सेनाबाट लुटिएका हतियार विप्लवको हातमा, आफूले जिम्मा नलिने : प्रचण्ड

पछिल्लो समय विस्फोटक गतिविधिमा संलग्न नेत्रविक्रम चन्द नेतृत्वको माओवादीको हातमा जनयुद्धकालमा सेनाबाट लुटिएका अत्याधुनिक हतियार रहेको तथ्य उजागर भएको छ ।

यी हतियार माओवादीले लुटेको भए पनि अब त्यसको जिम्मेवारी भने आफूले नलिने तत्कालीन माओवादी अध्यक्ष तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताउनुभएको छ ।

एक साताअघि मात्रै नेपाली सेनाले मात्रै प्रयोग गर्ने एम १६ र एलएमजी राइफल प्रहरीले धरानको पानमाराबाट बरामद गरेको थियो । यो घटनापछि अध्यक्ष प्रचण्डले तत्कालीन नेकपा माओवादीले सबै हतियार क्यान्टोन्मेन्टमा राखिसकेकाले त्यहाँ भन्दा बाहिरका हतियारको जिम्मा आफूले नलिने बताउनुभएको हो ।

सशस्त्र संघर्षका समयमा नेपाली सेनाको ब्यारेकबाट लुटेका हतियार प्रहरीले बरामद गरेपछि प्रचण्डले यस्तो स्पष्टिकरण दिनुभएको हो ।

अध्यक्ष प्रचण्डले सोमबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अतिवाद नियन्त्रण गर्न सरकारले गम्भीररूपले सोच्ने बताउँदै नेत्रविक्रम चन्द विप्लव समूहका गतिविधिमा राज्य गम्भीर हुनुपर्ने बताउनुभएको छ ।

प्रचण्डले विप्लवसँग सरकारले राजनीतिक सहमतिको प्रयास गरिरहेको बताउँदै सरकारले राजनीतिक रुपमा सहमतिको प्रयास गर्ने त्यसलाई कसैले मान्दैन भनेमा त्यो अतिवाद हो । सरकारले त्यसपछि प्रशासनिक ढंगले हल खोज्छ ।