आपूर्ति सहज बनाउनुको साटो पेट्रोल-डिजेलमा कोटा, बाइकलाई ५ लिटर मात्रै

दशैं संघारमै आइपुग्दा मुलुकमा इन्धनको हाहाकार मच्चिएको छ । केही दिनयता ट्यांकर चालकहरुको अबरोधले इन्धन आपूर्तिमा अबरोध आएपछि राजधानीमा इन्धनको हाहाकार मच्चिएको हो ।

सरकारले इन्धन आपूर्ति सहज गर्नुको साटो कोटा प्रणालीबाट वितरण गर्ने निर्णय गरेको छ पेट्रोल पम्पहरुमा लामो लाइन छ उपभोक्ताहरु हैरानीमा परेका बेला कोटा तोकेको छ ।

इन्धनको हाहाकार मच्चिने त्रासमा धेरैले स्टक गर्न खोजेपछि निगमले वितरण प्रणालीमा नियन्त्रण गरेको दावी गरेको छ । ढुवानी आपूर्ति असहज भएको भन्दै सरकारले पेट्रोल, डिजेलको विक्री वितरणमा कोटा तोकेको हो ।

नेपाल आयल निगमले पत्राचार गर्दै नेपाल पेट्रोलियम डिलर्स एसोसिएशन र वाग्मती पेट्रोलियम डिलर्स एसोसिएशनलाई तोकिएको कोटाअनुसार विक्री वितरण गर्न भनेको छ ।

निगमका अनुसार मोटरसाइकल, स्कुटरलाई बढीमा पाँच लिटर मात्र पेट्रोल दिन भनिएको छ । यस्तै अन्य हल्का सवारी साधन कार, भ्यान, आदीलाई बढीमा १५ लिटर पेट्रोल,डिजेलबाट चल्ने छोटो दुरीका सवारी साधनलाई बढीमा ५० लिटर र लामो दुरीका सवारी साधनलाई बढीमा १०० लिटरसम्म डिजेल उपलब्ध गराउन भनिएको छ ।

एम्बुलेन्स, स्कुल बस तथा सरकारी सवारी साधनलाई उच्च प्राथमिकताका साथ पेट्रोलियम पदार्थको विक्रि वितरण गर्न निर्देशन दिइएको छ ।

पेट्रोलियम पदार्थको ढुवानीको मुख्य नाका रक्सौल डिपोबाट २ असोजदेखि एक थोपा इन्धन भित्रिएको छैन । रक्सौल डिपोबाट इन्धन आयात रोकिने बित्तिकै काठमाडौंमा सबभन्दा बढी प्रभाव देखिने गरेको छ ।

निगमसँग पर्याप्त इन्धन स्टक गर्ने क्षमता नहुँदा दुई दिन ढुवानी रोकिनासाथ बजारमा अभाव सृजना हुने गरेको छ । सामान्यतः आयात रोकिँदाको अवस्थामा पनि ७ दिनका लागि पुग्ने इन्धन स्टक रहने निगमले बताउने गरेको छ ।

राजधानीमा इन्धनको हाहाकार, उपभोक्ताको लामो लाइन, ढुवानी सुचारु नगरे गाडी खोस्ने चेतावनी