नेकपा भित्रको रोग- पाल्ने कि फाल्ने ??

12 July, 2020 10:38 | बिचार | comments | 68850 Views
कृष्ण खड्का

सत्तारुढ दल नेकपा भित्रका शीर्ष नेतृत्व तहमा देखिएको मत मतान्तरले बिबादलाई चरमोत्कर्षमा पुर्याइरहेको छ l दुई बर्ष अघि मात्र दुई ठूला बामपन्थी दलहरु नेकपा एमाले र नेकपा एमाओबादी एकीकृत भएर बनेको नेकपाको आन्तरिक एकता पूरा नहुदै अहिले यो झन्डै विभाजनको संघारमा पुगेको चर्चा छ l
संसदीय निर्बाचन पूर्ब चुनाबी तालमेलको यात्रा प्रारम्भ गरेका यी दुई पार्टीको गठबन्धनले झन्डै दुई तिहाई नजिकको जनमत पाएर सरकार बनाउन सफल भए पछि यी दुई पार्टी २०७५ जेठ ३ गते दुइटा अध्यक्ष कायम गरेर नेकपा नाममा एकीकृत भए l नेकपा निर्माण संगै पूर्ब एमाले र पूर्ब एमाओबादी पार्टी बिघटन भए, दुवै पार्टीका निर्बाचित केन्द्र, प्रदेश, स्थानीय र प्रबासका सबै कमिटीहरु विघटित भए, दुइटा पार्टीका अध्यक्षहरुको पद यथावत रहे र अन्य अधिकांश नेता कार्यकर्ताहरुका जिमेवारी फेरबदल भए, कतिपय आंशिक मानिसहरुले थप जिमेवारी पाए, कतिले पाइरहेको जिमेवारीबाट पनि बन्चित भए र अझ पनि कतिपय जनबर्गिय संगठनहरुमा एकता प्रक्रिया पूरा भैसकेको छैन l

पार्टी एकता प्रारम्भ भएको दुई बर्षमै अझै एकताको अन्तिम प्रक्रिया पूरा नहुदै विभाजनको संघारमा पुग्नु निकै दुखद कुरा हो l पार्टीको एकता भित्र पूर्ब दुई पार्टीहरु संलग्न भए पनि विभाजनको संघारमा पुग्नको लागि पूर्ब पार्टीहरुले आ-आफ्नो रुप धारण गर्ने गरी विभाजनको आकार लिन खोजेको देखिदैन l अर्थात् एमाले र एमाओबादी फेरी पुरानै ठाउमा फर्कन खोजेको चाहि होइन l नेकपा पूर्वको अबश्थामा फर्कने गरी विभाजनको संघार वा चर्चा नभएर वर्तमान नेकपा भित्रको अन्तर द्वन्द अर्थात् शीर्ष नेतृत्व तहको मत मतान्तरले चरम रुप ग्रहण गरिरहेको र यदि कथमकदाचित पार्टी विभाजन भएको खण्डमा नयां ढंगले नै पार्टी पंक्ति विभाजित हुनेछ l पार्टी बिभाजनले नेकपालाई मात्र सिध्याउदैन, संघिय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था र नेपालको राष्ट्रिय अखण्डतालाई समेत आँच पुर्याउने खतरा हुनेछ l यसर्थ, पार्टी बिभाजन होइन थप एकीकृत र ब्यबस्थित गर्नु बान्छनीय छ l

नेपालको इतिहासमा बामपन्थीहरुले धेरै पटक सरकारमा सामेल भए पनि एकलौटी बहुमत ल्याएर एकल सरकार बन्न सकेको यो पहिलो पटक हो l यो दुई पार्टीको चुनाबी तालमेल र पार्टी एकताले सृजना गरेको अवसर हो lनेपाली जनताहरु यो नेकपा सरकारसंग धेरै आशाबादी छन् र नेकपाको लागि जनबादको बिकाश गर्दै समाजबादसम्म पुग्ने वा नेपाली जनताको जीवनस्तर सुधार्ने, अझ अहिलेको सरकारले भने जस्तो समृद्द नेपाल र सुखी नेपाली भन्ने नारालाई मुर्तरुप दिने यो सुनौलो अवसर हो l तर नेकपाले यो सुनौलो अवसरलाई समुचित सदुपयोग गरिरहेको देखिदैन l
नेकपा पार्टी र नेकपाको सरकारले के गर्नु पर्दथ्यो तर के गरिरहेका छन् ? नेकपाको राजनैतिक लक्ष्य के हो ? चुनाव लड्दा जनताको सामु कबुल गरेका वा घोषणा गरेका कामहरु भैरहेका छन् कि छैनन् ? नेकपाको कराई र गराईमा तादम्यता देखिदैन l नेकपा एशियाकै चौथो ठूलो कम्युनिष्ट पार्टी हो तर यो पार्टीको र सरकारको आचरण र गरिमा तदनुकुल देखिदैन l

  

सत्ताको अवसर प्राप्त गर्न जति गाह्रो छ त्यसलाई टिकाई राख्न झन् धेरै गाह्रो छ l नेपाली राजनीतिमा नेताहरु जित्न अनेकौं प्रयत्न गर्दछन् र जितिसके पछि कुर्चीबाट कहिल्यै ओर्लन नपर्ने गरी सधैलाई जितेको भ्रममा पर्दछन् र कामको माध्यमबाट जीतलाई कायम राख्न ध्यान दिदैनन् l राजनीतिमा सत्ताको जीत हार आवधिक हुन्छ l खासगरि लोकतान्त्रिक ब्यबस्थामा एक कार्यकाल बढीमा करिब ५ बर्षको मात्र हो भन्ने कुरा जानेर पनि त्यसलाई ख्याल नगरेको जस्तो देखिन्छ l
अझ नेकपा जस्तो पार्टीको त झन सरकारमा पुग्नु र टिक्नु मात्र लक्ष्य होइन, गन्तब्य त समाजबादसम्म पुग्ने हो l समाजबादसम्मको दूर यात्री नेकपा सरकार बनाएको दुई बर्ष नपुग्दै आन्तरिक कलह र द्वन्दमा किन फसिरहेको छ ? अहिले नेपालमा नेकपाको सरकार हो कि केपी ओलीको सरकार हो ? भन्ने अन्यौलता पनि देखिएको छ l पार्टी र सरकारको समन्वय देखिदैन l सरकार र पार्टी भिन्दा भिन्दै संस्था हुन् तर पार्टी प्रणालीबाट निर्बाचित वा गठित सरकार र त्यसको मात्री पार्टीसंगको सम्बन्ध अन्योन्याश्रित हुनु पर्ने कुरा नेकपाका नेताहरु र सरकारमा नेतृत्व गर्नेहरुले नबुझेको पक्कै होइन l

नेकपा भित्रको विवाद भनिए पनि यो शीर्ष तहको नेताहरुको समझदारीको अभाव र पार्टी जीवनलाई सजिब बनाउने पार्टीको प्रणालीहरु निस्कृय र बेकामी भएका र बनाईएका मूल कारण हुन् l जनताको जनबादलाई सिद्दान्त मान्ने पार्टी भित्र जनबाद जीवित नभए जस्तो देखिन्छ l
नेकपा भित्रको अहिलेको विवाद पार्टी अध्यक्ष तथा प्रधानमन्त्री के. पी. ओलीले पद छाड्ने कि नछाड्ने ? अरु को कसले के भाग पाउने भन्ने कुरा प्रमुख बिबादको बिषय जस्तो देखिएको छ l यो विवाद शीर्ष नेताहरुको आपसी समझदारीले र केपी ओलीको स्वबिबेकले पनि टुंगो लगाउन सक्ने कुरा हो l केपी ओलीले पद छाड्ने र नछाड्ने वा यो एजेन्डा छलफलमा रहने नरहने बिषय आवरणमा प्रमुख देखिए पनि यो गौण बिषय हो l

प्रमुख कुरा भनेको पार्टी भित्रको रोग के हो भनेर पहिल्याउनु र त्यो रोगको निवारण खोज्नु हो l नेकपालाई शीरमा धेरै र शरीरका मुख्य भागमा अलि थोरै र तल्लो भागमा समेत केहि रोग लागेको छ l त्यो रोग के हो र त्यसको निवारण कसरि गर्ने भन्ने तर्फ पार्टी पंक्तिको ध्यान जानु बढी बुद्धिमानी हुनेछ l यस आलेखमा पार्टी भित्रको मुख्य रोगको बारेमा चर्चा गर्ने प्रयास गरिएको छ lकम्युनिष्ट पार्टीको संगठन जनबादी केन्द्रीयताको प्रणालीबाट संचालित हुन्छ l जुनसुकै पार्टी संगठनमा लोकतान्त्रिकरण हुनु पर्दछ, त्यसमाथि कम्युनिस्टहरुको जनबादी संगठन भित्र लोकतान्त्रिकरण न्युनतम आधारभूत कुरा हो l

नेकपाको बिधान छ, बिभिन्न तहका कमिटीहरु छन्, ति कमिटीहरु परिचालनको बिधि छ l नेकपाको बिधान भन्दा माथि कोहि हुदैन l देशलाई संबिधान र कानूनले चलाय जस्तै पार्टीलाई विधानले र कमिटीले चलाउने हो l तर नेकपाको बिधान नेताहरुले आफू खुशि ब्याख्या गर्ने र संशोधन गर्ने गरेका छन् l पार्टीका बिधान पार्टीका अध्यक्षहरु र शीर्ष नेताहरुले नै पालना गरेका छैनन् l पार्टीको बिधानलाई पार्टी नेताहरुले कार्यकर्ता तर्साउने भाडो मात्र बनाउन खोजेको देखिन्छ l
पार्टी कमिटिका बैठकहरु नियमित हुदैनन्, पार्टी संचालन र निर्णयहरु कमिटीमा घनिभूत छलफल गरेर हुनु पर्नेमा कुना भित्र बसेर वा बैठकलाई अबमुल्यन गरेर सीमित नेताहरुको समझदारी वा सहमति वा भागबन्डामा पार्टी चलाईएको देखिन्छ l

कम्युनिट पार्टीको केन्द्रीय कमिटी महाधिबेशन पछिको दोश्रो शक्तिशाली निकाय हो तर नेकपाको केन्द्रीय कमिटिका सदस्यहरु पार्टी कार्यलयमा धर्ना दिने र सार्बजनिक चोकमा कुनै गुटको प्रश्रय दिने गरी जुलुस र बिरोध शभा गरी हिडेका छन् l महाधिबेसन पछिको सबै भन्दा शक्तिशाली कमिटी केन्द्रीय कमिटी कामकाजी र निर्णायक बनाउनु पर्नेमा देखावटी र जन्ती जस्तो बनाईएका छन् l पार्टीलाई सचिबालयले चलाएको छ, अझ दुइटा अध्यक्षको सहमतिमा जे पनि निर्णय भएका छन् l कमिटीको छलपल र निर्णय भन्दा दुई अध्यक्षको सहमतिलाई बढी प्रश्रय दिइएको छ l दुइटा अध्यक्ष मिल्दा पार्टी भित्रका अन्तरविरोध भएर पनि बाहिर प्रकट भएका छैनन् भने दुई अध्यक्ष नमिल्दा अन्तर विरोधहरु बाहिर देखिएका छन् l दुई अध्यक्ष मध्य पनि सरकारको प्रमुख समेत रहेका अध्यक्षको बोलबाला बढी देखिएको छ l बरिष्ठ र अन्य शीर्ष नेताहरुले पनि पार्टीलाई पद्दति र प्रणालीमा चलाउन जोड गर्ने पर्नेमा त्यस्तो प्रयास खासै गरिएको देखिएको छैन l

पोलिटब्युरो सदस्यहरुले समेत पार्टी संचालनमा भाग लिन नपाएको निरिह जस्तो देखिन्छन् l नेकपाका कमिटीहरु भनेको नेताहरुलाई परिचय दिने र आन्तरिक तथा खुल्ला कार्यक्रममा अतिथिको आसन ग्रहण गर्ने र केहिले एन मौकामा भाषण मात्रै गर्ने जस्ता छन् l पार्टीको रणनीति के हो कार्यनीति र कार्यक्रम के हुन भन्ने कुरा पार्टी कमिटीमा आसिन नेतागण नै अलमलमा छन् l नेकपाको पार्टी प्रणाली रुपमा छ तर सारमा छैन l पार्टी भित्र जनबाद त परकै कुरा लोकतन्त्र समेत कागजमा छ, ब्यबहारमा छैन l सत्ता र शक्ति प्राप्तिको निम्ति अबैधानिक र अपवित्र कदम चाल्न समेत पार्टीका नेताहरु उद्दत हुन्छन् l सिद्दान्त, इमान र नैतिकतालाई भन्दा पैसा र पदलाई प्रमुख ठान्ने प्रवृत्ति मौलाएको छ l नेकपाको मूल रोग यहि हो l
पार्टीलाई प्रणालीगत रुपमा र जनबादी तरिकाले चलाउन पार्टी नेताहरुलाई बाध्य पार्न पार्टी, देश र जनताको निम्ति जीवनभर शंघर्ष गर्नु भएका असल, इमान्दार र योग्य हजारौं नेता कार्यकर्ताहरु अब जाग्ने बेला आएन र ?
बिडम्बना, यत्रो शंघर्षशील क्रान्तिकारी पार्टीका नेता कार्यकर्ताहरु पार्टीलाई नीति, बिधि र प्रणालीबाट चलाउन पर्दछ भनेर संगठित रुपमा किन लाग्दैनन् ? पार्टी भित्र ठूला नेता मुखिया जिमुवाल जस्ता र साना नेताहरु र कार्यकर्ताहरु रैती र हनुमान जस्ता भएर बसेका छन् l बिबेक र इमानले चलेका नेता र कार्यकर्ताको पंक्तिमा खडेरी परे जस्तो छ lपार्टीलाई बिधि र प्रणालीले चलाउने र सरकार पार्टीले चलाउने, हसिया हथौडा अंकित झन्डा बोकेको पार्टीको सरकारले किसान र मजदूर बर्गको पक्षधरतामा नीति कार्यक्रम र योजना ल्याएर काम गर्दै अघि बढे मात्र नेकपाको औचित्य हुनेछ l

हजारौं शहीदहरु र लाखौं कार्यकर्ताहरुको रगत पसिनाले निर्माण गरेको पार्टी र पार्टीले आर्जन गरको जनमत र प्रतिष्ठा माथि सीमित नेताहरुको मनोमानी र कुर्चीमोहलाई टुलुटुलु हेरेर बसिरहने वा पार्टी भित्रको लोकतन्त्र सहित पार्टीको आत्मा निर्जीव उन्मुख हुदा समेत अमुक नेताको पुच्छर समातेर उनकै वरिपरी घुमिरहने र तिनका भजन गाए मात्र आफ्नो राजनैतिक भविष्य देख्ने नेता कार्यकर्ता पनि पार्टीको लागि घातक तत्वहरु हुन् l यस्तो प्रबृत्ति पनि पार्टी भित्रको खतरनाक रोग हो l
नेकपा भित्रको रोग पाल्ने कि फाल्ने ? यस सवालमा नेकपाका आम नेता कार्यकर्ताहरु गम्भीर भएर सहि बिबेक र इमानको आधारमा निर्णय गरौं l नेकपालाई थप एकीकृत र ब्यबश्थित बनाउन इमान्दार र योग्य नेता कार्यकर्ताहरु जागौं l शहिदहरु र अग्रजहरुको सपना पूरा गर्न स्वच्छ र स्वस्थ पार्टी संगठन निर्माण गर्न बैचारिक र संगठितरुपमा लागौं  l
लेखक – गोरखा जिल्ला तत्कालिन आरुआर्बांग गा. बि. स.का पूर्ब अध्यक्ष र प्रबासी नेपाली मंच जापानका पूर्ब अध्यक्ष समेत हुन् l

 

यो पनि हेर्नुहोस : जापानको चार्टर फ्लाईट यात्रुलाई आहत कि राहत ?

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More