अमेरिकामा अत्यधिक चीसो, नदी, ताल र झरना सबै बरफ बने, आपतकालिन घोषणा

संयुक्त राज्य अमेरिकाको तीन राज्यमा अत्यधिक चीसोका कारण सात जनाको ज्यान गएको छ भने त्यहाँका नदी, ताल तथा झरनाहरु समेत जमेका छन् । न्यू योर्क र क्यानडाको सीमामा पर्ने प्रसिद्ध नायग्र फल्स् पनि जमेको छ ।

मध्यपश्चिमी भागमा भएको अत्यधिक चीसोका कारण तीन राज्यमा आपत्‌काल घोषणा गरिएको छ ।

समाचार अनुसार ध्रुवीय क्षेत्रबाट दक्षिणतिर आएको चिसोको असरका कारण तापक्रम अत्यधिक कम भएपछि त्यहाँको जनजीवन पूरै ठप्प हुन पुगेको छ ।

अत्यधिक चिसोका कारण चारैतिर हिमपात भएको छ र हिउँ जम्न थालेपछि अमेरिकाका चार राज्य र वरपरको जनजीवन अस्तव्यस्त हुन पुगेको छ ।

शिकागो नगरमा रातिको समयमा तापक्रम माइनस ४० डिग्री सेल्सियसमा झरेपछि मानिसहरूलाई घरबाहिर नजान भनिएको छ । शिकागो इलिनोई राज्य र नजिकैका मिशिगन र विस्कन्सिन राज्यमा आपत्‌काल घोषणा गरिएको छ ।

मौसमविद्हरूका अनुसार ध्रुवीय क्षेत्रबाट दक्षिणतिर आएको हिउँयुक्त वायुको प्रभावका कारण अत्यधिक चिसो भएको हो । उनीहरूले त्यो असरलाई ुपोलार भोर्टेक्सु भनेका छन् । यो एक पुस्ताले मात्रै भोग्ने सकस हो भनिएको छ ।

ध्रुवीय चिसो हावाले अमेरिकी मध्यपश्चिमी र पूर्वी राज्यका थुप्रै स्थानको जनजीवन ठप्प बनाइदिएको छ । केही स्थानमा तापक्रम माइनस ४० डिग्रीमा झरेको छ । चिसोको प्रभावका कारण दक्षिणी राज्य एलाबामा र जोर्जियामा पनि हिमपात हुने भविष्यवाणी गरिएको छ ।

प्रभावित राज्यहरूमा सयौँ विद्यालय र कार्यालयहरू बन्द छन् । हवाई उडानहरू पनि रोकिएका छन् । शिकागो र वरपरका तालहरूमा हिउँ जमेको छ ।

मौसमविद्हरूका अनुसार ग्रेट लेक्स भनिने ठूला ताल रहेको क्षेत्रदेखि न्यू इङ्ग्ल्यान्ड वरपरका क्षेत्रमा चिसो मौसम अझै जारी रहन सक्छ। विस्कन्सिन र इलिनोईमा अत्यधिक हिमपात हुने अनुमान छ । मौसमविद्ले १० मिनेटसम्म कोही बाहिर चिसोमा बसे शरीरका अङ्गमा फ्रस्टबाइट अर्थात् हिउँले खाने जोखिम बढ्ने चेतावनी दिएका छन् ।

अमेरिकाले खोजेको विश्वव्यापी मुद्दामा नेपालको केन्द्रीय भूमिका कस्तो हो ?