अर्थ

सहुलितपूर्ण पुनर्कर्जा प्रवाहमा बैंक तथा वित्तीय संस्थाको आलटाल

कोरोना भाइरस महामारीका कारण संकटमा परेका उद्योग, व्यवसाय तथा अन्य क्षेत्रको उत्थानका लागि सरकारले सहुलियत कर्जाका लागि ८५ अर्ब रुपैयाँ पुनर्कर्जा स्वीकृत गरिसकेको छ । तर बैंक तथा वित्तीय संस्थाहरुले सो कर्जा प्रवाहमा आलटाल गरिरहेका छन् । बैंकहरुको आलटालले राहतको आश गरेको विभिन्न क्षेत्रका व्यवसायीहरु थप मर्कामा परेका छन् ।

बैंक तथा वित्तीय संस्थामाा सहुलियतको कर्जा लिन पुगेकाहरुलाई राष्ट्रबैंकको कार्यविधि विपरीत कुल पूँजीको १० प्रतिसम्म वा त्योभन्दा कम रकम मात्र कर्जा प्रवाह गर्न सकिने भन्दै फर्काउने गरिएको छ । राहतको प्रतिक्षामा बसेकाहरु सरकारी कार्यविधि र निर्देशन विपरीत बैंकहरुबाट भएको मनोमानीबाट थप प्रताडित बनेका छन् ।

यस्तो स्थितिको अन्त्यका लागि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकारको निर्देशनमा राष्ट्र बैंकले लागु गरेको सस्तो कर्जा प्रवाहमा बेवास्ता नगर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिनुभएको छ ।

मंगलबार बैंकर्स संघको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अधिकारीले राष्ट्र बैंकले करिब ८५ अर्ब रुपैयाँको पुनर्कर्जा स्वीकृत गरिसकेको छ । तर, बैंक तथा वित्तीय संस्थाबाट थोरै मात्र प्रवाह भएको पाएका छौं । कर्जा प्रवाहमा बेवास्ता नगर्न निर्देशन दिनुभएको हो ।

उहाँले सस्तो ब्याजदरको कर्जा प्रवाहको स्थितिबारे राष्ट्र बैंकले छिट्टै बैंक तथा वित्तीय संस्थाको कार्यप्रगति मूल्यांकन गर्ने बताउँदै आउँदो वैशाखमा बैंकहरूको मूल्यांकन गरिने जानकारी दिनुभयो ।

त्यस्तै कार्यक्रममा नेपाल राष्ट्र बैंकको पूर्वगभर्नर सत्येन्द्रप्यारा श्रेष्ठले अहिलेको चुनौतीपूर्ण अवस्थाबाट बाहिर आउन सबै एकजुट भएर लाग्नुपर्ने सुझाव दिनुभयो । बैंकर्स संघका अध्यक्ष भुवन दाहालले कोभिड–१९ को नकारात्मक प्रभावले सिर्जित असहज स्थितिमा आफू बचौं र अरूलाई पनि बचाऊँ भन्ने मूल मन्त्रका साथ बैंकर तथा अन्य व्यवसायीहरू अघि बढ्नुपर्ने अवस्था रहेको बताउनुभयो ।

दाहालले अर्थतन्त्र सामान्य अवस्थामा आउन थप केही समय लाग्ने भए तापनि केही क्षेत्रबाहेक प्रायः क्षेत्र हाल सञ्चालनमा आएकाले आशाको सञ्चार भएको बताउँदै गत आर्थिक वर्षको पहिलो ५ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा कर्जा प्रवाहको वृद्धिदर २० प्रतिशत बढिरहनुले पनि उक्त विषय पुष्टि हुने दावी गर्नुभयो ।

यसबीच बैंकर्स संघको उपाध्यक्षमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय निर्विरोध चुनिनुभएको छ । यसअघिका उपाध्यक्ष एसबीआई बैंकका प्रमुख कार्यकारी अधिकृत अनुकूल भाटनगरको कार्यकाल सकिएपछि उक्त पद खाली थियो । साधारणसभाले सोही पदमा उपाध्यायलाई चुनेको हो ।

यस्तै, संघको कार्यकारिणी सदस्यमा एसबीआई बैंकका प्रमुख कार्यकारी अधिकृत दीपककुमार दे र माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला निर्विरोध निर्वाचित भएका छन् ।

कोरोना प्रभावित व्यवसायीले पाउने भए ७ करोडसम्म कर्जा सुविधा, कार्यविधि स्वीकृत

सम्बन्धित खबर

Back to top button