अनलाइन पठनपाठन : बालबालिकालाई थप जागरुक बनाउने नयाँ अवसर

24 May, 2020 15:19 | बिचार | comments | 82200 Views

गीता श्रेष्ठ

विद्यालयहरु बन्द छन् र अझै केही महिना यस्तै अवस्था रहनेमा कुनै शंका नरहेकाले बालबालिकालाई पठनपाठनप्रति उत्सुक र जागरुक बनाइराख्न हामीले आफ्नै ढंगका कार्यक्रम सुरु गर्नैपर्छ । यसका लागि डिजिटल शिक्षा पद्धति सबभन्दा प्रभावकारी माध्यम हो तर यसको अर्थ बजारमा चलेका सफ्टवेरबाट शिक्षक–शिक्षिकाले पाठ घोकाउने अनि विद्यालयले शुल्क लिने भन्ने पटक्कै हैन ।

हुन त सरकारले बालबालिकालाई लक्षित गरी केही एप बनाएको छ । यस्तो एपमा किताब पढाउने सुविधा छ । तर यसमा यतिमात्र हैन कि शिक्षामूलक, चेतनामूलक जानकारीका साथ विद्यार्थीहरु स्वयं अध्ययन गर्नसक्ने देशको धर्म, संस्कृति, परम्परा, भाषा साहित्य, कला अनि खेलकूदका विषयमा विविध जानकारी समेट्नु आवश्यक छ ।

  

पढाउनकै लागि अहिले गुगल, जुम जस्ता अन्तर्राष्ट्रिय सफ्टवेयर छन्, तर हाम्रो आफ्नो एपमा त्यो सुविधासंगै अन्य जानकारीमूलक पाठ्य सामग्री राखिनुपर्दछ । त्यस्तै बालबालिकाहरुलाई बढीभन्दा बढी त्यसमा जोडिइराख्न मनोरञ्जनात्मक कुराहरुसंगै ज्ञानबद्र्धक विषयहरु समेटिनु पर्दछ । जुन एप नेपालमा रहेकाहरुका लागि मात्र नभएर विदेशमा रहेका बालबालिकाका लागि पनि उपयुक्त होस्– देशको बारेमा जान्न ।

शिक्षा मन्त्रालयले दुई किसिमका एप ल्याएको छ । एउटा कक्षा १ देखि ३ सम्मका लागि र अर्को कक्षा १ देखि १० सम्म अध्यापन गराउन मिल्ने । यी दुबैमा उमेर समूह अनुसारको बाहिरी पाठ्य सामग्री कति समेटिएको छ भन्ने जिज्ञासा कायमै छ । किनभने यी एपको प्रयोगका लागि व्यापक प्रचार गरिएको र विद्यालय वा शिक्षक–शिक्षिकाहरुबाट यसबारे सार्वजनिक प्रतिक्रिया आइसकेको छैन । तसर्थ पनि यसका बारेमा अहिले केही भन्न नसकिए पनि यो एउटा राम्रो सुरुवात भने हो । अब यसका आवश्यक परिमार्जन जरुरी हुन्छ ।

अहिले आएका एप पठनपाठन बिधिमा आधारित हो भन्नेमा विमती छैन तर यस्तो एप नेपाली, अंग्रेजीका साथै नेपालमा बहुचल्तीमा रहेका अन्य भाषाहरुमा पनि बनाउनु आवश्यक छ । नेपालको शिक्षा पद्धतिमा सुधार ल्याउने यो एउटा अवसर पनि हो । बालबालिकालाई किताबी ज्ञानभन्दा बढी बाहिरी ज्ञान दिने प्रभावकारी माध्यम हो ।

अध्ययन भनेको किताब पढेर किताबभित्रको प्रश्नको उत्तर दिएर उत्तीर्ण हुनु मात्र हैन, ज्ञान आर्जन गर्नु हो त्यो ज्ञान कक्षा अनुसारको पुस्तकमा मात्र पर्याप्त हुँदैन । यसका लागि प्रविधिकै प्रयोग गर्नुपर्दछ । भित्रिएको सूचना प्रविधिलाई शिक्षण गतिविधिमा उपयोग गर्नु पर्दछ । मोबाइल र इन्टरनेटलाई लाइब्रेरी नै बनाउन सकिन्छ । यो सूचना प्रविधिको विकासले दिएको सुविधा हो ।

सूचना प्रविधिको प्रयोग कुनै एक सन्दर्भमा मात्रै गर्नु उपयुक्त हुँदैन । बालबालिका वा विद्यार्थीलाई अनलाइनबाट शिक्षकले किताब नै पढाउने हो भने यसका लागि कुनै विशेष सफ्टवेर चाहिंदैन, भाइबर, म्यासेन्जर रुम नै काफी छ । तर अहिलेको आवश्यकता शिक्षक र विद्यार्थीबीचको सम्पर्क मात्र हैन कि विद्यार्थीहरुले नयाँ कुरा पनि सिकोस् भन्ने हो । यसका लागि ‘नेपाली शिक्षा एप’ विकास गर्नु आवश्यक छ । जसबाट विद्यार्थीले धेरै कुरा त्यही पढ्न पाउने र शिक्षकसंग ‘कन्फ्रेन्स’ पनि गर्न सकोस् ।

मुलुकको शैक्षिकस्तरमा सुधार ल्याउन र भविष्यमा पर्नसक्ने यस्तै प्रकारका विपदमा पनि बालबालिकालाई शिक्षण गतिविधिमा सक्रिय बनाइराख्न सरकार, शिक्षाविद् तथा सामुदायिक विद्यालयको संगठन, निजी तथा आवासीय विद्यालयहरुको संगठन तथा शिक्षक र विद्यार्थी संघ संगठनले सामूहिक आवाज उठाएर तत्काल यो काम अगाडि बढाउनुपर्दछ । यसलाई नेपालको शैक्षिक गुणस्तर उकास्ने एउटा सुनौलो मौकाका रुपमा लिएर सोही अनुसारको अभियान चलाउनु आवश्यक छ । अनलाइन शिक्षाको नाममा मासिक शुल्क असुल्ने मेसो मात्र बनाउनु हुँदैन ।

अर्को महत्वपूर्ण कुरा– अनलाइन पठनपाठनमा पाठ्यपुस्तक पढाउँदा रोचक विषयहरुलाई प्राथमिकता दिंदा यसले विद्यार्थीहरुमा बढी उत्सुकता जगाउँछ । त्यस्तै पाठमा भएका विषयहरुका अनेक रोचक उपसन्दर्भ जाडेर विद्यार्थीहरुलाई सिकाउँदा यसले उनीहरुमा नयाँ कुरा सिक्ने जाँगर पैदा गर्छ र उनीहरु स्वयं त्यस्ता सामग्रीहरु खोजेर अध्ययन गर्ने पनि हुनसक्छन् । सूचना प्रविधिको यो अभ्यासलाई यस्तै मान्यतामा अघि बढाउने हो भने भावी दिनमा कुनै अप्ठ्यारो पर्नेछैन ।

अन्त्यमा,
अनलाइन कक्षा लिने भन्दैमा सबैमा त्यो पहुँच पनि छैन । हरेकको घरमा इन्टरनेट हुन्छ भन्ने पनि छैन । यो अर्को समस्या हो । अनलाइन पढाउने सल्लाह गर्दा धेरै अभिभावकहरु इन्टरनेट छैन, डाटाबाट कसरी सकिन्छ र भन्ने गुनासो आउन थालेको छ । यसका लागि सरकारले ‘शिक्षाका लागि डाटा’ दिने योजना बनाउनुपर्दछ ।

मोबाइल डाटामा सरकारले दिने अनुदान र आफ्नै शैक्षिक सामग्री समेटिएको एप बनाएर लागू गर्दा यसले नेपालको शैक्षिक प्रणालीमा नयाँ अध्यायको सुरुवात हुनेछ । अब हेर्न बाँकी छ विद्यालय संचालकहरु, शिक्षाविद्, नीति निर्माता, कार्यान्वयनकर्ताहरुको ध्यान कत्तिको आकृष्ट हुन्छ ।

(लेखक उर्सा मेजर चिल्ड्रेन्स एकेडेमीका संचालक सदस्य हुनुहुन्छ)

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More