आँधीखोलाका जलचर सखाप : मरेका माछा नखान आग्रह, एग्रो फार्म संचालकबिरुद्ध मुद्दा दायर

स्याङ्जाको गल्याङस्थित आँधी खोलामा रहेका स—सानादेखि ठूला एवं लोपोन्मुख माछासहित सबै जलचर सखाप भएपछि यसमा जिम्मेवार रहेको खिलुङ कालिका एग्रोफार्मलाई आरोप लगाउँदैै फार्मका कार्यकारीसहित ४ जना कर्मचारीमाथि मुद्दा दायर गरिएको छ ।

खोलाका माछा मरेर बग्रेल्ती तैरिन थालेपछि प्रशासनले अनुसन्धान सुरु गरेको छ । प्रशासनले फर्मका कार्यकारी अधिकृत शोभाकान्त ढकाललगायत डिल्लीराम अर्याल, सन्तोष अर्याल र कृष्ण परियारविरुद्ध जलचर संरक्षण ऐन अनुरुप मुद्दा चलाएको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिनुभएको छ ।

प्रजिअ निरोैलाका अनुसार ऐनअनुसार नोक्सान बिगो बमोजिम ५ हजारसहित प्रयोग गरिएको सामान जफथ हुने व्यवस्था छ । भीरकोट नगरपालिकामा सञ्चालित एग्रोफार्मले गल्याङ नगरपालिका ११ र ७ पेलाकोटको संगमस्थल बरेक भन्ने स्थानमा जग्गा भाडामा लिएर सुली व्यवस्थापन गर्दै आएको थियो ।

सो स्थल फर्मभन्दा झण्डै ३० किलोमिटर दक्षिणतर्फ छ । फार्ममा कुखुरासहित अण्डा उत्पादन हुन्छ । सोही स्थानतर्फका आँधीखोलाका माछा मरेका हुन् । फर्मले आँधीखोला किनार भन्दा करिब ३५ मिटर वर २ वटा पोखरी खनेर सुली व्यवस्थापन गर्दै आएको थियो । सुलीकै कारण आँधीखोलाका माछा मरेको हुनसक्ने प्रहरीको दाबी छ ।

आँधीखोला जलविद्युत आयोजनाको ड्याममा मृत माछा संकलन भएको छ । पानीभित्र रहेका कछुवा, गड्यौलालगायत दुर्लभ जातिका सहर, आर्य, गर्दी जातका माछा पनि सखाप भएका छन् । करिब ३० टन माछा मारेको अनुमान गरिएको छ । आयोजनाले वर्षेनी आँधीखोलामा छाड्दै आएको लाखौंका संख्यामा माछाका भुरा पनि नष्ट भएपछि वर्षौंको लागि क्षति पुगेको दाबी भुसालको छ ।

कुखुराको सुली आँधीखोलामा मिसिँदा अक्सिजन कमी भई माछा मरेको जनाउँदै प्रशासनले मरेको माछा नखान स्थानीयलाई आग्रह गरेको छ । आँधीखोलाको पानी जिमुवा हुँदैं कालीगण्डकी ए विद्युत उत्पादन केन्द्रसम्म पुग्ने गरेको छ ।

नारायणी नदी किनार डम्पिङ साइटमा परिणत हुँदै