अर्थ

दुई महिनामै साढे दुई खर्बभन्दा बढी विप्रेषण, १० महिनामा १९ खर्ब १६ अर्ब नाघ्यो

वैदेशिक रोजगारीमा रहेका नेपालीले पठाउने विप्रेषण (रेमिट्यान्स) आप्रवाहमा उल्लेख्य वृद्धि देखिएको छ। चालु आर्थिक वर्षको पहिलो १० महिनामा नेपालमा रु १९ खर्ब १६ अर्ब ९० करोड बराबरको विप्रेषण भित्रिएको छ भने पछिल्लो दुई महिनामै रु दुई खर्ब ५७ अर्ब ४९ करोडभन्दा बढी रकम नेपाल आएको छ।

नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनासम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनअनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह ४१ दशमलव २ प्रतिशतले वृद्धि भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १३ दशमलव ३ प्रतिशतले मात्र बढेको थियो।

प्रतिवेदनअनुसार नेपाली अर्थतन्त्रको प्रमुख आधारका रूपमा रहेको विप्रेषण आम्दानीले विदेशी मुद्रा सञ्चिति सुदृढ बनाउन, बाह्य क्षेत्रलाई सन्तुलित राख्न तथा उपभोग तथा लगानी गतिविधिलाई टेवा पुर्‍याउन महत्त्वपूर्ण योगदान गरिरहेको छ।

अमेरिकी डलरमा गणना गर्दा समीक्षा अवधिमा विप्रेषण आप्रवाह ३३ प्रतिशतले वृद्धि भई १३ अर्ब २६ करोड डलर पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यस्तो वृद्धि १० दशमलव ६ प्रतिशत रहेको थियो।

नेपाली रुपैयाँ र अमेरिकी डलर दुवै आधारमा विप्रेषण वृद्धिदर उच्च रहनुले वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्नुका साथै औपचारिक माध्यमबाट रकम पठाउने प्रवृत्ति पनि विस्तार हुँदै गएको संकेत गरेको छ।

पछिल्ला वर्षहरूमा खाडी मुलुक, मलेसिया, दक्षिण कोरिया तथा अन्य श्रम गन्तव्य मुलुकमा नेपाली कामदारको उपस्थिति बढ्दै जाँदा विप्रेषण आप्रवाह पनि निरन्तर उकालो लागिरहेको छ।

यही कारण देशको विदेशी मुद्रा सञ्चिति, भुक्तानी सन्तुलन र बैंकिङ प्रणालीमा तरलता व्यवस्थापनमा समेत सकारात्मक प्रभाव परेको देखिन्छ।

अर्थविद्हरूका अनुसार विप्रेषण वृद्धिले तत्कालीन रूपमा अर्थतन्त्रलाई राहत दिए पनि दीर्घकालीन आर्थिक रूपान्तरणका लागि उत्पादन, उद्योग, कृषि तथा रोजगारी सिर्जना गर्ने क्षेत्रमा यसको उपयोग बढाउन आवश्यक छ।

विप्रेषणबाट प्राप्त रकमलाई उपभोगमुखी खर्चभन्दा उत्पादनमूलक क्षेत्रमा परिचालन गर्न सके आर्थिक विकासमा थप योगदान पुग्ने उनीहरूको भनाइ छ।

नेपाल राष्ट्र बैंकको तथ्यांकले चालु आर्थिक वर्षको अन्त्यसम्म विप्रेषण आप्रवाहले नयाँ कीर्तिमान कायम गर्न सक्ने संकेत गरेको छ। उच्च विप्रेषण वृद्धिले मुलुकको बाह्य क्षेत्र सुदृढ बन्दै गएको देखिए पनि वैदेशिक रोजगारीमा निर्भरता भने अझै कायम रहेको तथ्यांकले स्पष्ट पारेको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.