आपतकालीन विमान अवतरण गर्न राजमार्गलाई धावनमार्गका रूपमा स्तरोन्‍नति

नीति तथा कार्यक्रम

आपतकालीन विमान अवतरण गर्न राजमार्गलाई धावनमार्गका रूपमा स्तरोन्‍नति

सरकारले अब राष्ट्रिय राजमार्गलाई नै धावनमार्गका रूपमा स्तरोन्नति गर्ने भएको छ। आगामी आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममार्फत राजमार्गका उपयुक्त खण्डमा आपतकालीन विमान उडान र अवतरण गर्न सक्‍ने धावनमार्गका रूपमा विस्तार गर्ने योजना अगाडि सारेको हो।

हाल सञ्‍चालनमा रहेका आन्तरिक विमानस्थलहरूलाई ठूला विमानहरू उडान र अवतरण गर्न सक्‍ने गरी विकास गर्ने पनि सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ। तेह्रथुमको चुहानडाँडालगायत हवाई सुविधा नपुगेका सम्भाव्य स्थानमा आन्तरिक विमानस्थल निर्माण गर्ने कार्यलाई प्राथमिकता दिने भएको छ। रात्रि उडानको सुविधा नभएका आन्तरिक विमानस्थलहरूमा पूर्वाधार निर्माण गरी रात्रिकालिन उडान सुरु गरिनेछ। हाल सरकारले विभिन्न सातवटा विमानस्थलमा यस्तो रात्रिकालिन उडान सुविधा पुर्‍याएको छ।

पर्यटक आउने प्रमुख देशसँग थप हवाई सेवा सम्झौता गर्ने भएको छ। नयाँ हवाई प्रवेश बिन्दुहरू र तद्नुरूप नयाँ हवाई मार्ग प्रयोगका लागि छिमेकी राष्‍ट्रसँग समझदारी एवं सम्झौता गरिनेछ। हाल सरकारले विभिन्न ३९ वटा देशसँग दुईपक्षीय हवाई सेवा सम्झौता गरेको छ। हवाई सेवा सम्झौता भएका मुलुकसँग नेपालका वायुसेवाले नियमित उडान गर्न सक्छ।

निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ७५ प्रतिशत र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ४० प्रतिशत निर्माण कार्य सम्पन्‍न भएको उल्लेख छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा सञ्‍चालन हुन थालेको छ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२१ को सुरुदेखि सञ्‍चालन गर्ने गरी निर्माण कार्यमा तीब्रता दिइने भएको छ। निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य शीघ्र प्रारम्भ गर्ने पनि सरकारले नीति तथा कार्यक्रममा जनाएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २४सै घण्टा सञ्‍चालन हुने व्यवस्था मिलाइने भएको छ। मौलिक परम्परा र संस्कृति झल्कने गरी यो विमानस्थललाई बुटिक अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा रूपान्तरण गरिनेछ। उपत्यका नजिकको उपयुक्त स्थानमा आन्तरिक विमानस्थल निर्माण गर्ने योजना पनि सरकारले अगाडि सारेको छ।

आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

नीति तथा कार्यक्रममाथि डा. भट्टराईको टिप्पणी- कार्यान्वयन नहुने सपना