मोरङमा दुई जनाले गरे आत्महत्या, आत्महत्या गर्नेकी श्रीमती मृत अवस्थामा फेला

मोरङमा आज बिहान फरक–फरक स्थानमा एक वृद्ध र एक महिलाले आत्महत्या गरेको र अर्का एक वृद्धाकी श्रीमती मृत अवस्थामा फेला परेकी छन् ।

सिसवनी जहदा–९ घर भएका ७० वर्षीय वृद्ध धनगौरी मण्डलले आफ्नै सालोको घरमा आज बिहान ६ः४५ बजे आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ | मोरङको नोचा–३ बस्ने आफ्नै सालो नथुनी चौधरीको घरमा बस्दै आएका उनी सुतेको कोठामा झुन्डिएर आत्महत्या गरेका छन् ।

उनीसँगै सुतेकी ६० वर्षीया श्रीमती कोइलीदेवी पनि मृत अवस्थामा भेटिएकी छन् । उनले लामो समयदेखि विभिन्न रोगको औषधि लिइरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।उनको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र मङ्गलबारे पठाइएको र घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै, आज बिहान ८ः३० बजे मधुमल्ला–५ स्थित कालीझोडा सामुदायिक वनमा एक महिलाको शव झुन्डिएको अवस्थामा फेलापरेको छ । पहिचान खुल्न नसकेको अन्दाजी ३०–३५ वर्षकी ती महिलाले रुखमा पासो लगाई झुन्डिएको प्रहरीले जनाएको छ ।