आफैं वृद्धभत्ता बुझ्ने दुई सचिवसहित तीनजना विरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले किर्ते गरी सामाजिक सुरक्षा भत्ता आफैंले बुझेको आरोपमा रौतहटका तत्कालिन दुईजना गाविस सचिव र एक प्राविधिक सहायकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

रौतहटको साविक भसेढवा गाविसका सचिवहरु जवाहरलाल झा, जयचन्द्र जयसवाल र प्राविधिक सहायक अखलेन्द्रकुमार यादवले सामाजिक सुरक्षा भत्तावापत वितरण गर्नुपर्ने रकम आफ्नै वा अरु कसैको औठाछाप प्रयोग गरी आफैले बुझेको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।

उनीहरुले साविक भसेढवा गाविसको चालु तथा पुँजीगत खर्च हिनामिना, हानिनोक्सानी गरी तथा सामाजिक सुरक्षा भत्ताको रकम आफैले बुझिलिई सार्वजनिक सम्पत्तिको हिनामिना, हानि नोक्सानी, दुरुपयोग गरेको अख्तियारले जनाएको छ ।

अख्तियारले प्राविधिक सहायक यादवविरुद्ध ३३ लाख २४ हजार ३ सय ९१ रुपैयाँ, सचिव जवाहरलाल झाले ८ लाख ८१ हजार ३ सय ८५ र सचिव जयचन्द्रप्रसाद जयसवालले २ लाख ७१ हजार ८ सय ७५ रुपैयाँ हिनामिना गरेको दावीसहित मुद्दा दायर गरेको हो ।

विद्युत प्राधिकरणका लेखापालविरुद्ध ५२ लाख भ्रष्टाचार मुद्दा