नेपाललाई कोरोनाको महामारीबाट जोगाउने उपाय

26 May, 2020 12:55 | बिचार | comments | 109050 Views

– कृष्ण खड्का

नेपालमा बिगत २ महिनादेखि निरन्तर लकडाउनमा बसिरहदा पछिल्लो समयमा आएर कोरोना संक्रमितहरुको संख्याको तिब्र बृद्दिसंगै सन्त्रास बढिरहेको छ ।

२०१९ डिसेम्बरमा पहिलो पटक चिनको वुहान प्रान्तबाट शुरु भएको कोभिड -१९ कोरोनाले दक्षिण कोरिया, दुबई, कुबेत, इटाली, स्पेन, बेलायत, बेल्जियम, जर्मनी लगायत अधिकांश युरोपियन र अमेरिकन मुलुकहरुमा लाखौं मानिसहरु आक्रान्त भैरहेका छन् ।

  

नेपालमा भने चैत्र १० अर्थात २३ मार्च २०२० मा मात्रै ३ जना कोरोना संक्रमित देखिए र लगतै चैत्र ११ गतेबाट नेपाल सरकारले लकडाउनको घोषणा गर्यो ।

नेपालमा चैत्रको अन्तिमसम्ममा चिन, दुबई, बेल्जियम, फ्रान्स र बेलायतबाट आएका समेत गरी जम्मा १२ जना कोरोना संक्रमित थिए र ति अहिले सबै निको भै सके । नेपालमा २०७७ साल बैशाख २५ गतेसम्म संकमितको संख्या १०१ जना थियो र त्यसमध्य अधिकतम भारतबाट आएका र तिनीहरुको सम्पर्कले संक्रमित भएका मानिसहरु नै थिए । लकडाउनको बीचमा पछिल्लो दिनहरुमा भारतबाट ठूलो संख्यामा मानिसहरु खुल्ला र लुकिछिपी नेपाल प्रबेस गरे र अझै धेरै ठूलो संख्यामा प्रवेशको क्रम जारीछ । नेपाल आउने अधिकतम कोरोना संक्रमितहरु प्रदेश २ र ५ का खासगरि तराई क्षेत्रका र अझ भारतको सीमाना नजीकका मानिसहरु हुन् ।

बैशाख २५ गतेदेखि जेठ ५ गतेसम्म गरिएको लकडाउन अवधिमा सरकारले केहि अत्याबस्यक उद्ध्योग र निर्माणको कार्यलाई खुकुलो बनाए संगै बैशाख २६ देखि ३१ गतेसम्ममा लकडाउनलाई बिर्साउने गरी सवारीसाधनहरु चले र बिना चेकजाँच धेरै मानिसहरु राजधानी प्रवेशदेखि बिभिन्न जिल्लामा आवतजावत गरे ।

बैशाखको पछिल्लो एक हप्तामा अर्थात बैशाख ३१ सम्ममा संक्रमित संख्या २४३ पुग्यो र जेठको सुरुको १०-१२ दिनमा लगभग ३ गुणाले बढ्यो र अझ बढ्ने क्रम जारी छ । बैशाख २६ पछिको खुकुलो लकडाउन, पर्याप्त जांच पड्तालको अभाव र भारतबाट संक्रमित नेपालीहरुको प्रवेशको बढ्दो प्रबाहले बैशाखको २५ सम्ममा तराईका १/२ स्थानमा बाहेक खासै समुदायमा फैलीनसकेको कोरोना अहिले नेपालको राजधानी काठमाडौँदेखि देशभरी नै डरलाग्दोसंग फैलीसकेको हुनसक्छ ।

उता छिमेकी मुलुक भारतमा समेत संक्रमणको आगो दन्किरहेको छ । बिश्वको दोश्रो ठूलो, करिब १ अर्ब ३७ करोड ८४ लाख जनसंख्या भएको भारतमा झन्डै सवा लाखको संक्रमित भै सके र त्यो तिब्र गतिमा बढिरहेको छ, जुन हाम्रो लागि पनि अशुभ छ ।

नेपालमा स्थानीय बासिन्दामा कोरोना थिएन, अहिले जति देखिएको छ त्यो बाहिरी मुलुकबाट आएका र खासगरि भारतबाट आएका मानिसहरुको प्रवेशको कारणले बढी संख्यामा देखिएको हो । अहिले अन्तराष्ट्रिय उडानहरु बन्द भएको र तेश्रो मुलुकबाट आएका संक्रमितहरु लगभग रोगमुक्त भैसकेको अबस्थामा नेपालमा भारतबाट आउने कोरोना संक्रमितहरुलाई नेपाल प्रवेशमा उचित ब्यबस्थापन गर्न सफल भएको भए र भारततिरको संक्रमणको ज्वालाले हामीलाई भेट्ने सन्त्रास नभएको भए, सायद हामीले अहिले निरन्तर लकडाउनमा बस्दै थप त्रसित हुनुपर्ने थिएन ।

अझै कहिलेसम्म लकडाउन भैरहने हो भन्ने अन्यौल मात्र होइन कतै नेपाल पनि युरोप अमेरिकाको जस्तो भयानक स्थितिको सामना गर्न पर्ने त होइन भन्ने थप चिन्ता बढेकोछ । बिकशित मुलुकहरुमा झैँ हामीकहाँ संक्रमित बढे भने, हामीले त्यसको नियन्त्रण उनीहरुको स्तरमा गर्न प्राय: असम्भव हुनेछ ।

यसकारण हाम्रो निकट भविष्यको चित्र भयंकर र विभत्स छ । त्यसबाट जोगिन हामीले धैर्य र संयमतापूर्बक आबस्यक योजना निर्माण, त्यसको कार्यान्वयन र बिश्व स्वास्थ्य संगठनले सुझायको सुझावहरुको पूर्ण पालना गर्नु बान्छनीय छ । सर्बप्रथम, हालसम्म हाम्रा सकरात्मक पक्षहरु के थिए र कमजोरी कहाँ भए अनि हाम्रो मूल चुनौती के हो र त्यसको सामना कसरि गर्ने भन्ने बहस र बिश्लेष्ण गरिनु पर्दछ ।

सकारात्मक पक्षहरु :

नेपालमा सरकारको तर्फबाट उचित समयमा नै लकडाउन प्रारम्भ गरी निरन्तरता दिइएकोछ । अधिकतम नागरिकहरुले पनि बिभिन्न अप्ठ्याराका बाबजुद अनुशाशितपूर्बक लकडाउन पालना गर्दै आएका छन् । नेपालका स्वास्थकर्मीहरु र शुरक्षाकर्मीहरुले आफ्नो जीवनको समेतको प्रवाह नगरी सरकारले खटाएको काममा निरन्तर खटिरहेका छन् । त्यसै गरी संचारकर्मीहरु, जनप्रतिनिधिहरु र स्वमसेवकहरु पनि आ-आफ्नो ठाउँमा सेवामा लागिरहेका छन् ।

जेठ १२ सम्ममा कोरोना संक्रमितहरु मध्य ४ जनाको दुखद निधन भए पनि अधिकांश संक्रमितहरुको स्वास्थ्य स्थिति सामान्य छ र १०५ जना निको भैसकेका छन् । संक्रमण भएकाहरु निको हुदै जानु र खासै गम्भीर समस्या नदेखिनु सुखद पक्ष हुन् । केहि गुनासाहरु रहे पनि लकडाउनले अफ्ठ्यारामा परेकाहरुलाई सरकारको तर्फबाट राहत वितरण र नागरिक स्तरबाट पनि स्वस्फुर्तरुपमा अप्ठ्यारामा पर्ने हरुलाई निजि र सांगठनिक प्रयासमा सहयोगको आदानप्रदान भएका छन् ।

नकारात्मक पक्षहरु :

यस्तो विषम परिस्थितिमा समेत स्वास्थ्य सामग्री खरिदमा कमिसनको खेल आदिका प्रकरणहरु समाचारमा आए । संगैको छिमेकी मुलुक चीन लगायतला अन्य मुलुकहरुमा कोरोनाको सङ्क्रमण बढी रहदा नेपालले भने नेपाललाई कोरोना मुक्त देस भनेर पर्यटकहरु बोलाइरहेको थियो । चेक जाँचको किट लगायत स्वास्थ्य सामाग्रीहरुको अभावले पर्याप्त जांच पड्ताल नहुनु, बैशाख २६ पछि केहि उद्योग र विकास निर्माणको नाममा लकडाउनलाई खुकुलो पार्नु, भारतबाट नेपाल प्रवेश गर्न खोज्नेहरुलाई उचित प्रबन्ध मिलाउन नसक्नु र बिना टेस्ट मानिसहरुलाई आवतजावतमा छुट दिनु पछिल्लो समयमा देसै भरी सङ्क्रमण फैलिनुको कारण मान्न सकिन्छ ।

राहत वितरण गर्दा समुचित मापदण्ड र बिधि निर्माण गरेको देखिएन । कतिपय ठाउँमा हुलमुल र झैझगडा समेत भए । अधिकांश जिमेवार निकायहरुले समुचित ढंगले राहत कार्यक्रम र वितरण योजना बनाउन नसकेको देखिन्छ ।

केहि नागरिकहरुको तर्फबाट पनि कमि कमजोरी भएका छन् । जस्तै संक्रमण भएकाहरुले लुक्ने भाग्ने, क्वारेन्टाइनमा बस्न नमान्ने, सहि सुचना नदिने र कतिपयले लकडाउनको पालना नगर्ने र सुरक्षाकर्मीहरुले घर भित्र बसाउन बल प्रयोग गर्नु पर्ने आदि । उपरोक्त प्रतिनिधिमुलक कमि कमजोरीहरुले राज्यको जिमेवार निकायमा बस्ने पदाधिकारीहरुमा दुरदर्शिता, परिपक्वता र पारदर्शिताको अभाव प्रदर्शन गरेको छ । र नागरिकहरुको चेतनास्तर माथि प्रश्न खडा गरेको छ ।

हाम्रा चुनौतिहरु :

हाम्रो तीन तिरै खुला सीमाना जोडिएको र विश्वको दोश्रो धेरै ठूलो जनसंख्या भएको छिमेकी मुलुक भारतमा तिब्र गतिमा कोरोनाको संक्रमण बढिरहनु, भारत लगायत बिदेसका बिभिन्न मुलुकहरुमा धेरै नेपालीहरु अलपत्र पर्नु, भारतबाट ठूलो संख्यामा खुल्ला र लुकिछिपी समेत मानिसहरु नेपाल प्रबेस गरिरहनु, संक्रमितहरु भागेर लुक्न खोज्नु, प्रयाप्त मात्रामा चेक जांच गर्न नसक्नु, आबश्यक स्वास्थ्य सामग्री नहुनु, लामो समयसम्म लकडाउनले मजदूर, बिपन्न बर्गदेखि मध्यम बर्गलाई आर्थिक संकट पर्नु र सीमामा प्रयाप्त सुरक्षा शक्ति नहुनु अहिलेको हाम्रो चुनौतिका बिषयहरु हुन् ।

यस मध्ये, हाम्रो सीमामा भरपर्दो सुरक्षा ब्यबस्था नहुनु, भारतमा सङ्क्रमण बढ्दै जानु, भारतबाट नेपाल प्रबेशिहरुको उचित ब्यबस्थापन नहुनु र प्रयाप्त चेक जांच गर्न नसक्नु प्रमुख चुनौति हो ।

सीमामा सेनाको आबस्यकता र सीमामै व्यापक क्वारेन्टाइन निर्माण अहिलेको अपरिहार्यता :

हालसम्म सिमानामा हाम्रो १२० पोस्टमा लगभग ५ हजारको संख्यामा सशस्त्र प्रहरीहरु सेवारत छन् । सीमा क्षेत्रमा अहिलेको मौज्दात सुरक्षा शक्तिको मात्र भर पर्ने हो भने नेपालमा कोरोना नियन्त्रण कल्पनामा मात्र सीमित हुनेछ । भारत तर्फ भने ५२० पोस्टमा ३० हजार शुरक्षा शक्ति छ । कोरोनाको दृष्टिकोणबाट मात्र नभई रास्ट्रिय सीमा सुरक्षाको दृष्टिबाट पनि भारतले व्यवस्था गरेको ३० हजारको तुलनामा नेपालले व्यवस्था गरेको ५ हजारको संख्या धेरै गुणा कमि भयो । भारतसंग हाम्रो आकार, जनसंख्या, साधन, श्रोत र शक्तिमा भिन्नता हुनसक्छ तर राष्ट्रियता, सार्बभौमिकता र सीमा रक्षाको सवालमा हैसियत समान हो । सीमा क्षेत्रमा हाम्रो सुरक्षाशक्तिलाई उसको बराबरी वा हाराहारी संख्यामा ब्यबस्थापन गर्न सकियो भने अहिलेको कोरोनाको महामारी नियन्त्रणमा ठोस उपलब्धि हुनुको साथै हाम्रो सीमाको बलियो संरक्षण पनि हुनेछ ।

नेपालमा कोरोनाको प्रमुख चुनैती भारत, खुल्ला सीमाना र हाम्रो अपर्याप्त सुरक्षाशक्ति भएकोले सीमामा सुरक्षा शक्ति थप ब्यबस्था नेपाल सरकारको मुख्य र तात्कालिक एजेन्डा हुनु पर्दछ । सीमामा बढाउनु पर्ने सुरक्षा शक्तिको बारेमा यहाँ केहि बिबेचना गर्न खोजिएको छ ।

भारतसंगको सीमानामा नेपाली सेनालाई नै राखिनु रणनीतिक रुपमा उपयुक्त हुन्थ्यो तर हाल सशस्त्र प्रहरीहरुले सुरक्षा दिइरहेका छन् । नेपाली सेनाको मुख्य काम नेपालको सिमानाको सुरक्षा हो । अहिले त झन् नेपाली जनताको जीवनको सुरक्षा समेत जोडिएको छ । नेपालको सार्बभौमिकता र आम नागरिकको जनजीवनलाई सुरक्षित राख्ने काममा नेपाली सेनालाई जिमेवारी दिनु र नेपालको आन्तरिक शान्ति सुरक्षा लगायतका काममा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई जिम्मा दिनु उपयुक्त हुन्छ । अहिले सीमामा सशस्त्र प्रहरीले सेवा गरिरहेकाले तिनीहरुलाई तत्काल फिर्ता गर्ने काम सामायिक र ब्यबहारिक नहुन सक्छ । बरु त्यसमा सुरक्षा शक्ति थप्दा नेपाली सेनालाई जिमेवारी दिनु श्रेयस्कर हुन्छ ।

देश भित्र र सीमानामा सेवा दिने सुरक्षा शक्तिलाई कोरोना सङ्क्रमण प्रतिरोधी पिपीई , ९५ माक्स र ग्लोब्स जस्ता निजहरुको स्वम सुरक्षाको लागि सामाग्रीहरु आबस्यक मात्रामा उपलब्ध गराई सुरक्षित पार्नु पर्दछ । आफ्नै जीवनलाई जोखिममा राखेर सेवा दिनु पर्ने स्वास्थ्यकर्मीहरु र सुरक्षाकर्मीहरुलाई उच्च मनोबलको खाँचो पर्दछ । त्यसको लागि बिभिन्न प्रोत्साहनको व्यवस्था मिलाई दिनु पर्दछ । जस्तै – सीमामा खटिने सैनिक वा प्रहरीहरुलाई खाईपाई आएको तलब भत्तामा दोब्बर बनाई दिने वा कम्तिमा मासिक ५० हजार नगद तलब सुबिधा दिने, सीमानामा ६ महीना भन्दा बढी काम गरे पछि न्युनतम एक तह प्रोमोसन गरिदिने, न्युनतम ५० लाखदेखि १ करोडसम्मको जीवन बिमा गरिदिने साथै उनीहरुलाई पोषणयुक्त खानपिन र सुविधाजनक ब्यारेकको निर्माण गरीदिने आदि ब्यबस्थाहरु हुन सक्छन् । तत्काल सुविधाजनक ब्यारेक बनाउन शम्भव नभए पनि शम्भव भए सम्मको राम्रो गाँस बासको लागि प्रबन्ध मिलाउने वा क्रमागत रुपमा सुधार गर्दै जानु पर्दछ ।

सीमानामा सुरक्षा शक्ति थप गर्नको लागि किन राज्यले पहल गरिरहेको छैन ? १ हजार ८ सय ८० कि.मी. खुला सिमानामा प्रति १०० मी.को दुरीमा १ जना शुरक्षाकर्मी राख्दा १८ हजार ८०० जना जनशक्ति चाहिन्छ । मानिसहरुको लुकिछिपी आवतजावत हुने शम्भावना भएका स्थानहरुमा प्रति १०० मी. को दुरीमा २ जनाले ड्युटी गर्ने हो भने लुक्ने छिप्ने काम बन्द हुनसक्छ । हाल सेवारत ५ हजार सुरक्षा शक्तिमा २५ हजार थप्दा ३० हजार पुग्छ, जुन भारतको बराबरी शक्ति हुन जान्छ । ३० हजार सुरक्षा शक्ति हामीले यतिखेर परिचालन गर्न सक्ने हो भने भारतबाट लुकिछिपी नेपाल प्रवेश गर्न खोज्ने कोरोना संक्रमितहरुलाई रोक्न सकिन्छ र सीमा क्षेत्रमा व्यापक मात्रामा क्वारेन्टाइन र आइसोलेसन स्थलहरु निर्माण गर्न सकिन्छ । साथसाथै सीमाना अतिक्रमण गर्दै आएको भारतीय पक्षले नेपालको सीमाना अतिक्रमण गर्ने थप आँट पनि गर्ने छैन । यहि कोरोनाको कहरमा नेपाल भारतको सीमाना विवाद नटुंगिएसम्म अझ सीमानामा पर्खाल वा बारबन्देज लगाउने काम पूरा नहुदासम्म हाम्रो सेनालाई भारतको बराबरी संख्यामा सिमानामा राख्न सकियो भने झनै राम्रो हुनेछ ।

के हामीसंग सीमानामा २५ हजार थप शुरक्षा शक्ति ब्यबस्था गर्ने क्षमता छैन त ? निश्चय पनि हुनु पर्दछ । हाम्रा कयौं सुरक्षा शक्तिहरु देशका भूतपूर्वदेखि वर्तमान भिआइपीहरुका सुरक्षामा अनाबश्यक संख्यामा कार्यरत छन् त कयौं सिपाही र प्रहरीहरु सेना, प्रहरीका उच्च पदका भिआइपीहरुको घरमा खाना पकाउनेदेखि सरसफाई गर्ने काममा लगाईएका छन् । नेपाल रास्ट्र र नेपाली जनताको जनधनको सुरक्षा गर्नु पर्ने सुरक्षा शक्तिलाई रास्ट्रको ढुकुटीबाट तलब भत्ता भराएर सेना प्रहरीहरुका उच्च तहका पदाधिकारीहरुले व्यक्तिगत सुख सुविधामा र राजनैतिक नेताहरुले भूतपूर्व भैसक्दा पनि सुरक्षाको नाममा आबश्यक भन्दा बढी संख्यामा प्रयोग गरिरहनुले लोकतान्त्रिक र गणतान्त्रिक व्यबस्थाको समेत उपहास भएको छ । वास्तवमा सबै तिरका भिआइपीहरुको सेवा सुरक्षामा अनाबश्यक र अनुचित रुपमा खटिएका सुरक्षाशक्तिलाई झिक्दा त्यो संख्या पनि ठूलै हुन सक्छ । सेनालाई विकास निर्माण, बिभिन्न ब्यबसाय र औषधि खरिद आदि काममा समेत लगाईएका छन् । सेनाले नगरे पनि हुने सिभिलले गर्ने काममा सिभिललाई नै जिम्मा दिएर

सेनालाई रास्ट्रको सीमा र जनताको जीवन जोगाउने काममा लगाउने योजना बनाउनु सान्दर्भिक हुन्छ ।

कोरोना महामारी नियन्त्रणको उपाय :

सरकारले मौज्दात नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीहरुको उचित प्रयोगको योजना बनाई २० देखि २५ हजारको संख्यामा नेपाल भारत सीमामा शुरक्षा शक्तिको प्रबन्ध मिलाउन आँट गर्नु पर्दछ । तत्कालै थप २० देखि २५ हजार सुरक्षाको प्रबन्ध गर्न नसके, अधिकतम रुपमा जति शम्भव छ, त्यति थप शुरक्षा शक्तिको प्रबन्ध मिलाउने काम नेपाल सरकारले युद्द्स्तरमा योजना बनाएर गरी हाल्नु अहिलेको समयको माग र आबस्यकता हो । भारतबाट आएका नेपालीहरूलाई राख्ने क्वारेन्टाइन र आइसोलेसन बेडहरु सीमा क्षेत्रमा नै व्यापक मात्रामा निर्माण गर्नु पर्दछ । यसरी क्वारेन्टाइन र आइसोलेसन निर्माण गर्न पनि सीमामा खटिएका सेना वा सुरक्षा शक्तिले सहयोग पुर्याउने छन् । भारतबाट नेपाल प्रबेस गर्नेहरुलाई भरपर्दो चेक जांच अर्थात पिसिआर चेक सीमामा नै गराउनु पर्दछ । पिसिआर चेकबाट कोरोना पुष्टि नभएकाहरुलाई मात्रै सम्बन्धित ब्यक्तिहरुको घर गाउँमा जाने अनुमति वा प्रबन्ध मिलाउनु पर्दछ । पिसिआर जांचबाट कोरोना नदेखिए पनि सम्बन्धित स्थानीय तहमा समेत कम्तिमा २ हप्ता क्वारेन्टाइनमा बसाउनु पर्दछ ।

सबै भन्दा ठूलो कुरा जनताको जीवन हो । जनताको जीवन रक्षा गर्नु सरकारको मुख्य कर्तब्य हो । त्यसैले राज्यको ढुकुटीको प्रयोग जनताको जीवन जोगाउने काममा पहिलो प्रथामिकता हुनु पर्दछ । सबै तहका सरकारहरुले अन्य शीर्षकको फजुल खर्च कटाउनेदेखि आबस्यकता पर्दा विकास निर्माणको बजेटलाई समेतलाई कटाएर भए पनि जनताको जीवन जोगाउने सन्दर्भमा स्वाश्थ्य सामग्री खरिद, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सेवा सुबिधा, सुबिधाजनक क्वारेन्टाइन तथा आइसोलेसन स्थलको निर्माण र गरिब असहाय जनतालाई राहत आदिमा खर्च गर्न कुनै कन्जुस्याई र ढिलाई गरिनु हुदैन । प्रत्यक नागरिकलाई पिसिआर चेक गर्ने लक्ष्यका साथ चेक जाँचको सामग्री लगायत अन्य सवास्थ्य सामग्री व्यापक मात्रामा खरिद वा संकलनमा सरकारले सरकारी साधन श्रोतको अतिरिक्त निजि क्षेत्रका ब्यापारीहरु, बिदेसका कुटनैतिक नियोगहरु र एन.आर.एन.हरु समेतलाई परिचालन गरी थप शशक्त र प्रभावकारी रुपमा अबिलम्ब कदमहरु बढाउनु पर्दछ ।

यसरी सीमा क्षेत्रमा २५-३० हजारको संख्यामा सुरक्षाशक्तिको परिचालन, भारतबाट नेपाल आउनेहरुको लागि सीमामा नै व्यापक मात्रामा यथाशम्बव सुविधाजनक क्वारेन्टाइन र आइसोलेसन निर्माण, नेपाल प्रवेश गर्नेहरुलाई सीमामै पिसिआर चेकको व्यवस्था, लकडाउनलाई थप कडाई, समुदायमा व्यापक चेक जाँच र सबै स्थानीय तहमा कम्तिमा एउटा टोलमा एउटा न्युनतम १० देखि ५० बेडको सुविधाजनक क्वारेन्टाइन र आइसोलेसन निर्माणको व्यवस्था यथाशीघ्र मिलाउन सकियो भने मात्र नेपाललाई कोरोनाको महामारीबाट जोगाउन सकिएला अन्यथा स्थिति अकल्पनिय हुने खतरा छ । उपरोक्त काम गर्न केहि ढीला भैसकेको छ । तथापी, अझै युद्द्स्तरमा सरकारले यी काम गर्न सके र नागरिकहरु पनि थप सजग, अनुशाशित र जिमेवार हुन सके स्थिति नियन्त्रणमा आउने आशा गर्न सकिन्छ ।

लेखक – तत्कालिन आरु आर्बांग गा. बि. स. गोरखाका पूर्ब अध्यक्ष र प्रबासी नेपाली मंच जापानका पूर्ब अध्यक्ष समेत हुन् ।

 

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

पहिरो

फेसबुक

पहिरो

ट्वीटर

सामाजिक सञ्जाल

More