आफन्त गुमाउनेको पीडा : ‘आँखैअघि आमा र बहिनी बगे’

आफन्त गुमाउनेको पीडा

एकैपटक असह्य पीडाले सताउँदा मान्छे रुन पनि सक्दो रहेनछ ! मनमा गाँठो परेको वेदना आँसु भएर पोखिन पनि समय लाग्दोरहेछ! १७ वर्षे राजकुमार घोर्सानेका लागि पछिल्ला चार दिन यस्तै उकुसमुकुसपूर्ण रहे।

थाहा छैन, कलिलो मनमा परेको गहिरो चोट कसरी पुरिन्छ ! न राम्ररी बोल्नै सकेका छन्, न डाँको छाडेर रुन नै।शनिबार बिहान कनकाईको बाढीले आमा घनमाया र बहिनी कमलालाई एकैसाथ बगाएको कहालीलाग्दो दृश्यका एकमात्र साक्षी उनै हुन् । बगेको केही घन्टापछि आमाको शव फेला परेपछि उनी किरियामा बसेका छन् । उनका बाबुलगायत छिमेकी बहिनीको ‘शव’ खोज्न दिनहुँ हिँडिरहेका छन् ।

‘आज पनि बाबा र छिमेकी अंकलहरू बहिनीको शव खोज्न जानुभएको छ’, मंगलबार बिहान झापा गाउँपालिका २ स्थित घरको ‘थला’ मा आमाको मृत्युसंस्कारमा बसेका उनले नागरिकसँग भने । कसैले केही सोधे एक लाइनको जबाफ दिने अनि फेरि लामो मौनतामा डुबिहाल्ने राजकुमारको शैली उनको स्वभावभन्दा बिल्कुलै फरक छ । उनका आफन्तजनदेखि छिमेकीसम्मले गरेको अड्कल एउटै छ– आँखैअघि आमा र बहिनी गुमाएको गहिरो पीडाले यो कलिलो केटो उम्किन सकेको छैन । ‘त्यो दिनदेखि एकोहोरो जस्तो भएको छ’, उनका ठूलोबुबा दुर्गाबहादुरले भने, ‘मज्जाले रोइदिए पनि छातीको गाँठो त फुक्थ्यो तर के गरोस्, रुन पनि सकेको छैन ।’

उनका बुबा रोजगारीको सिलसिलामा लामो समयदेखि भारतको गुहावटीमा बस्दै आएका छन् । घरमा हजुरआमा, दुई बहिनी, आमा र उनीमात्रै थिए । अघिल्लो साँझ मात्रै ठूलोबुबाले हजुरआमा र सानी बहिनीलाई आफ्नो घर लगेका थिए । घरमा कमला, राजकुमार र आमामात्रै थिए ।

बिर्तामोडको कनकाई कलेजमा उतै डेरा बसेर व्यवस्थापन संकायमा कक्षा ११ पढिरहेका राजकुमार सधैं शुक्रबार घर आउँथे र शनिबार साँझ फर्कन्थे । यसपटक उनी बिहीबारै घर पुगेका थिए । उनका छिमेकी दाइले खोलामा धेरै ठूलो बाढी आएको खबर मोबाइलमा पठाएपछि उनी कलेज जानै सकेनन्, हान्निएर घर पुगे । लगातारको झरीले कतै निस्किन दिएन । घरैमा आमा र बहिनीसँग टिभी हेर्दै बसे उनी । शनिबार बिहान एक बजे राजकुमार एक्कासि चिच्याए, ‘मम्मी, खोला घरैमा आइपुगेछ, भागौं ।’ ‘के भन्छ यो’, आत्तिँदै उठेकी आमा पनि कहालिइन्, ‘मेरी बास्सै, खोलै पो आएछ त !’

छोराले निन्द्राबाट ब्युँझाएपछि खाटबाट तल ओर्लन खोज्दा उनका खुट्टा पानीमा छप्ल्यांग बजेका थिए । त्यसैले छोराको कुरा पत्याउन उनले समय कुर्नै परेन । छिमेकतिर पनि होहल्ला चलिरहेको थियो । त्यही बेला कसैले करायो ‘ए कान्छी ! गाईबस्तु खोलेर छोड्देऊ है, पानीले डुबाउला ।’ छोराछोरीलाई मोबाइल र पैसा पर्समा हाल्न अह्राउँदै घनमाया गोठतिर दौडिइन्, हतारहतार गाई र बाख्राका दाम्ला फुकालिदिइन् । केहीबेर अघिसम्म घरमा थोरैथोरै पसिरहेको पानी अब भंगालोमा परिणत भइसकेको थियो । ‘यहाँ बस्यो भने खोलाले बगाउँछ, जाऊँ दिदीकोतिर,’ छोराछोरीलाई उनले इसारा गरिन् ।

मुसलधारे झरी र निष्पट्ट अन्धकारबीच घनमाया छोराछोरी लिएर घरबाहिर निस्किइन् । नजिकै रहेको फुपू दिदीको घरलाई लक्ष्य बनाएर उनीहरु घरनजिकै आइपुगेको खोला तर्न थाले । घनमायाको एउटा हात छोराले र अर्को हात छोरीले समातेका थिए । ‘फुपूको घर पुग्न खोला तर्दै थियौं, बुने (कमला) को खुट्टा चिप्लिएछ’, राजकुमारले सुनाए, ‘ऊ त्यतिबेलै लडिछ, उसलाई त्यति बेलै पानीले डुबायो ।’ पानीको ठूलो भंगालो अनि रातको अन्धकार । ‘बुने डुबेपछि मम्मीले उसलाई तान्न भनेर मेरो हात छोड्नुभो,’ ज्यादै असजिलो स्वरमा उनले भने, ‘मेरो हात छोड्नासाथ मम्मी पनि डुब्नुभो, पानी खानुभएछ एकदमै आत्तिनुभो। म दुईजना भएकै ठाउँमा पुगें, दुवैले समात्दा म पनि डुबें ।’ सायद उनीहरु दुवैजना पानीबाट बाहिर निस्कने सहारा खोज्दै थिए ।

त्यही बेला घनमायाले राजकुमारलाई ‘बाहिर जा’ भन्न भ्याइन् । ‘मलाई त्यति भनेपछि मम्मी पूरै डुब्नुभो, बुने देखिनै छाडी । मलाई कहाँबाट इनर्जी आयो कुन्नि, पौडेर बाहिर निस्केछु ।’ बाहिर निस्कनासाथ उनले गुहार माग्ने ठाउँ कतै थिएन । छिमेकी कता भागे, पत्तो थिएन । मुसलधारे झरी रोकिएको थिएन । राजकुमार दौडेर नजिकैको झापा बजारमा रहेको प्रहरीचौकीतिर लागे । ‘सर, मेरो मम्मी र बहिनीलाई खोलाले बगायो, म पौडेर बाँचेर आएँ, खोजिदिनुप¥यो’, उनले प्रहरीलाई एकै सासमा अनुरोध गरे ।

चौकीमा एक्लै रहेका ती प्रहरीले सुरुमा पत्याएनन् । उनी झोक्किएपछि प्रहरीले रुखो उत्तर दिए, ‘सबै ड्युटीमा गए । म एक्लै छु । उज्यालो भएपछि आउनू !’ सहयोग माग्न पुगेको ठाउँबाटै यस्तो जबाफ आएपछि उनी फरक्क फर्किए । त्यस बेलासम्ममा साढे तीन भइसकेको थियो । ‘त्यसपछि बजारतिर कराउँदै हिँडें, चिनेकालाई बोलाउँदै हिँडें, झरीले होला, कसैले सुनेनन्’ राजकुमारले भने, ‘उज्यालो भएपछि गाउँले भेला भए। खोज्न थाले । बिहान नौ बजेतिर मम्मीको लास भेटियो । बुने त अझै बेपत्ता नै छे । सबै जना उसको लास भेटिएन भन्छन् । मलाई चाहिँ अझै पनि बुने आउँछे कि जस्तो लाग्छ !’

आजको नागरिकमा खबर छ ।

बाढीग्रस्त क्षेत्रमा प्राथमिकताका साथ राहत सामग्रीको ढुवानी