भूमिमा अधिकार नपाएसम्म आन्दोलन जारी रहने

भूमिहीनहरुले भूमिमा अधिकार नपाएसम्म आफ्नो आन्दोलन जारी रहने बताएका छन् ।

नयाँ संविधानमा भूमिअधिकार ग्यारेण्टी गर्न माग गर्दै सप्तरीमा गरिएको सभामा उनीहरुले भूमिसुधारको ग्यारेण्टी नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।

संविधानमा भूमिअधिकार ग्यारेण्टी गर्न माग गर्दै राष्ट्रिय भूमिअधिकार मञ्चले गरेको दबाब अभियान अन्तर्गत सप्तरीमा भएको सभामा भूमिहीनहरुले अझै पनि आफुहरुको हक सुनिश्चित गर्न दलहरु गम्भीर नभएको गुनासो गरेका हुन् ।

कार्यक्रममा प्रमुख अतिथि मञ्चकी केन्द्रीय अध्यक्ष गुलाबदेवी रामले प्रकृतिले दिएको भूमिमा समान अधिकार हुनुपर्ने बताउनुभयो ।

उहाँले भूमिहीनहरुको पहिचान गरी यो समस्या समाधान गर्ने गरी संविधानमा व्यवस्था गर्न माग गर्दै त्यसो नगरिए आन्दोलन जारी राख्ने चेतावनी समेत दिनुभएको छ। यस्तै मञ्चका संरक्षक बलदेब रामले वर्षौदेखि भूमिहीनको समस्या समाधान नभएको भन्दै अब बन्ने संविधानमा यसको व्यवस्था हुनुपर्ने माग गर्नुभयो ।

कार्यक्रममा सुकुम्बासी समस्या समाधान आयोगका जिल्ला अध्यक्ष मुरारी कार्कीले असोज २५ गते देखि सुकुम्बासीहरुको निवेदन संकलन गर्ने जानकारी दिँदै त्यसमा भूमिहीन सुकुमबासी र मञ्चले सहयोग गर्नुपर्ने बताउनुभयो ।