संघीय गठबन्धन र मधेसी मोर्चाद्वारा आन्दोलनका कार्यक्रम स्थगित

संघीय गठबन्धन र मधेसी मोर्चाले यसअघि घोषणा गरेका आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन् । मोर्चा र गठबन्धनको संयुक्त बैठकले सरकारसँग शनिबार साँझ भएको सहमति अनुसार आन्दोलनका कार्यक्रम स्थगित गरेको संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।

सरकारसँग सहमतिपछि आन्दोलनका कार्यक्रम स्थगित गर्ने बारे मोर्चा र गठबन्धनको बैठक तीनकुनेस्थित संघीय समाजवादी फोरमको मुख्यालयमा आइतबार बसेको थियो । बैठकले सरकारले आइतबार गरेका संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित गर्ने र स्थानीय तहको निर्वाचन दुई चरणमा गर्नेे निर्णय सकारात्मक भएको भन्दै आन्दोलन तत्काल स्थगित गर्ने निर्णय गरेको हो ।

मोर्चा र गठबन्धनको बैठकले सरकारले संविधान संशोधन गरुन्जेल आन्दोलन स्थगित गर्ने र संशोधन पारित भएमा आन्दोलन फिर्ता लिने निर्णय गरेको श्रेष्ठले जानकारी दिए । यसअघि मोर्चा र गठबन्धन स्थानीय निर्वाचनको विरोध गर्दै आमहड्ताल सहितका आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । मोर्चाको माग सम्बोधन गर्न सरकारले शोमबार संसद्मा संविधान संशोधन प्रस्ताव दर्ता गर्ने जनाएको छ ।