आप्रवासीमाथि हरेक दिन १० वटा आक्रमण

जर्मनीमा गएको वर्ष आप्रवासीमाथि हरेक दिन झण्डै १० वटा आक्रमण भएको देखिएको छ ।

जर्मनीको आन्तरिक मामिला मन्त्रालयका अनुसार सन् २०१६ मा आप्रवासीमाथि दिनको १० वटाका दरले आक्रमण भएको जनाएको छ ।गएको वर्ष आप्रवासीमाथि भएका तीन हजार पाँच सय ३३ आक्रमणमा पाँच सय ६० जना घाइते भएका छन् ।

घाइते हुनेमा ४३ जना बालबालिका पनि छन् । आप्रवासीमाथि भएका धेरैजस्तो आक्रमण उनीहरुको आवास भन्दा बाहिर भएको मन्त्रालयले जनाएको छ । झण्डै एक हजार वटा आक्रमण भने उनीहरुको आवास क्षेत्रमै भएको छ ।

चान्सलर एन्गेला मर्केलले द्वन्द्वका कारण समस्यामा परेका देशका नागरिकका लागि जर्मनीमा शरण दिने नीति लिएपछि ध्रुविकरण बढेको छ । यसले घृणाको अपराध पनि बढेको छ । यसले गर्दा आतंककारी आक्रमणको खतरा पनि बढेको विश्लेषण गरिएको छ ।

जर्मनीले गएको वर्ष दुई लाख ८० हजार आप्रवासीलाई शरण दिएको छ । त्यसअघिको वर्ष ६ लाख भन्दा धेरैले जर्मनीमा शरण लिएका थिए । आप्रवासीको विषय आउँदो सेप्टेम्बरमा जर्मनीमा हुने संसदिय चुनावमा प्रमुख बन्ने अपेक्षा गरिएको छ ।