एनआरएन पदाधिकारीको सदस्यता धरापमा

26 September, 2012 15:12 | प्रबास | comments | 38400 Views

गैरआवासीय नेपाली संघ (एनआरएन) अन्तर्राष्ट्रिय परिषद्को अस्ट्रेलियामा सम्पन्न सातौं सम्मेलनले संघ विधान परिमार्जन गरेको छ ।

परिमार्जित विधानमा विदेशबाट नेपाल फर्केपछि जुनसुकै निर्वाचित पदमा रहेको भए पनि स्वतः पद रद्द हुने व्यवस्था छ । गैरआवासीय नेपाली संघको परिभाषाले समेत नेपालमा बसेर गैरआवासीय नेपाली हुनसक्ने व्यवस्थालाई खारेज गरेको छ । यो विधान लागू भएपछि वर्तमान उपाध्यक्ष रामेश्वर साह, महासचिव तेन्जी शेर्पा र संरक्षक भीम उदासको पद धरापमा परेको छ । परिमार्जित विधानले नेतृत्व तहमा रहेका यी तीनजनालगायत झन्डै दर्जन व्यक्ति प्रभावित हुने भएका छन् ।

  

 

नया व्यवस्थाअनुसार विधानको धारा १७.५ मा सदस्यता सम्बन्धी विषय उल्लेख छ । उक्त धारामा अन्तर्राष्ट्रिय समन्वय परिषद् अध्यक्ष, पदाधिकारी र सदस्यहरूको उम्मेदवार बन्न धारा ५.१ अनुसार नेपालीमूलको विदेशी नागरिक वा नेपालको चालू आर्थिक वर्षमा एक सय ८२ दिनभन्दा बढी दक्षीण एसियाली सहयोग संगठन (सार्क) अन्तर्गतका मुलुकबाहेक अन्य देशहरूमा अध्ययन, पेसा रोजगारी वा व्यवसाय गरी बसोवास गरेर गैरआवासीय नेपालीको हैसियत कायम गरेको हुनुपर्नेछ । निर्वाचित भइसकेपछि गैरआवासीय नेपालीको हैसियत नरहेमा निजको पद स्वतः खारेज हुने परिमार्जित विधानमा उल्लेख छ ।

 

 

संशोधित विधानले वर्तमान उपाध्यक्ष रामेश्वर साह, महासचिव तेन्जी शेर्पा र संरक्षक भीम उदासको पद स्वतः खारेज भएको छ । साह विगत केही महिनादेखि नेपालमा छन् ।  साह यूएईमा बस्दै आएका थिए । साह सिरहाका हुन्, यूएईमा जागिर सकिएपछि उनी काठमाडौंमा बस्दै आएका हुन् । उदास दुई वर्षदेखि गैरआवासीय नेपाली भएको दाबी गर्दै नेपालमै छन् । उनी भाटभाटिनीस्थित इन्द्रेणी कम्प्लेक्समा फल्याट किनेर श्रीमतीसंग बस्दै आएका छन् । उदास यूएनका जागिरे हुन् । उदास संघको संरक्षक रहिरहनसक्ने भए पनि गैरआवासीय नेपालीको हैसियत भने समाप्त हुनेछ । यसअघि उदास दक्षिण अफ्रीकाबाट गैरआवासीय नेपालीका प्रतिनिधि थिए । महासचिव शेर्पा हाइड्रोपावर कम्पनीमा जागिरे हुन् ।  शेर्पा, कोरियामा बस्थे, उनले दक्षिण कोरिया छाडेको पांच वर्ष बितिसकेको छ ।

 

 

तर तीनैजना अहिले नै पद छोड्ने मुडमा छैनन् । ‘हिजोसम्म नैतिक बाध्यता थियो, अब कानुनी बाध्यता भयो, सकेसम्म उनीहरू पदमा नबस्दा राम्रो,’ एनआरएन स्रोतले भन्यो, ‘गैरआवासीय नेपाली संघको नाममा नेपालमा हुने गतिविधिप्रति नेतृत्व चनाखो हुनुपर्छ । होइन भने सदस्यता रद्द भइसकेपछि एनआरएन भइराख्दा संघको विश्वसनीयतामाथि नै प्रश्न उठ्न सक्छ ।’ उनीहरूले गैरआवासीय नेपालीको हैसियतले प्रधामन्त्री, राष्ट्रपति लगायत सरकारी उच्चपदस्थ अधिकृतहरूलाई भेट्ने गरेका छन् ।

 

 

यसअघि तत्कालीन प्रवक्ता डा.जुगल भुर्तेल रुसबाट नेपाल फर्केपछि गैरआवासीय नेपालीको हैसियत त्याग गर्दै पांचौ अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको तर्फबाट भाग लिएका थिए । परिमार्जित विधानअनुसार थप एक महिला उपाध्यक्षको व्यवस्था गरिएको छ । अब संघको केन्द्रीय परिषद्मा तीन उपाध्यक्ष रहनेछन् । उपाध्यक्षहरूलाई नेपाल सरकार र संघबीच समन्वयनका विषयहरू हेर्ने, राष्ट्रिय समन्वय परिषद्बीच समन्वयन गर्ने र कार्यदलबीच समन्वयन गर्ने स्पष्ट काम विधानले तोकेको छ । उनीहरूको जिम्मेवारी भने अध्यक्षले तोक्नेछन् ।

 

 

संशोधित विधानले अन्तर्राष्ट्रिय परिषद्को निर्वाचनलाई  व्यवस्थित गर्न तीन महिनाअघि एक निर्वाचन आयुक्तसहितको सात सदस्यीय निर्वाचन समिति गठन हुने व्यवस्था गरेको छ । संघको नया विधानअनुसार महाधिवेशन अन्तर्राष्ट्रिय सम्मेलनभन्दा अगावै हुने भएको छ । यसअघि अन्तर्राष्ट्रिय सम्मेलन पहिलो दिन र बांकी दुई दिन महाधिवेशन हुने प्रचलन थियो । आगामी सम्मेलनले संघका निर्वाचनलगायत आन्तरिक सांगठनिक गतिविधिहरू पहिलो र दोस्रो दिन गर्नेछ भने तेस्रो दिन अन्तर्राष्ट्रिय सम्मेलन हुनेछ  भनेर समाचार छापिएको छ ।

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More