आन्दोलनकारीको एउटै माग गुठी विधेयक खारेज नै गर्नुपर्छ (भिडियोसहित)

मंगलबार सरकारले राष्ट्रिय सभामा पेश भएको गुठी विधेयक फिर्ता लिएको घोषणा गरे पनि यसको बिरोध गरिरहेका गुठीहरुले पूर्व निर्धारित कार्यक्रम अनुसार बुधबार माइतीघर मण्डलामा बिरोध प्रदर्शन गरे ।

उपत्यकाका ४० भन्दा बढी गुठीहरूका तर्फबाट सहभागिता जनाइएको थियो प्रदर्शनमा वक्ताहरुले विधेयक फिर्ता लिने मात्र हैन खारेज नै गर्नुपर्ने माग राखे ।

गुठी विधेयकको बिरोध गर्दा माइतीघर मण्डलामा यसअघिको जस्तो प्रहरी धरपकड भएन । पहिलो बिरोधमा व्यापक बल प्रयोग भएपछि आन्दोलनकारीहरु उत्तेजित भएका थिए । बुधबार माइतीघरमा दिनभर विरोध प्रदर्शन भयो, जहाँ आन्दोलनकारीहरुले विधेयक फिर्ता लिएर मात्रै आन्दोलन नरोकिने बताउँदै विधेयक खारेजी आफ्नो बटमलाइन भएको घोषणा गरे ।

बुधबार काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट निस्केको जुलुस माइतीघर मण्डलामा आइपुगेर सभामा परिणत भएको थियो । विरोध प्रदर्शनमा सहभागीहरुले एकै स्वरमा सरकारले गुठी विधेयक खारेज नगर्दासम्म आन्दोलन जारी रहने बताए ।

हेर्नुहोस् भिडियो