‘माक्र्सवाद’ र ‘जनताको बहुदलीय जनवाद’लाई खोपामा थन्क्याएपछि…

3 April, 2021 12:42 | बिचार | comments | 29400 Views
दिपेन्द्र अधिकारी

वर्गरहित समाज निर्माणको अभिभारा बोक्दै गगनभेदी नारा घन्काउँदै माक्र्सवादलाई शिरमा राखेर आन्दोलनमा होमिएकाहरुमा पद, प्रतिष्ठा र शक्तिको भोक चल्यो भने त्यहाँ माक्र्सवाद खोपीको भिमसेन बाहेक केही हुँदैन । कम्युनिष्ट आन्दोलन बचाउने, आन्दोलन जगाउने र आन्दोलन उठाउने नाममा आफ्ना आकांक्षाहरु मात्र मुखरित गरिरहँदा एउटा सग्लो पार्टी अंशवण्डाको शिकार हुन पुग्छ । अहिले यस्तै भैरहेको छ नेकपा एमालेमा ।

हिजोका तीता, पीरा, नमिठा कुरा बिर्सिएर आजको नयाँ सिराबाट हिड्ने प्रतिबद्धता गर्नुपर्ने हो खासमा माक्र्सवादीहरूबाट । तर भैरहेको छ कमजोर हुँदा नरम भइ हात मिलाउन हतारिने, शक्तिमा हुदा त्यही हातले हानाहान गर्ने । यसो भनिरहँदा बामपन्थीहरू मात्रै गलत अरू ठीक भन्ने पनि हैन । सबै उत्तिकै दोषी र कमजोर छन् र यो नेपालले भोगिरहनु परेको लामो पीडा, रोग बनेको छ ।

इतिहासबाटै काङ्ग्रेस पनि त्यस्तै दुर्दशा भोगेर आएको पार्टी हो । पंचायतको पालामा पनि बेलाबेलामा प्रधानमन्त्री परिवर्तन गरी पूर्णकार्यकाल काम गर्न दिइएको थिइएन यद्यपि कार्यकारी शक्ति राजासंग थियो । षड्यन्त्रको शिकार सबै भएका छन् आजसम्मका शासकहरू । बल्लतल्लको दुई तिहाइ सरकारलाई इतिहासमा पटकपटक असफल पार्ने खेल आफ्नैबाट भएको छ । बारम्बार यसो हुनुको रहस्य र जिम्मेवार को हो, के हो रोग सबै नेपालीले पहिचान गर्नु जरूरी छ ।

  

देश र जनतालाई केन्द्रमा राखेर मात्र राजनीति गर्नुपर्छ राजनीतिकर्मीहरूले । आन्तरिक व्यवस्थापनमा बैज्ञानिकता, आवश्यक मान्छे आवश्यक ठाउँमा राख्ने विज्ञहरूलाई राजनीतिको असर पर्न नदिने नयाँ सशक्त स्वतन्त्र प्रशासन बनाउन, हुर्काउन सबैको लोकतान्त्रिक पार्टीले योगदान गर्नुपर्छ । देशको आन्तरिक मामिलामा बाहिरी हस्तक्षेप नभित्र्याउन सबै पार्टी एक भइ सजग हुन जरूरी छ । बाकस खुला राखेर चोरी भयो भन्नुको कुनै अर्थ छैन । मौसमी राष्ट्रवादी हुनुभन्दा हाम्रो बाकस बिदेशीका लागि सधै ताला लगाएर राख्दै कुटनीतिक सम्बन्ध बराबरी हैसियतमा मित्रवत सम्वन्ध सबै देशहरूसंग बढाउनु पर्छ ।

२२ अप्रिल, १९४९ का दिन नेपाल कम्युनिष्ट पार्टीको स्थापना पुष्पलालको अगुवाइमा भएको थियो । राणाशाही विरोधी आन्दोलनलाई सही दिशावोध गर्दै सामन्तवाद र साम्राज्यवाद विरोधी आन्दोलनको निर्णायक भूमिका पनि निभाउँदै आएको नेपालका बामपन्थीहरूको आफ्नै बिशेषता छ । टुट्दै, फुट्दै, जुट्दै फेरी फुट्दै रूमलिएर बसेका वामपन्थीहरू यसरी यहाँसम्म बिकसीत भएर आउनुमा जननेता मदन भण्डारीको बिशेष भूमिका छ । यो नबुझिए क. मदनप्रति अन्याय हुन्छ ।

नेपालका कम्युनिष्टहरूले यो र त्यो गुट भनेर चिनाउनु पहिला सबैले एकपटक आफ्नै एेना हेरेर विचार र व्यवहारमा एकरूपता ल्याउन जरूरी छ । आजसम्मको अनुभवबाट मूल्यांकन गर्दा व्यवहारिक पक्षमा कमजोर देखिन्छ । जव जव कम्युनिष्ट अल्पमत, बहुमत, दुर्इ तिहाई जुनसुकै हैसियतबाट सरकारमा आउनेबित्तिकै पार्टीमा खिचलो सुरू हुन्छ र बिस्फोटनसम्म पुगिरहन्छ । ठूला पार्टी एमाले माओवादी यसका शिकार भइरहेका छन् । पछि फेरि मिलेको इतिहास दोहोरिइरहेको पाइयो तर इतिहासबाट सिकेको भने पाइएन । सरकारमा हुँदा चर्को रूपमा सरकारको पक्षमा बोल्ने, सरकारमा नपर्दा चर्को सरकारको बिरोधमा बोल्ने गर्छन एउटै पार्टीका नेताहरू पनि । यस्ता नेताहरू निजी वकिल जस्तै तथ्य सत्यको आभारमाभन्दा पनि पदको लागि वकालत गर्ने चलन देखिन्छ । सिद्धान्तले निर्देशित हुनै सकेनन् सबै कम्युनिष्टहरू । पदलोलुपता देखियो तर भौतिक द्वन्द्ववाद नै बुझेको जस्तो लाग्दैन दुःखको कुरा ।

पार्टी फुटिहाले भने पनि चुनावमा जानुसम्म चुरीफुरी कम नहोला । जव चुनाबबाट परिणाम आउाछ बल्ल हैसियत बुझ्छन् । सायद भोलिको परिणाम थाहा छ र पनि आज हार स्वीकार्दैनन्, फेस सेभ गर्ने लडाईमा बल्ल देशभक्ती, ज्ञान, सिद्धान्तका कुरा गर्छन् । फुट्नु फुटाल्नुमा सधै कसैको महत्वाकांक्षा हुन्छ । आन्तरिक महत्वाकांक्षामा खेल खेलाउने दुस्मनले गुलियो थप्ने काम गरिरहेको हुन्छ । बारबार दुस्मनको षडयन्त्रको शिकार हुनु नियति बनेको छ । विचारमा बाँधिएका राम्रा नेताहरू पनि सानो गुड समालेर बस्न बाध्यछन् जस्तै क. सिपी मैनाली । यस अर्थमा सानो खोपिमा सुन्दर देखिन्छन् कम्युनिष्टहरू ।

२०५४ सालको नमीठो फुट देखेको हुनाले आजको घट्ना त्यति नौलो लाग्दैन । पछिको राम्रो जुट त बिरलै हुन्छ । त्यतिखेर चुनावमा परिणाम नराम्रो आएपछि क. वामदेवले खुलामनका साथ गल्ती स्वीकारेर एमालेमा मिल्ने घोषणा गर्नुभयो यद्यपि पार्टी फुट्नुमा दोष सबैको थियो । कांग्रेसको पनि शेरबहादुर देउवा फुटेर पछि मिले फुट्नुमा पनि उनको मात्र दोष थिएन । क. प्रचण्डको माओवादी पनि झन् धैरै ध्रुवमा छिन्नभिन्न भयो । अव पालो माओवादीको हो फुटेकाहरू एक गराउने । तर एक गराउने बाटोमा छैनन् । कता कता क. प्रचण्ड आत्तिएर होला आफ्ना साना तीना फुटे पनि केही छैन तर अरूको झ्याम्म पार्ने दाउमा रहेको देखिन्छन् । अब पनि नरोकिए उहाँको त्यो पहिचान, कमाण्डर प्रचण्डको राप, ताप भोलि एक इतिहास बनेर सानो खोपीमा बस्ने हुन सक्छ। जवरजस्ती कि त छैनस् कि म छैन नभनि अलि गतिशील सोचसंगै संयम हुनुपर्ने त आजको दिनमा क. प्रचण्ले नै हुन् जस्तो लाग्छ ।

२०५४ मा एमाले फुट्दा कयौ माओवादीमा विलय भए । अब पनि एमाले फुटे फेरि कता विलय हुने हुन् ? अव यस्तो दुःखद घट्ना नदोहोरियोस् ।

पुरानो घटना सकैं सम्झनामा आउँछ पोखरास्थित पिएन क्याम्पसदेखि नै नजिक प्रिय ज्ञानेन्द्र त्पात्रिठी दाइ माओवादीमा जानुभएछ, लडाईमा मर्नुभएछ । यो कुरा भने म कहिले पनि विर्सन सक्दिन र उहाँको बलिदान के आजका दिनको लागि थियो ? बहुदलीय जनवादमा विश्वास राख्ने ती ज्ञानेन्द्र दाइ किन बन्दुक चलाउँदै मर्नुपर्यो ? यो मेरो प्रश्न मात्र । एघार वर्ष लामो हिंसात्मक द्वन्द्व भयो सबैले महसुस गरेको कुरा हो । सबै एकभएर राजतन्त्र विरूद्धको आन्दोलन सफल भएर परिवर्तन सम्पन्न भयो । पछि पनि लगातार सर्वहाराको पक्षमा कामहरू भइदिएको भए आँसु पिएर पनि स्वीकार्थे तर आज जे देखिरहेको छु त्यसका लागि ज्ञानेन्द्र त्रिपाठी दाइले जीवन आहुति दिनुभएको हो भन्ने कुरा कसरी स्वीकार्नु ? अरू पनि सबैलाई कति सम्झन्छु कति ।परिवर्तनका लागि मरे, मरिए । जिवीत भए पनि हराउनै नहुने कमरेड नेताहरू पटक पटकको बिघटनले बगाएर लग्यो । बाँध फुटेपछि पहिला राम्रा नजिकका मान्छे नै बगाउदो रहेछ । हामीले इतिहासबाट सिक्नुपर्छ जस्तो लाग्छ ।

तीन वर्ष अघाडि मिलेर नेकपा भएको सुन्दा खुसी लागे पनि कतिपय सैद्धान्तिक अन्यौलका बीचको तर तत्काल एकआपसमा आवश्यकता महसुस भएको एकताले आशंकित भने थिएँ । किनभने कमजोर धरातलमा एकता ठडिएको थियो । जव नेकपा फुट्यो यसमा कुनै नौलो लागेन । अदालतले नै पूर्व अवस्थाबाट नयाँ तरिकाले सबै मिल्ने बाटोमा जानुपर्ने अवसर मिल्दा पनि त्यो अबसरको बाटो नसमाएर उल्टै झन् फेरि पनि एमाले नै फुटको संघारमा पुर्याउनु बिडम्बना हो । मीठा मीठा नारा वर्गीयताका कुरा तर नगदमा मात्र राजनीति गर्ने पाखण्डहरू जस्तो लाग्न थाल्यो आजकल । अनैतिक तरिकाले नैतिकताको डण्डा समाएको जस्तो नाटक लाग्यो । सिद्धान्तले निर्देशित गर्ने राजनीति गर्नुपर्छ ।

पार्टीभित्रको अन्तरसंघर्षको पुरानो घाउ देखेर घाउमाथि खेल्नेहरू विचरा कच्चा खेलाडी नै भन्नुपर्छ जुन पार्टीका भए पनि यसरी परिवर्तन आउँदैन यताको फोहोर उता सार्ने मात्र हो । यसरी त कयौ नौजवान नेपालीको पनि भविष्य अन्योल हुन्छ । फेरि बिदेश भौतारिनुपर्ने हुन्छ । तत्काल २०५४ सालमा एमाले फट्दा कयौ बिदेशिए आखिर के पायो देशले ? मुर्खहरूको त के कुरा, अलिकति सुधबुझ हुनेहरूले यस्तो पीडामा केही समय शान्त बसेर जव धमिलो पोखरी सङ्लो हुन्छ तव सत्य वुझिन्छ, बिवेक बोलिन्छ तेतिञ्जेलसम्म धैर्य गर्नसक्नु पर्ने हो । पुरानो घाउमा खेल्ने छिमेकीको इशारामा अझै पनि धमिलो पोखरीमा भ्यागुता झै उफ्रिएर आखिर परिणाम के आउछ र ? एकपट कार्ल माक्र्सलाई सोध्न पाए हुन्थ्यो ।

कतिपय पुराना घाउ यस्ता हुन्छन् जति छोए पनि दुख्दैन । उस्तै परे हाइसञ्चो हुन्छ । चिलाउदा कनाए जस्तै । खैर जे हुनु छ हुन्छ नै । बेकारका पुराना सिद्धान्तको कुनै अर्थ छैन जव लागु गर्नै सकिन्न भने । वेद पुराण जस्तै हुन् वादहरू पनि बसेर सुन्न आनन्द आउछ । बरु डा महावीर पुनको आविस्कार कयौ गुणा काम लाग्छ नेपाल बनाउन । राजनीतिक भनेको र्याल काढेर, हड्डी लुछाचुँडी गर्ने थलो बनाउन हुँदैन । देशको दिशानिर्देशन गर्नसक्ने हुनुपर्छ यद्यपि विकास त हामी नेपालीकै चेतना र सक्रियताले हुने हो । एकपटक हारेको सही खेलाडी अर्को नयाँ खेलको तयारी गर्नतिर लाग्छ भने कमजोर र गलत खेलाडी मैले जित्नैपर्छ किनभने हिजो लामो समयसम्म जितिराखेको थिएँ भनेर जिद्धी गर्छ । यो खेलको सहि नियम र अनुशासन हैन । अनुशासन बिरूद्ध औला उठाउँदा कमसेकम आफू पनि अनुशासित हुनुपर्छ भन्ने जान्नु पर्छ । जोसुकै आउ देशमा राज गर, शासन गर तर मात्र देशलाई सही दिशानिर्देशन गर । यति धेरै अगाडि बढेको आधुनिक मानव समाजमा हामी नेपालीलाई पनि पुग्न हतार छ नरोकियोस अब, अति भो ।

यसो भनिरहँदा क. केपी ओलीको क्रेज जनमानसमा युवादेखि बृद्धसम्म झन् बढिरहेको छ । जति पार्टीभित्रकै सहकर्मीले घेराबन्दी गर्छन् उति नै जनताको साहानुभूति प्रधानमन्त्री केपी ओलीप्रति बढेर गएको देखिन्छ । कोरोनाको कठिन परिस्थितीसंग लड्दै भए पनि ठाउँ ठाउँमा विकासको अनुभुति पनि जनताले गरेका छन् यो सत्य हो र स्वीकार्नु पर्छ । कार्यकर्ता तहमा पनि अब त ज्यादति, अस्थिररता अति भयो भन्दै विस्तारै धेरै कार्यकर्ताले पनि संस्थापन पक्षलाई साथ दिने स्थिति आइरहेको छ । सरकारले गर्न खोजेको विकासमा आफ्नै पार्टीकाले विकास विरोधी, पदको लोभ, सिद्धान्तविहिन गतिबिधिको महसुस, मूल्यांकन जनताले गरेका छन् । जो अलिकति भए पनि बढी ठीक लाग्छ उसैलाई साथ दिने जनताको, कार्यकर्ताको अधिकारको कुरो पनि भयो । तत्काल अन्य कुनै वैकल्पिक शक्ति उदाएको पनि देखिदैन ।

एउटा बिनम्र सुझाव विदेशमा वस्ने नेपालीका नाताले

नेपालमा लामो समय प्रमुख भएर पार्टी चलाए पनि दुरदर्शिता भने नभएकै देखियो । युवा नेताहरूमा आआफ्नै हैसियत नभएकै पनि देखियो । युवाहरू एकढिक्का भएर कमसेकम विचारको आधारमा बिस्तारै समग्र वाम एकता गर्दै जाने तर तत्काल मोर्चा बनाएर जाने पहल गर्नुपर्ने हो । तर झन आफ्नै घरमा समानन्तर कदम चाल्नु गलत हो । संगै बसेर अन्तरसंघर्ष पो गर्ने हो । होक्का होक्का काले र माले को ताल भयो । गल्ती ज्यादति गर्नेले आत्मसमीक्षा गर्नु महत्वपुर्ण हुन्छ । आखिर अन्ततः मिल्नैपर्छ भोलि भने आज समानन्तर कमिटी गठन गर्नुको औचित्य छैन । संस्थापन पक्षले पनि अधिकतम लचकता देखाएर जाने वातावरण बनाउनु पर्छ । आउm घर फर्क पनि भन्ने, नांग्लो ठटाएर तर्साउने पनि गर्न हुँदैन ।

क. मदन भण्डारीको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद प्रतिपादित गरेदेखि नै यो सिद्धान्तले माक्र्सवादका विश्वव्यापी यथार्थ कठिनाइहरूलाई पार गर्न बिशेष भूमिका खेल्यो । नेपाली क्रान्तिको आफ्नै मौलिक विशेषता बोकेको संसारका वामपन्थहरूले स्वीकारेका थिए । तर, परिणाम क. मदन भण्डारी प्रतिक्रियावादीहरूबाट मारिनु भयो । लोकतान्त्रिकरणको नवीनतम मान्यता बोकेको जनताको बहुदलीय जनवाद नेपाली कम्युनिष्ट आन्दोलन तथा लोकतान्त्रिक आन्दोलनका व्यवहारबाट परीक्षित हुँदै सही सावित हुँदै आएको र सशस्त्र आन्दोलनमा गएको माओवादी आन्दोलनलाई पनि संरक्षण गर्दै शान्तिको मार्गमा ल्याउन सफलयो बहुदलीय जनवादको सिद्धान्त ।

हिजो ११ वर्षसम्म सशस्त्र आन्दोलनको प्रचण्डपथबाट आज २१ औं शताब्दिको नयाँ जनवादमा परिणत भए पनि जनताको बहुदलीय जनवाद स्वीकार्न नसक्नु र अर्को प्रभावशाली धारले प्रचण्डको जनवाद नस्वीकार्ने वैचारिक लडाई हुन्छ नै । सायद लामै वैचारिक अन्तरसंघर्ष जनताको बहुदलीय जनवादसंग हुने प्रष्ट मुख्य दुर्इ धारमा रहेका नेपालका वामपन्थी एकधारको नेत्तृत्व गर्दै, नयाँ सबै वामपन्थी समेट्नेतिर लागे हरदम लोकतन्त्रको हिरो, आइडल भएर बस्न सक्नु बुद्धिमानी हो कि क. प्रचण्का लागि ।

एमाले पार्टी जसरी पनि फुटाउनु हुँदैन थोरै पुर्पुरो फुटोस् बोरू त्यो पछि मलम पट्टी लगाउदै गए हुन्छ । तर सूर्य सधै सधै उदाओस् नेपालमा, जनताको चाहाना हो यो । तर यसरी अस्वस्थ लडाई गरे दुर्भाग्य नै हुनेछ । स्वस्थ वैचारिक लडाई लड तर व्यवहारमा भने मोर्चा बनाएर समाजवादको बाटोमा हिंडे दुवै विचारसंगै नेपालमा राम्रो साझा वामपन्थीहरूको समाजवादको स्थापना गर्न सकिन्छ । यही नै उत्तम मार्ग हुन्छ शान्त, समृद्ध नेपाल, सुखी नेपाली बनाउनको लागि ।

हाल टोकियो जापान

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More