विश्वका विभिन्न मुलुकमा अलग-अलग रुपमा मनाइने मानव र प्रकृति जोड्ने पर्व फागु

28 March, 2021 10:21 | बिचार | comments | 23700 Views
यादब देवकोटा

प्रकृति र मानवबीचको अटुट सम्बन्धलाई उत्सवका रुपमा मनाउने रंगहरुको पर्व फागु (होली) नेपालको पहाडी क्षेत्रमा आज र तराईमा भोलि मनाइन्छ । आपसी सद्भाव, सहिष्णुता र खुसीयाली साटेर मनाइने फागु यस वर्ष कोरोना कहरले खल्लो भयो ।

जसरी मनाइए पनि फागुले हाम्रो जीवनमा बेजोड महत्व राख्दछ । वैदिक सनातन धर्म संस्कृतिका अनुयायी हामी नेपालीहरुका हरेक चाड पर्वले मानव जाति मात्र नभएर सृष्टि संरचनाका यावत पक्षहरुलाई विशेष महत्व दिएको छ । मानव जीवनलाई सुखद, सहज र सरल अनि सद्भावपूर्ण बनाउन यस्ता चाड पर्वहरुको विशेष महत्व छ र यस्तै महत्वपूर्ण चाड हो होली ।

होली रंगहरूको चाड हो । होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रंगीन बनाउँछन् । बालबालिकादेखि वृद्धवृद्धासम्म सबै होलीको मजा गर्छन् । भनिन्छ होलीको दिन पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर मान्छे एक अर्कासित मिल्छन् ।

  

यो पर्व प्रकृतिमा वहाव आएसंगै मानिसको जीवनमा पनि वसन्त वहाव छाओस् भन्ने उद्देश्यले प्राकृतिक रुपमा तयार गरिएका रंगहरु आपसमा दलेर सद्भाव साटासाट गर्ने पर्व हो । तर आजभोलि फागु पर्वलाई जीवन्तता दिन हर्षोल्लासका साथ मनाइनुपर्नेमा विकृति अत्यधिक बढ्दै गएको छ । अबिर छर्केर खेल्ने यो पर्वमा प्लास्टिकमा पानी राखेर छ्याप्नाका साथै फोहर पानी तथा कुहिएका अन्डा, इनामेल, मोबिलजस्ता वस्तुले हान्ने गरिएको छ ।

होली नेपाल तथा भारतमा मात्र हैन विश्वका अन्य धर्म संस्कृति भएका मुलुकमा पनि आआफ्नै नामले मनाइन्छ । इटालीमा बोलियाकोनोन्सको नामले होली मनाइन्छ भने चीनमा च्वेजका नामले । यसै गरी अमेरिका, जापान, इजिप्ट, इन्डोनिसिया, थाइल्याण्ड आदि देशमा पनि आआफ्नै प्रकारले यो पर्व मनाइन्छ ।

होलीका अनेक धार्मिक महत्व र प्रसंगहरु जोडिएका छन् । सबैभन्दा प्रचलित कथन भने भगवान विष्णु र भक्त प्रल्हादको छ । दैत्वराज हिरण्यकश्यपुका पुत्र प्रल्हादलाई उनको आफ्नै फुपु होलिकाले आगोमा भष्म पार्न लाग्दा उनी आफैं आगोमा भष्म भएकी थिइन र त्यही दिनदेखि होलीका पर्व पर्दापण भएको मानिन्छ ।

होली खेल्ने दिनभन्दा एक दिन पहिला राती होलीका दहन गरिन्छ । राती होलीका दहन गरिसके पछि बिहान पानीमा रंग घोलेर एक अर्कामाथि फाल्ने चलन छ । काठमाडौँ उपत्यकामा पूर्णिमाको दिन र तराईमा त्यसको भोलिपल्ट मनाइने यो पर्व निकै उत्साहका साथ मनाउने गरिन्छ । फागु पर्व रङहरूको पर्व भएका कारण यस समयमा रङको व्यापार निकै हुने गर्छ ।

प्रत्येक वर्ष वसन्तपुरमा विधिपूर्वक चिर ठड्याइएसँगै फागुपर्व सुरु हुन्छ । हनुमानढोका दरवारको गद्दी बैठकको दक्षिणतर्फ तीनतले चीर ठड्याएपछि मुलुकभर फागु अर्थात् होली पर्व सुरु हुने गर्दछ । भक्तपुरको बाँसघारीबाट ल्याइएको बाँस तथा गुह्येश्वरीबाट ल्याइएको मयल रुखको हाँगालाई विशेष पूजा गरी ठड्याइने गरिन्छ । रङ्गीचङ्गी कपडाहरु झुन्ड्याइएको टुप्पोमा मयलको रुखको हाँगा बाँधिएको अग्लो बाँसको चीर ठड्ईन्छ । त्यसपछि चीरलाई परिक्रमा गर्दै त्यहाँ एक आपसमा अविर छ्यापी हर्ष र उल्लासका साथ होली खेल्न सुरु हुन्छ ।

सो अवसरमा स्थानीयवासी तथा नेपाली सेनाको सहभागितामा गुर्जुको पल्टनले सलामीसमेत दिने गर्दछ । असत्यमाथि सत्यको विजय हुने मान्यताका साथ प्रतीकात्मक रूपमा चिर उठाउने र एकसातापछि फागु पूर्णिमाका दिन सो चिर ढलाएर टुँडिखेलमा पुर्याइ दहन गर्ने परम्परा रहेको छ । चीर बीचमै ढलेको खण्डमा पुनः ठड्याई शान्ति स्वस्ति र क्षमा पूजागरिने चलन छ । त्यसरी अचानक चीर ढलेका कारण देशमा कुनै संकट नपरोस् र अनिष्ट नहोस् भनी ब्राह्मणद्वारा स्वस्ति, शान्ति, होम र क्षमा पूजा गराइने चलन रहदै आएको छ ।

होलीलाई असत्यमाथि सत्यको जितको प्रतीकका रूपमा लिइन्छ । नेवारी परम्परा अनुसार पानीसँग नभएर अबिर र रंगसँग होली खेल्ने चलन छ । नेवारी संस्कृतिमा होलीका बारेमा युवायुवतीलाई जिस्क्याउँदै गाएका अनेक शिष्ट तथा रोचक गीतहरू प्रशस्त पाइन्छन् ।

फागुमा खेलिने रंग र यिनको महत्व

रंगले हाम्रो मानसिक स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्छ। होलीमा विशेषतः रातो, हरियो, पहेँलो तथा नीलो रंग बढी प्रयोग हुन्छ । यी रंगहरुको महत्व यस्तो छ ।

रातो

रातो रंगलाई शक्ति र सौभाग्यको सूचक मानिन्छ। त्यसैले देवताहरूले रातो रंगको पहिरन लगाएका हुन्छन् । अधिकांशलाई मन पर्ने रंग हो( रातो । यसलाई शुद्धता एवं पवित्रताको प्रतीक मानिन्छ। हरेक धार्मिक कार्यमा यसको प्रयोग हुन्छ। स्वच्छ, सफा र चित्त शुद्धिको प्रतीकका रूपमा लिइने यो रंग होलीमा पनि विशेष प्राथमिकताका साथ प्रयोग गरिन्छ। रातो रंगलाई साहस र प्रेमको प्रतीकका रूपमा पनि लिइन्छ। रातो रंग मन पराउने मानिसहरू महत्त्वाकांक्षीका साथै जिज्ञासु एवं जोसिला हुन्छन्।

हरियो

हरियो रंगलाई प्राण, जीवनशक्ति एवं मार्मिकताको प्रतीक मानिन्छ। यसलाई जीवनशक्तिको भित्री मर्म बुझ्ने जीवित रंग पनि भनिन्छ। हरियो रंग मन पराउने मानिसहरू प्रकृतिलाई माया गर्ने खालका हुन्छन्। उनीहरू झैझगडा पटक्कै मन पराउँदैनन्। यो रंग मन पराउने मानिसहरूको आत्मविश्वास कम हुने विश्वास गरिन्छ।

पहेंलो

यो रंगलाई भक्ति र धर्म परायणताका रूपमा लिइन्छ। यो रंग मन पराउने मानिसहरू धर्मकर्मप्रति बढी विश्वास गर्छन्। होली हिन्दू धर्म अवलम्बीहरूको चाड भएकाले यो रंगको विशेष प्रयोग हुन्छ। कतिपय समुदायमा त रातो र पंहेलो अबिर दलेर होली खेल्ने परम्परा पनि छ। यो रंगको सम्बन्ध खुसी र हर्षसँग पनि छ। मनोविज्ञहरूका अनुसार यो रंग मन पराउने मानिसहरू रमाइलो एवं आत्मीय व्यवहार गर्न उत्साहित हुन्छन् ।

नीलो

नीलो रङ्गलाई धर्मयुद्धको प्रतीक मानिन्छ । त्यसैले नील बर्णका भगवान बिष्णुले अधर्मको नाश गर्न र धर्मको रक्षा गर्न प्रत्येक युगमा अवतार लिँदै आएको मान्यता पनि सुन्न पाइन्छ । यो रंगलाई शान्ति र सन्तुलनको प्रतीकका रूपमा लिइन्छ। त्यसैले पनि यो रंगको प्रयोग बढी हुन्छ। यो रंग मन पराउने मानिसहरू सन्तुलित विचारधाराका हुन्छन्। उनीहरू अलि बढी चिन्तित स्वभावका हुने मनोविदहरू बताउँछन् ।

कालो

होलीमा कालो रंगको पनि व्यापक प्रयोग हुन्छ। यो रंग ईष्र्या र स्वार्थसँग सम्बन्धित हुन्छ। यो रंग मन पराउने मानिसहरू आफ्नो इच्छा र भावना खुलस्त रूपमा भन्न चाहँदैनन्। तुरुन्तै रिसाउने खालका हुन्छन्।

सेतो

धेरैलाई मन पर्ने रंग हो सेतो। यो रंगलाई शुद्धताको प्रतीक मानिन्छ। कर्ममा विश्वास राख्ने व्यक्तिहरू सेतो रंग मन पराउँछन्। चहकिलो सेतो रंगलाई सफा एवं आकर्षणको प्रतीकका रूपमा लिइन्छ।

होली उच्छृङ्खल हुने पर्व नभएर सदुभाव साट्ने, भाइचारा बढाउने पर्व हो । यो पर्वले मानिसलाई प्रकृतिसंग निकट पनि पुर्याउँछ । प्राकृतिक रंगहरु आपसमा लगाएर मनाइने होलीले दिने सन्देश भनेको आगामी दिन रंगीन हो भन्ने नै हो । रंगीन जीवनका लागि सबैसंग सदभाव, भाइचारा र प्रेम त हुनै पर्यो । होलीलाई यसैको प्रतीक मानेर मनाउने हो भने संस्कृति संरक्षणका अतिरिक्त समाजमा सद्भाव बढ्नेछ र यसले देश निर्माणमा ठूलो योगदान दिनेछ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More