आदिवासी जनजाति महासंघ जापानको अधिवेशन मार्च ११ मा

नेपाल आदिवासी जनजाति महासंघ जापानको १६ औँ अधिवेशन आउँदो मार्च महिनाको ११ तारिख आइतबार हुने भएको छ ।

अधिवेशन जापानका लागि पूर्व नेपाली राजदुत तथा जनजाति अग्रज नेता डा गणेश योङ्जन तामाङको प्रमुख अथित्यमा राजधानी टोकियो महानगरको गोतन्दामा हुने भएको छ ।

महासंघका महासचिव हर्क गुरुङले दिनुभएको जानकारी अनुसार अधिवेशनले संस्थाको विधान संशोधन लगायत आगामी दुई वर्षे कार्यकालको लागि नेतृत्व चयन गर्नेछ । अधिवेशनलाई सफल पार्न संस्थाका अध्यक्ष पासाङ शेर्पाको संयोजकत्वमा सम्पूर्ण पदधिकारीहरु सदस्य रहने गरी एक मूल तयारी समिति गठन भएको छ ।

यसै अन्तरगत व्यवस्थापन समितिको संयोजकमा नागोयाका पूर्व उपाध्यक्ष पेम्बा शेर्पालाई जिम्म दिएको छ । महासंघको संरचनालाई समय परिस्थिति अनुरुप थप एकतृत तथा सामुहिक नेतृत्वलाई अझ मजबुद र सशक्तिकरण बनाउनका निम्ति अधिवेशनबाट विधानलाई संशोधन गर्ने जनाइएको छ ।

त्यसका लागि विधान संशोधन समितिको संयोजकमा संस्थाका सल्लाहकार तथा पूर्व प्रवक्त सुकुमान थिङ तामाङलाई चयन गर्दै सल्लाहकारद्वय डा दिनेश मानन्धर र शरद कुमार गौचन गरी तीन सदस्य समिति गठन गरेको छ । त्यसै गरी निर्वाचन मण्डलमा सल्लाहकार तथा पूर्व अध्यक्ष ओम गुरुङ र मनबहादुर पुन मगरलाई जिम्मेवारी दिइएको छ ।

जापानमा कृयाशिल १० वटा जातिय संस्थाहरुको छाता संगठन नेपाल आदिवासी जनजाति महासंघ, जापानले आफ्नो संगठन बिस्तारको क्रममा अध्यक्ष शेर्पाकै कार्यकालमा क्यूश्यू, किता कान्तो, सेन्दाई र कान्तो क्षेत्र गरी ४ वटा क्षेत्रहरुमा क्षेत्रिय समितिहरु गठन गरिसकेका छन् भने अन्य क्षेत्रहरुमा आगामी कार्यकालका नयां नेतृत्वले निरन्तरता दिने योजना रहेको उल्लेख गरेको छ ।

यसैबीच महासंघले एक विज्ञप्ति प्रकाशित गर्दै अधिवेशनको दिन बिहान ९ बजेबाट बन्द सत्र शुरु भई दिउँसो १ बजेबाट साँझ ४ बजेसम्म खुल्ला कार्यक्रममा परिणत हुने जानकारी गराउँदै जापानमा कृयाशिल सबै संघसंस्थाका प्रतिनिधि तथा जापानवासी नेपालीलाई उपस्थितिको लागि आममन्त्रण गरिएको छ ।

जनजाति महासंघले टोकियोमा २५६१ औँ बुद्ध जयन्ती मनाउने