प्रधानमन्त्रीज्यू यत्ति काम गरिदिनुस् हामी जयजयकार गरौंला !

22 May, 2020 15:39 | बिचार | comments | 83850 Views
डिएम राना

सम्माननीय प्रधानमन्त्री ज्यु अभिवादन !

म विदेशमा छु । विदेशमा रहेर कोभिड १९ को कारण नेपालीहरुले भोग्नुपरेको दर्द र पीडाको चाङमा उभिएर आग्रह र आक्रोश मिश्रित गुनासो लिएर देशको प्रधानमन्त्रीलाई सम्झिरहेको छु ।

दुई महिनाभन्दा लामो समय होम क्वारेन्टाइनमा बस्नुपर्दा लागेको धङ्गधङ्गे, काम गुमाउनुपर्दाको तितो पीडा, कोरोनाले पारेको मनोवैज्ञानिक असर, आफ्नो देश फर्किन्छु भन्दा पनि फर्किन नपाउँदाको निराशा, मुठी प्राण लिएर परिवार भेट्न पाइन्छ कि पाइदैन भन्ने मानसिक सुर्ता र परिवारको वियोगमा तडपिएर देशको अभिभावक प्रधानमन्त्रीलाई सम्झिरहँदा कतै खस्रो र भद्दा शब्द प्रयोग भएछ भने मलाई आफ्नो अमूल्य मतदान गरेर सत्ता र शक्तिमा पुर्याउने एउटा हकदार नागरिकको चिट्च्याहड सम्झेर माफ गरिदिनु होला ।

  

प्रधानमन्त्रीज्यू !

अहिले मानव सभ्यताकै सबैभन्दा असाधारण महामारी कोभिड १९ संग लडिरहेको दुनियाँ जग जाहेर नै छ । यसको प्रत्यक्ष मारमा संसार परेको छ हामी नि अछुतो छैनौ । त्यसमध्य पनि देशलाई सारो गारो पर्दा होस् या त भौतिक पूर्वधार विकास गर्नु पर्दा, आफ्नो गाँस काटेर रेमिट्यान्स पठाउने ६० लाख युवामा परेको छ । यतिबेला सबैले सरकारको अभिभावत्व खोजिरहेको छन् भने कतिले यथाशिघ्र स्वदेश फर्किन खोजिरहेका छन् । विशेष गरेर नेपाल भारत सीमा र खाडीका मुलुकहरु साउदी, युएइ, कतार, बहराइन, कुवेत, मलेसिया लगायतका नेपालीहरुको अवस्था र दयनीय र हृदयविदारक छ ।

लामो समयसम्म लकडाउन बन्दाबन्दीको कारण धेरैको रोजगारी गुमेएको छ । यस्तो बेलामा उनीहरु कहाँ ओत लाग्ने र के खाने गम्भीर पिरोलोमा परेका छन् । सकेसम्म उनीहरु तत्काल मातृभूमि फर्किन चाहन्छन । तर अन्तरराष्ट्रिय हवाई उडान बन्दको कारण नेपाल फर्किने अवस्था छैन । अन्य मुलुकका नागरिकलाई आफ्नो देशको चार्टर विमानले उद्धार गरे पनि नेपालीहरुको सन्दर्भमा नेपाल सरकारले अहिलेसम्म केही पहल गरेको छैन ।

भर्खरै आर्थिक वर्ष २०७७।०७८ को नीति तथा कार्यक्रमबारे प्रतिनिधिसभामा दुई घण्टासम्म बोल्दै गर्दा गर्न सकिने र नसकिने धेरै कुराहरु सम्झिनु भयो तर राष्ट्रको ढिकुटी भर्ने विदेशमा अलपत्र परेको नागरिकलाई एकचोटि पनि सम्झिनु भएन । बरु उल्टै प्रतिपक्षको प्रश्नमा ४०, ४५ लाख मान्छे ल्याउन कति जहाज लाग्ला ? कति समय लाग्ला ? कुन क्वारेन्टाइनमा राख्ने ? सबैलाइ ह्वारह्वारती ल्याएर देश नै सोत्तर पार्ने ? आदि असंवेदनशील र गैरजिम्मेवारपूर्ण जवाफ फर्काउनु भयो । एउटा देशको कार्यकारी प्रमुखले यस्तो अप्रासङ्गिक र ओठे जवाफ फर्काइरहदा विदेशी भुमिमा विचल्लिमा परेका नागरिकलार्ई कस्तो मानसिक प्रभाव पर्यो होला ?

प्रधानमन्त्रीज्यू !

विदेशमा रहेका सबै ६० लाख नेपालीले रोजगारी गुमाएका छैनन् र सबै तत्काल फर्किन पनि चाहेको छैन त्यसमध्ये खाडी र नेपाल भारत सीमा गरी जम्माजम्मी ६ लाखको हाराहारीमा नेपाल फर्किन चाहेका छन् । त्यसमा पनि तत्काल नेपाल फर्किन परेको दुई लाख दश हजार रहेको पराराष्ट्र मन्त्रालयले तथ्याङ्क सार्वजनिक गरेको छ । तर यति आफ्नो नागरिकलाई पनि व्यवस्थापन गर्न सरकार र पराराष्ट्र मन्त्रालय निर्लज्ज मुकदर्शक भएर बेवास्ता गरिरहेको छ ।

हो नेपालमा अहिले लकडाउन छ यो अपेक्षित छ र आवश्यक पनि । कोरोनाको एक मात्रै छेकबाँध र नियन्त्रणको बलियो अश्त्र भौतिक दुरी कायम गर्नु पर्ने भएकोले विश्व स्वास्थ्य संगठनले आफू जहाँ छ त्यहीँ बसेर महामारी नियन्त्रणमा सहयोग गर्न विश्वव्यापी आव्हान गरिरहेको छ । साथसाथै अलपत्र परेका आफ्नो नागरिकलाई सुरक्षित उद्धार गर्ने पनि अपिल गरिरहेको छ ।

धेरै मुलुकहरुले सुरक्षित र भरपर्दो मापदण्ड पूरा गरेर आफ्नो नागरिकलार्इ उद्धार गरिरहेको छ तर नेपाल सरकार भने आन्तरिक खिचातानी र घृणित कुर्सी तानातान गरेर देशको अर्थतन्त्र बचाउने युवाहरुको जीवनमाथि किन गम्भीर खेलाँची गरिरहेको छ ?

संघीय गणतान्त्रिक देश छ । प्रत्येक गाउँ, गाउँमा अधिकारप्राप्त स्थानीय सरकार छ । उद्धार गरेका नागरिकलाई पूर्ण पालना गर्ने सर्त र उल्लङ्घन गरे जेलसम्म हाल्ने बेहोरा सहितको ल्याप्चे ठोकाएर स्थानीय सरकारको रोहबरमा घर पठायो भने त्यसको व्यवस्थापन स्थानीय सरकारले के सजिलै गर्न सक्दैन र ?

इतिहासमा सबैभन्दा बढी जनताको बहुमतबाट प्रधानमन्त्री बन्ने अहोभाग्य पाएर प्रधानमन्त्री पदमा विराजमान हुनुहुन्छ । तपाईंकै कार्यकालमा मानव सभ्यताकै सबैभन्दा भयानक कोभिड १९ ले तपाईंको सरकारलार्इ चुनौती दिइरहेको छ । यदि तपाईंले यो चुनौतीलाई पाखा लगाएर विदेशमा अलपत्र परेका जनतालाई सरकारको अभिभावकत्व प्रत्याभूत गराउन सक्नुभयो भने तपाईंको शक्तिशाली सत्ता र गुनलाई ६० लाख युवा र तिनका सन्ततिले इतिहासमा कहिल्य भुल्ने छैन ।

प्रधानमन्त्रीज्यू !

तपाईंले लगभग ३ वर्षे कार्यकालमा कति जनअपेक्षित काम गर्नु भयो । त्यसको न त हामीले बहिखाता नै मागेको छौ न त क्यालकुलेटेर लिएर अङ्कगणितमा नै । हामीले त कोभिड १९ को कारणले आफ्नो प्राण बचाउन र राज्यको लागि दुई पैसा कमाएर रेमिट्यान्स पठाउने अवस्था गुमेपछि मातृभूमि टेक्न पाउँ भनेर देशको अभिभावकसंग केवल गुहार मागिरहेका छौँ ।

तपाईंले देशको लागि कति यथार्थ परक सपना देख्नु भयो कति स्वेयर काल्पनिक त्यो भोलिको दिनमा इतिहासले समिक्षा गर्ला तर एउटा कुरा चाहिँ मनैदेखि भन्छु प्रधानमन्त्रीज्यू हामी विदेशमा छौ । यहाँ तपाईंले नेपालको लागि परिकल्पना गरेको मेट्रो रेल चढेर यात्रा गर्छौ । घरमै आइपुग्ने पाइपको ग्याँ बाट खाना बनाउँछौ । हावाबाट बिजुली बलेको नि देखेको छौ । पानी जहाज नि चढेको छौँ । यी र यस्ता कुराहरु भोग्दै र प्रयोग गर्दै गर्दा नढाटी भन्नु पर्दा तपाईंको याद आउछ प्रधानमन्त्री ज्यु ।

तपाईंले रेल कुदाए पनि नकुदाए पनि घरघरमा ग्याँसको पाइप पुर्याए पनि नपुर्याए पनि, पानी जहाज चलाए पनि नचलाए पनि देश बचाउनकै लागि भए पनि वर्षमा नौ खर्ब रुपियाँ रेमिट्यान्स ६० लाख युवा मिलेर निर्बाध पठाइरहेका छन्। आज त्यही देशका लागि प्राण भर्ने ६० लाख युवामध्य केही अप्ठ्यारोमा परेको युवाले अभिभावकत्वको याचना गरिरहँदा तपाईं किन भूमिकाहीन अभिभावक भएर अकर्मण्यता देखाउनु हुन्छ ?

प्रधानमन्त्रीज्यू

तपाईंको एकल कार्य सम्पादन र बेमौसमी अध्यादेशले तपाईंको पद धरापमा परेको छ । स्वयम् तपाईंकै पार्टीभित्रको विभाजित खेमाहरुले तपाईंको राजिनामा मागिरहेका छन् । त्यसैले तपाईंको ध्यान जनजिविकाको मुद्दा पनि आफ्नो कुर्सी बचाउने दाउपेचमा तल्लीन देखिन्छ । तर यो कोरोना कहरभरि काम गरेर देखाउने प्रतिबध्दता जनाएपछि गुटले पनि पद मै रहेर काम गर्न ग्रीन सिग्नेल दिइरहेका छन । काम गरेर देखाइदिनु होस यो तपाईंको ओरालो लाग्दै गएको छवि पुनः ताजकि गर्ने सुनौलो अवसर पनि हो ।

गएको वर्षको मध्यतिर तपाईंले भावुक हुदै सरकारले गरेको राम्रो कामबारे लेखिने मन र मुटु भएको सम्पादक नभएको चिन्ता व्यक्त गर्नु भएको थियो तर अहिले परिस्थिति बदलिएको छ यदि तपाईंको ह्याउ र मुटु छ भने विदेशमा अलपत्र परेर मातृभूमि टेक्न याचना गरिरहेका नागरिकलार्इ स्वदेश फर्काएर परिवारसंग मिलन गराइ दिनुहोस । अरुले जे भनुन् तर हामी तपाईंको राम्रो कामको तालि पिटेर जय जयकार गरौँला ।

अन्तमा

अहिले घरेलु मैदान मौसमी राष्ट्रवादी छिछिमिराहरुले खुब सलबलाएका छन । सीमा मिच्न पाइदैन, भारतीय मिचाहा प्रवृत्ति विरुद्ध एक भएर लड्न जरुरी छ तर क्यामेरामा अनुहार देखाउनकै लागि यो विपतको बेलामा काठमाडौंको सडकमा हुलढुङ्गा गरेर मिचिएको सिमा भारतले खाममा हालेर हुलाक मार्फत पठाउँदैन । यो हिजो खनेर आज उद्घाटन गरेको सडक पनि होइन । दशकौँदेखिको विवाद हो । यसको लागि तपाईं राष्ट्र प्रमुखले नै ठोस पहलसहित कुटनीतिक संवाद गरेर आक्रोशित जनतालाई साम्य पार्दै प्राथमिकतामा प्रवासमा अलपत्र परेको नागरिकको जीवन कसरी बचाउन सकिन्छ त्यसमा ध्यान पुर्याइ दिनुहोस ।

अहिले खाडीमा अलपत्र परेको नगरिक वुहानमा जस्तो डाक्टर पढ्न गएका त होइनन् । तर देशको लागि ५५ डिग्रीको प्रचण्ड राप र ताप सहेर रेमिट्यान्स भित्रिआउन गएका पौरखी नागरिक चाहिँ पक्कै हुन । साथै तपाईंको शरिरमा जडित चारवटा मृगौलामध्य दुइवटामा रेमिरेमिट्यान्स हालेर तपाईंलाई बचाउने नागरिक पनि हुन् । उनीहरु देशको सम्पत्ति हो । अहिले उनीहरुलाई बचाउन सकियो भने भोलि आवश्यक परे देशको लागि आफ्नो छाक काटेर सार्वजनिक भएको नयाँ सिमानामा पर्खाल लगाउने रेमिट्यान्स भित्रिआउन पनि तत्पर रहने जोशिलो युवाहरु हुन । बस अहिले उनीहरुको विनयपूर्ण चित्कार बुझेर देश र सरकार छ भन्ने कुराको प्रत्याभूति गराइ दिनुहोस् ।

डिएम राना, हाल जापान ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More