थलमा लगेका थिए भने निर्वाचन आयोगका आयुक्त र निर्वाचन अधिकृतका रूपमा विद्यार्थी नै परिचालित थिए ।

मतगणनाको परिणामअनुसार टोली नेतामा निर्जला पनेरूले १९ र प्रतिस्पर्धी नमूना तामाङले सात मत प्राप्त गरेपछि पनेरुलाई विजयी घोषित गरियो । उपनेतामा अशिम पाण्डेले १५ मत ल्याएर विजयी भएका थिए भने प्रतिस्पर्धी अमन लामाले ११ मत प्राप्त गरेका थिए ।

विद्यालयका सामाजिक विषय शिक्षक सुदर्शन खतिवडाका अनुसार चार वटा हाउसका टोली नेता र उपनेता, १० वटा कक्षाका नेता र उपनेता गरी २६ ले मतदान गरेका थिए । पहिलो चरणमा विद्यार्थीले नै ती टोली नेता र उपनेता छानेका थिए । अन्य विद्यार्थीले रमाइलो मानेर हेरेका थिए । विद्यालयमा कूल ४७६ विद्यार्थी अध्ययनरत छन् ।

विद्यालयका प्रधानाध्यापक शम्भु तिवारीले निर्वाचन प्रक्रियाबारे विद्यार्थीमा सिकाइ हुनाका साथै टोली नेता चयन कार्य पनि सम्पन्न गराइएको बताउनुभयो । उहाँले यसले विद्यार्थीमा नेतृत्व विकास र मतदाता शिक्षाबारे ज्ञान, अभ्यास बढेको जनाउँदै सो प्रक्रियामा शिक्षकले सहजीकरणको काम गरेको जनाउनुभयो ।

विद्यालयले निर्वाचनमा प्रयोग हुने सामग्री स्थानीयरूपमै न्यून लगानीमा गरेको थियो । स्थानीय पसलबाट खाली बाक्सा ल्याइएको थियो भने मतपत्र विद्यालयमै तयार गरिएको थियो । साथै मतदाता नामावली कक्षाकोठामा प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button