संघीय गठबन्धनले नै संविधान संशोधन प्रस्तावको मिति र्सायो

pm-meeting
सरकारलाई कात्तिक मसान्तसम्म संविधान संशोधन प्रस्ताव दर्ता नभए आन्दोलन घोषणा गर्ने धम्की दिँदै आएको संघीय गठबन्धनले नै संशोधनको मिति सारेको छ ।

गठबन्धनले संशोधन प्रस्ताव संसदमा तत्काल दर्ता नगर्न प्रधानमन्त्रीलाई आग्रह गरेको हो । सोमबार प्रधानमन्त्री र संघीय गठबन्धनका नेताबीचको बैठकमा गठबन्धनका नेताहरुले मंसिर १५ गतेसम्म संशोधन प्रस्ताव पेश गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।

यसअघि बसेको गठबन्धनको बैठकले कात्तिक मसान्तभित्र सरकारले संशोधन प्रस्ताव संसदमा दर्ता नगराए कडा आन्दोलनका कार्यक्रम घोषणा गर्ने धम्की दिएको थियो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले भोलि (मंगलबार) संशोधन प्रस्ताव दर्ता गराउने तयारीमा सरकार रहेको बैठकको सुरुवातमै बताएका थिए । तर गठबन्धनका नेताहरुले सरकारले आफूहरुसँग प्रयाप्त छलफल नगरेको भन्दै छलफलपछि मात्रै संशोधन प्रस्ताव दर्ता गराउन आग्रह गरेका थिए । त्यसका लागि उनीहरुले मंसिर १५ सम्मको समय सीमा दिएका छन् ।

’यसअघिका सबै समयसीमा सरकार आफैंले निर्धारण गरेको थियो,’ बैठकमा सहभागी सद्भावना अध्यक्ष राजेन्द्र महतोले भने, ’सरकारले बारम्बार मिति तोकेर तोकिएको मितिभित्र काम नगरेपनि मोर्चारगठबन्धनले औपचारिकरुपमा १५ दिनको समय दिएको हो।’

१५ दिनभित्र पनि सरकारले संशोधन प्रस्ताव दर्ता नगराए आन्दोलनमा होमिने उनको भनाइ थियो। ’हामीले औपचारिकरुपमै प्रधानमन्त्रीलाई १५ दिनको अल्टिमेटम दिएका छौं,’ महतोले भने, ’यसअघि हामीले सरकारलाई कुनै समयसीमा दिएका थिएनौं। १५ दिनभित्र पनि  संशोधन प्रस्ताव दर्ता नभए आन्दोलनको विकल्प रहँदैन।’

यसअघि शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार गठनको सय दिन पुगेको अवसरमा आयोजित कार्यक्रममा कात्तिक मसान्तभित्र संशोधन प्रस्ताव दर्ता गर्ने घोषणा गरेका थिए। सोमबार पनि गठबन्धनले बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले भोलिसम्ममा संशोधन प्रस्ताव गर्दा गराउने प्रतिबद्धता जनाएका थिए।

ज्ञापनपत्र बुझेपछि भएको बैठकमा गठबन्धनका नेताहरुले आफूहरुसँग प्रयाप्त छलफल नभएको भन्दै मंसिर १५ भित्रसम्म संशोधन प्रस्ताव दर्ता गराउन समय दिएका हुन्।

यो पनि हेर्नुहोस्-कार्तिक मसान्तभित्र संविधान संशोधन प्रस्ताव पेश नभए आन्दोलन : संघीय गठबन्धन