विपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित
प्रमुख प्रतिपक्षी दललगायतका विपक्षी दलहरूको विरोधका कारण प्रतिनिधिसभाको आज मंगलबारको बैठक नियमित कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ ।
बैठकमा विपक्षी दलहरूले नेपाल–भारत सीमाका सम्बन्धमा प्रधानमन्त्रीले दिनुभएको धारणाको सम्बन्धमा जवाफ माग गर्दै अवरोध गरेका थिए । सभामुख डोलप्रसाद अर्यालले पटक–पटक आसनग्रहण गरी बैठक सञ्चालनमा सहजीकरण गर्न विपक्षी दललाई आग्रह गर्नुभयो ।
सभामुखको सो आग्रहलाई विपक्षी दलहरूले अस्वीकार गर्दै विरोध जारी राखे । सोही क्रममा कांग्रेसका सांसद निस्कल राईले लोकतन्त्र, गणतन्त्र स्थापनाका लागि सहादत प्राप्त गर्ने सहिददेखि जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त गर्ने सहिदको सम्मानमा पाँच मिनेट मौनधारण गर्न आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, “अमर सहिदहरू, प्रजातन्त्र तथा नागरिक सर्वोच्चताका लागि भएका विभिन्न क्रान्ति तथा आन्दोलनका सहिदहरू तथा सुशासन र जवाफदेहिताका लागि भएको जेनजी विद्रोहका सहिदहरूप्रति सम्मान प्रकट गर्दै हामी नेपाली कांग्रेसका सदस्यहरू पाँच मिनेट यहाँ उभिएर मौनधारण गर्नेछौँ ।”
उहाँको सो आग्रहलगत्तै नेपाली कांग्रेसका सबै सांसदहरू उभिनुभयो । त्यसलगत्तै प्रतिपक्षी दलका सबै सांसदहरूले समर्थन जनाउँदै मौनधारण गर्नुभयो ।
सभामुख डोलप्रसाद अर्यालले भने सो घटनालाई सभामाथिको अपमानका रूपमा टिप्पणी गर्नुभयो । प्रतिनिधिसभाको बैठक सभामुखले सञ्चालन गर्ने स्पष्ट पार्दै उहाँले आजको बैठकमा सदस्य स्वयंले समय तोकेर मौनधारणा गर्नु र गराउने अभ्यास गलत भएको धारणा राख्नुभयो ।
सभामुख अर्यालले बैठक संचालनका लागि पटकपटक आग्रह गर्दा पनि विपक्षीहरुको विरोध जारी रहेपछि बैठक बुधबार बिहान ११ः०० बजे बस्नेगरी स्थगित भएको जानकारी गराउनुभयो ।
आजको बैठकमा सभामुख अर्यालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुहुने कार्यसूची थियो ।
त्यस्तै, सभामुख अर्यालले कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरूको नाम मनोनय गरेको व्यहोरा जानकारी गराउनुका साथै ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ राष्ट्रियसभाबाट अवधिभित्र फिर्ता नभएको जानकारी गराउनुहुने कार्यक्रम थियो ।
यस्तै, अर्थमन्त्री डा स्वर्णिम वाग्लेले वक्तव्यसहित आर्थिक वर्ष २०८३र८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची थियो ।
साथै आव २०८३र८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने र अर्थमन्त्री डा वाग्लेले छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिनुहुने कार्यसूची थियो ।
त्यसैगरी, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’, ‘नेपाल राष्ट्र बैंक -तेस्रो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नुहुने कार्यक्रम थियो ।
बैठकमा ‘सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले ‘राष्ट्रियसभामा उत्पत्ति भएको चलचित्र विधेयक, २०८२’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची थियो ।




प्रतिक्रिया राख्नुहोस्