आफुलाई सर्वसम्मत गर्न देउवाले गरेको आग्रह पौडेलद्धारा अस्वीकार

कांग्रेस संसदीय दलको नेता चयनमा सभापति शेरबहादुर देउवाले रामचन्द्र पौडेललाई सहयोग गर्न आग्रह गरेका छन्। तर सर्वसम्मतीको प्रयास रामचन्द्र पौडेलले अस्वीकार गरेका छन्।

दलको नेतामा उम्मेदवारी दिने तयारी गरेका सभापति देउवाले आफूलाई समर्थनको माग गर्दै रमेश लेखक र गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता रामचन्द्र पौडेलसँग कुरा गर्न पठाएका थिए। देउवाको सन्देश सहित पौडेल निवास बोहराटार पुगेका लेखकले दलको नेतामा सर्वसम्मतीको गर्न आग्रह गर्दै उपनेतामा आफ्नो पक्षीय नेता पठाउन प्रस्ताव गरेका थिए।

‘दलको नेतामा सभापतिको नाममा सर्वसम्मती गरौं, उपनेतामा तपाईंको पक्षबाट जसलाई पठाए नि हुन्छ’, देउवाको प्रस्ताव उल्लेख गर्दै लेखकले भनेका थिए।

जवाफमा वरिष्ठ नेता पौडेलले पार्टी सुधारमा वर्तमान नेतृत्व असफल भएको बताउँदै दलको नेतामा देउवालाई सर्वसम्मत गर्न नसकिने जवाफ फर्काएका थिए। पार्टी सुधारमा देउवा असफल भइसके भन्ने हाम्रो निष्कर्ष हो। सभापतिको नाममा सर्वसम्मती हुन सक्दैन। उहाँले पदको लोभ छाड्ने हो भने अरु नाममा छलफल गर्न सकिने जवाफ पौडेलले  दिएका थिए।

वर्तमान नेतृत्व पूर्णतया असफल भएको निष्कर्ष सहित पौडेल पक्षीय नेताले सभापति देउवाले पदबाट राजीनामा दिनुपर्ने बताउँदै आएका छन्। देउवाको नेतृत्वमा पार्टीले निर्वाचनमा नमीठो हार ब्यहोर्नु परेका भन्दै पदबाट राजिनामा दिन पौडेल पक्षीय नेताहरुले पार्टी सभापतिलाई आग्रह गर्दै आएका छन्। तर देउवा पार्टीमा पूर्ण बहुमत भएको निष्कर्ष सहित दलको नेतामा आफैं अगाडि बढ्ने तयारीमा छन्।

दलको नेतामा सर्वसम्मतीको प्रयास असफल भएपछि कांग्रेसको निर्वाचनबाटै संसदीय दलको नेता चयन हुने भएको छ। पौडेल पक्षीय महामन्त्री सशांक कोइरालाले सर्वसम्मत भए मात्र दलको नेता हुने बताइसकेका छन्। सभापति देउवासँग पूर्व महामन्त्री प्रकाशमान सिंहले निर्वाचन लड्ने तयारी गरेका छन्। सोही अनुसार सिंहले पार्टीभित्र आन्तरिक गृहकार्य गरिरहेका छन्। दलको नेतामा उम्मेद्वारी दिने समय आज साँझका लागि निर्धारण गरिएको छ।

देउवा बलियो

नेपाली कांग्रेस समग्र निर्वाचनमा पराजित भए पनि पार्टीभित्र सभापति देउवा बलिया छन्। प्रत्यक्षतर्फ २३ र समानुपातिकबाट ४० गरी संसदीय दलको निर्वाचनमा ६३ जनाले मतदान गर्नेछन्।

देउवा पक्षीय नेता मिनबहादुर विश्वकर्माले संस्थापन पक्षसँग करिब ३९ मत रहेको दाबी गर्छन्। पौडेल पक्षले भने आफूहरुसँग २३ भन्दा बढी मत रहेको दाबी गर्छन्। दलको नेतामा कमजोर भए पनि सभापति देउवा विरुद्ध उपस्थिति देखाउन पौडेल पक्षले उम्मेदवारी दिने तयारी गरेको हो।

प्रधानमन्त्रीः भीमसेन थापादेखि शेरबहादुर देउवासम्म