कर्पोरेट/पर्यटन

पुस १६ गतेदेखि सर्वसाधारणका लागि गद्दी बैठक खुला

यही पुस १६ गतेदेखि सर्वसाधारणका लागि वसन्तपुरमा रहेको ऐतिहासिक गद्दी बैठक खुला हुने भएको छ । भूकम्पका कारण आंशिक क्षति भएको गद्दी बैठक जिर्णोद्धार सम्पन्न भइसकेको छ । मर्मतपछि ऐतिहासिक उक्त बैठक ग्यालरीसहित सञ्चालन गर्न लागिएको हो ।

ग्यालरीमा पृथ्वीनारायण शाहले एकीकरण गरेदेखि हालसम्म आइपुग्दा राजनीतिक परिवर्तका विषय समेटेर विभिन्न कालखण्डका लिखित दस्तावेज राखिने हनुमानढोका दरबार हेरचाह अड्डाले जानकारी गराएको छ । यस अवधिका प्राप्त गर्ने सके जतिका फोटो पनि अवलोकनका लागि ग्यालरीमा राख्ने तयारी भइरहेको हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले जानकारी दिनुभयो ।

उक्त ऐतिहासिक कागजात विद्यार्थी, अवलोकनकर्ता र अनुसनधानकर्ताका लागि महत्वपूर्ण दस्तावेज हुने विश्वास अड्डाको रहेको छ । जिर्णोद्धारपछि तत्काल खोल्ने भनिए पनि केही आन्तरिक तयारी गर्नुपर्ने भएकाले केही समय लागेको बताइएको हो । ‘सांस्कृतिक धरोहर’समेत रहेको बैठक सर्वसाधरणका लागि खुला हुँदा यसको झनै महत्व बढ्ने आशा गरिएको छ । भूकम्पबाट क्षति भएको गद्दी बैठकको तीन वर्षअगावै जीर्णोद्धार सकिएको सम्पन्न भएको थियो ।

गद्दी बैठक काठमाडौँ दरबार क्षेत्रमा अवस्थित छ । हनुमानढोका नामले पनि प्रसिद्ध यो दरबार क्षेत्रमा रहेका अन्य ऐतिहासिक भवन र मन्दिर राजा रत्न मल्लदेखि पृथ्वीवीर विक्रम शाहका पालासम्म निर्माण गरिएका हुन् । त्यस क्षेत्रमा अन्य महत्वपूर्ण स्मारक छन् । त्यस क्षेत्रमा तलेजु मन्दिर, जगन्नाथ मन्दिर, शिवपार्वती मन्दिर, ठूलो घण्टा, कालभैरव, मैजुदेवल, कुमारीघर, वसन्तपुर दरबार, गद्दी बैठक, काष्ठमण्डपलगायत महत्वपूर्ण स्मारक रहेका छन् ।

अमेरिकी दूतावास र संस्कृति सम्पदा कोषले जिर्णोद्धार गरेको गद्दी बैठक २०७५ असारमा नै नेपाललाई हस्तान्तरण गरिएको थियो । सोही दिन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसको उद्घाटन गर्नुभएको थियो । तत्कालीन समयमा विदेशीलाई स्वागत गर्न विशिष्ट किसिमको छुट्टै बैठक कक्षको आवश्यकता महसुस गरेर तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरको पालामा वसन्तपुर दरबारमा युरोपेली वास्तु शैलीमा बेलायती बैठक (गद्दी बैठक) निर्माण गरिएको थियो ।

सुरुमा यो भवनमा विदेशी पाहुनासँग राजाको औपचारिक भेटघाट आयोजना हुन्थ्यो । राजा नारायणहिटी दरबारमा बस्न थालेपछि यसको प्रयोग कम हुँदै गयो । हाल यसको प्रयोग राष्ट्रप्रमुखले जीवित देवी कुमारीको दर्शन र वसन्त श्रवण गर्दा मात्र हुन्छ । सन् १९०८ मा राणा प्रधानमन्त्री चन्द्र शमशेरद्वारा निर्मित यो बैठक सर्वसाधारणले यसअघि अवलोकन गर्न पाएका थिएनन् ।

भ्रमण वर्ष, २०२० लाई लक्षित गरेर खुला गरिए पनि विश्वभरि फैलिएको कारोनाका कारण अवलोकन गर्न नपाई पुनः बन्द गरियो । मर्मतपछि बैठकको भुइँतलामा सङ्ग्रहालयसमेत बनाइएको छ भने उक्त सङ्ग्रहालयमा नेपाली इतिहास र संस्कृतिका दुर्लभ पुरातात्विक वस्तुका साथै विशेषगरी वसन्तपुरमा रहेको ऐतिहासिक सामग्रीको चित्र र त्यसको बारेमा विवरणसमेत राखिने छ ।

वसन्तपुर क्षेत्रमा हुने गरको जात्रा पर्वको बारेमा पनि उक्त स्थानमा जानकारी राखिने छ । त्यसैगरी “५० वर्ष अघिको अनुमान ढोका” भन्ने शीर्षकमा सर्वसाधारणलाई जानकारी दिने उद्देश्यले ५० वर्ष अघिको उक्त स्थानका फोटो प्रदर्शन गर्न लागिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button