जन सरोकार

आमाबुबाबाट अलग्गिएका बालबालिका निकृष्ट प्रकारको श्रम गर्न बाध्य

दाङ, तुलसीपुर उपमहानगरपालिका–६ की रेखा चौधरी १२ वर्षको पुगिन् । अहिले उनलाई आफू र आफ्नो १० वर्षीया बहिनी रेणुका चौधरीलाई कसरी पालनपोषण तथा पढाइको खर्च जुटाउने भन्ने चिन्ताले पीरोलिरहेको बताउँछिन् ।

घरखर्च चलाउन र बहिनीलाई पढाउन उनले बिहानबेलुका अरुको घरमा भाँडा माझ्ने र दिउँसोको समयमा विद्यालयमा पढन जाने गरेको उनी बताउँछिन् । बाबुको घर दङगीशरण गाउँपालिकाको मिरौली गाउँमा छ भन्ने सुनेकी छु, तर बाबु कहाँ छन् के गर्छन् भन्ने थाहासमेत नभएको बताउने उनी आमाले आफूहरु सानै छँदा दोस्रो विवाह गरी गएको भन्छिन् ।

उनले भनिन्, “आमालाई बाबुले हामी सानै हुँदा सधैँ गाली गर्ने, कुपटपिट गर्ने, गरिबकी छोरी भन्दै हेला गर्न थालेपछि बाबुको यातना सहन नसकेर सम्बन्धविच्छेद गरी १० वर्ष पहिले दोस्रो बिहे गरी गएकी छिन् ।”

आमाले दोस्रो विवाह गर्नुभयो, आफूहरुलाई केहीसमयसम्म सोही घरमासँगै राख्नुभयो तर कान्छो बुबाका आमा बाले अर्काका सन्तानलाई किन पाल्ने भन्दै आमा गीता चौधरीलाई सधैँ गाली गर्न थालेपछि आफू त्यहाँबाट निक्लेर आएको उनी बताउँछिन् । “केही दिनसम्म सडकका गल्लीमा रातदिन बितायाैँ अनि काम खोज्दै गर्दा तुलसीपुर उपमहानरपालिका–६ को एक घरमा गयांै । त्यही घरको आन्टीले खान बस्न दिनुभयो”, उनले भनिन्, “आमाले त्यहाँ भएको जानकारी पाएपछि घरपरिवारलाई थाहा नदिएर भेट्न आउनुहुन्थ्यो । कहिले कपडा, कहिले खाने कुरा ल्याईदिनुहुन्थ्यो ।”

दुई हप्तासम्म त्यही घरमा बस्यौं, घरबेटी आन्टीले तिमीहरु पढ्न जानुपर्छ, तिम्रो आफन्त कहाँ छन् भनि सोधीखोजी गरी मामाघरको हजुरआमालाई भेटाइ दिनुभयो । त्यसपछि हजुरआमालाई बोलाएर सम्झाएर हामीलाई जिम्मा लगाउनुभयो उनले भनिन् । हजुरआमा देशनी चौधरीले र मैले अहिले मजदूरी गरेर पैसा ल्याउँछौं, त्यसैबाट दाल, चामल नूनतेल किनेर खान्छांै ।

हजुरआमा ७० वर्षकी हुनुहुन्छ । उहाँले दिनभरी अरुको घरमा मजदूरी गर्नुहुन्छ । मैले भने बिहानबेलुका अरुको घरमा भाँडा माझ्ने र दिउँसो पढन स्कुल जाने गरेकी छु उनले भनिन् । रेखाले तुलसीपुरमा रहेको एक सरकारी स्कुलमा कक्षा ४ मा पढ्छिन् भने बहिनी रेणुकाले पनि सोही विद्यालयमा कक्षा ३ मा अध्ययन गरिरहेकी छन् ।

उनकी हजुरआमा देशनी चौधरीले तुलसीपुर उपमहानरपालिका–१२ को भुतेडाँडा भन्ने ठाउँमा रहेको ऐलानी जग्गामा सानो कच्ची घर बनाएर बसेकी छन् । आफ्नो दुःखेसो पोख्दै देशनीले भनिन्, “मैले छोरीलाई सानैमा बिहे गरिदिए, धन सम्पत्ति थिएन र पढन पनि पाइन, श्रीमान् र घरपरिवारले त गरिबकी छोरी भन्दै दिनहुँ हेला गर्ने र खान नदिई कुटपिट गर्न थालेपछि छोरीले त्यो सहन नसकेर माइतीमा आएर बसी । अनि सम्बन्धविच्छेद गरी दोस्रो विवाह गरेर गई भनिन् ।

अहिले मलाई दुईवटी नातीलाई कसरी पढाउ र के खुवाउ भन्ने समस्या छ । त्यस्तै दुबै नातीनीको जन्मदर्ता नहुँदा समस्या भएको छ । स्कुलका सर मेडमले जन्मदर्ता नभएपछि नाम लेखाइ दिन्नौं भन्नुहुन्छ भन्दै उनले नातीनीहरुले घर आएर भन्छन्, त्यसले झन समस्या भएको जनाए ।

त्यसैगरी रोल्पा जिल्लाकी १४ वर्षिया कमला विक पनि तुलसीपुर बजारमा रहेको एक नास्ता पसमा काम गदै आएकी छन् । घरमा खान पुग्दैन, सानैमा बुबाको निधन भयो । घरखर्च चलाउनका लागि पैसा कमाउन भनि आमालाई जानकारी नै नदिएर साथीसँग आफू यहाँ आएको उनले बताइन् । कक्षा ५ मा अध्ययनरत कमला पढ्दापढ्दै छोडेर आएको बताउँछिन् । उनी भन्छिन्, “घरमा आमा, दुई बहिनी र एक भाइ छन् ।”

अहिले रेखा र कमला मात्र होइन, गरिबी, अभाव र आवश्यक घरायसी वातावरणको अभावमा दाङका ग्रामीण क्षेत्रका थुप्रै बालबालिका आफ्ना बाबुआमाबाट अलग्गिएर निकृष्ट प्रकारको श्रम गर्न बाध्य छन् । घरमा बस्ने उचित वातावरण नभएपछि आफ्नो पढाइलाई अगाडि बढाउन बालश्रम गर्न बाध्य हुनुपरेको उनीहरूको भनाइ छ । सम्बन्धितले बालबालिकालाई काम गराउने, पढाइदिन्छु भनेर काममा लगाउँछन् तर व्यवहारमा सो कार्यान्वयन नगर्दा उनीहरूको पढ्ने सपना भने पूरा हुनसकेको पाइँदैन ।

गरिबीका कारण आफ्ना छोराछोरीलाई राम्रोसँग खानलाउन र उचित शिक्षादीक्षा दिन नसक्दा सन्तानको भविष्यलाई ध्यानमा राखेर आमाबाबुले नै आफ्ना नातेदार वा चिनेजानेका व्यक्तिका साथ लगाई पोखरा, चितवन, काठमाडौँलगायतका सहर बजारमा पठाउने गर्छन् ।

तुलसीपुर उपमहानरपालिका–६ लाई तीन वर्ष पहिले बालश्रममुक्त वडा घोषणा गरिसकेको छ । तर अहिले पनि आर्थिक अभावका कारण धेरै बालबालिका अरुका घर तथा पसल तथा यातायातका साधनमा श्रम गर्न वाध्य भएका छन् । वडा सदस्य यमुना परियार भन्नुहुन्छ, “हामीले तीन वर्ष अघि वडालाई विभिन्न अभियान सञ्चालन गरी बालश्रममुक्त वडा घोषणा गरेका थियौं ।” त्यति बेला धेरै सुधार भएको थियो तर पछिल्लो समय कोरोनालगायत विभिन्न कारणले आर्थिक जोहो गर्नका लागि बालबालिका श्रम गर्न बाध्य भएको उहाँको भनाइ छ ।

केही बालबालिकाआर्थिक अभाव तथा अभिभावक विहीन हुँदा कामगरी खान बाध्य छन् । केही भने पढ्दापढ्दै साथीको लहैलहमा लागेर भागेर एक ठाउँबाट अर्को ठाउँमा जाने र त्यहाँ जोखिम मोलेर काम गर्छन् । त्यस्ता बालबालिकालाई भेटेमा सम्बन्धित अभिभावक तथा स्थानीय तहलाई जानकारी गराउन वडा सदस्य परियारले सबैसँग आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “बालबालिकालाई काममा राख्ने गरेका होटेल, ग्यारेज, पसलमा निगरानी बढाउनुपर्ने र त्यस्ता बालबालिका भेटिएमा काममा लगाउनेलाई कानुन बमोजिम कारबाही गर्नुपर्छ ।”

सरकारी निकायबाट पनि निकृष्ट प्रकारको श्रम गर्नबाट रोक्नका लागि बालबालिका र अभिभावकका लागि जनचेतनामूलक कार्यक्रम ल्याउनुपर्नेमा जोड दिँदै उहाँले बालबालिकालाई निकृष्ट प्रकारको श्रममा लगाउने कार्य सामाजिक अपराध भएकाले त्यस्तामाथि कडा कारबाही गर्नुपर्नेमा बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.