राजनीति

मन्त्री यादवद्वारा सिमरा सेजको अतिक्रमित जग्गाको निरीक्षण

उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री गौरीकुमारी यादवले आइतबार सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज)को स्थलगत निरीक्षण गर्नुभएको छ । सरकारले अतिक्रमित जग्गा खाली गराउने तयारी गरिरहेका बेला मन्त्री यादवले सेज क्षेत्रको निरीक्षण गर्नुभएको हो ।

निरीक्षणका क्रममा मन्त्री यादवले जीतपुरसिमरा उपमहानगरपालिका–४, १४ र १५ अन्तर्गत पर्ने सेजको जग्गा तथा त्यहाँ निर्माण गरिएका संरचनाबारे स्थानीय सरकार, प्रशासन र स्थानीयवासीसँग जानकारी लिनुभएको थियो ।

उक्त मन्त्रालयका सचिव कृष्णबहादुर राउत, विशेष आर्थिक क्षेत्र प्राधिकरणका निमित्त कार्यकारी निर्देशक मेघराज शङ्करसहितको टोली लिएर सिमरा पुग्नुभएकी मन्त्री यादवले सेज क्षेत्रमा बसोबास गर्दै आएका स्थानीयसँग छलफलसमेत गर्नुभएको थियो । सो अवसरमा लामो समयदेखि बसोबास गर्दै आएका ९३ घरपरिवारले मन्त्री यादवलाई ज्ञापनपत्र बुझाएका छन् ।

स्थानीयका अनुसार उनीहरू २०५९ सालमा वीरगन्ज चिनी कारखाना बन्द हुनुअघिदेखि नै उक्त क्षेत्रमा बसोबास गर्दै आएका हुन् । कारखानाले आफ्ना मजदुर परिवारलाई बसोबास तथा खेतीपातीका लागि आफ्नै स्वामित्वको जग्गामा राखेको उनीहरूको भनाइ छ ।

त्यस्तै, २०५० सालमा बालगङ्गा खोलाको बाढीबाट विस्थापित ३७ परिवारलाई तत्कालीन डुमरवाना गाविसले स्थानीय प्रशासनसँगको समन्वयमा सोही क्षेत्रमा व्यवस्थापन गरेको थियो ।

चिनी कारखाना बन्द भएपछि २०६२ सालमा उक्त जग्गाको स्वामित्व उद्योग मन्त्रालयको नाममा आए पनि ती १३० परिवार अझै त्यही बस्दै आएका छन् ।

आफूहरू अतिक्रमणकारी नभई कारखानाकै व्यवस्थापनमा बसोबास गरेको भन्दै ९३ परिवारले उचित व्यवस्थापनको मागसहित स्थानीयले मन्त्री यादवसमक्ष ज्ञापनपत्र बुझाएका हुन् ।

चिनी कारखाना र तत्कालीन स्थानीय प्रशासनले व्यवस्थापन गरेका परिवारबाहेक हाल सेज क्षेत्रको जग्गामा ६०० भन्दा बढी घरपरिवार बसोबास गर्दै आएका छन् । सेजले २०७७/७८ सालमा सार्वजनिक गरेको तथ्याङ्कअनुसार ६०६ घरपरिवार सेजको जग्गामा बस्दै आएका छन् । जसलाई प्राधिकरणले अतिक्रमणको रूपमा उल्लेख गर्दै आएको छ ।

विशेष आर्थिक क्षेत्र प्राधिकरणका अनुसार जीतपुरसिमरामा कुल ८३३ बिघामध्ये ४९० बिघा जग्गा अतिक्रमणमा परेको छ । हाल ३४३ बिघा मात्रै सेजले उपयोग गरिरहेको जनाएको छ ।

प्राधिकरणले वैशाख ९ गते जीतपुरसिमरा उपमहानगरपालिकालाई पत्राचार गर्दै अतिक्रमित जग्गा खाली गराउन सहयोग मागेको थियो । त्यसअनुसार उपमहानगरपालिकाले वडा कार्यालयमार्फत स्थानीयलाई सूचनासमेत जारी गरिसकेको छ ।

मन्त्री यादवसँगको भेटमा जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेलले अतिक्रमित जग्गा खाली गराउने कार्यमा उपमहानगरपालिकाले सहयोग गर्ने बताउनुभयो ।

निरीक्षणका क्रममा मन्त्री यादवले बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रसहित सम्बन्धित निकायका प्रतिनिधिसँगसमेत छलफल गर्नुभएको थियो । निरीक्षणपछि उहाँले सरोकारवाला निकायसँग आन्तरिक छलफल गरेर फर्किनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.