आफै जोतिएर मकै रोप्दै किसान

मकै

फागुन महिना पहाडी भेगमा मकै रोप्ने समय हो । ठाउँअनुसार मकै रोप्ने चलन भिन्नभिन्न छन् ।

मकै नै मुख्य खेतीका रूपमा रहेको गोरखाको बारपाक, लाप्राक, गुम्दा र लापु गाविसमा मकै रोप्ने चलन अन्यत्रभन्दा फरक छ । यहाँ किसान आफैं गोरुले झै हलो तानेर मकै रोप्ने गर्छन् ।

बारपाक, स्नान, पोखरी, मान्द्रे, अलगंग, कुँजे, दुम्सिका, लाप्राक, गुम्दा, लप्सीबोट, यमगाउँ, सिङ्ला, खानीगाउँ, लापु, भीरकुना, ठाँटी, पैटुलगायतका गाउँमा अहिले किसानहरू गोरुले झैं हलो तानेर मकै रोप्ने काममा व्यस्त छन् ।

गुम्दा ५ लप्सीबोटका जीवन गुरुङका अनुसार गोरुले झैं मान्छेले हलो तानेर मकैको बिउ छर्ने चलन जिजुबाजेको पालादेखि चलिआएको हो । पुरानो परम्पराले अहिलेसम्म निरन्तरता पाएको छ । ‘मान्छेले हलो तानेर मकैको बिउ रोप्दा धेरै फाइदा हुन्छ, त्यसैले यो चलन अहिलेसम्म पनि चलिरहेको हो’, उनी भन्छन्, ‘खेती किसानी नछाडुन्जेल यो चलन छाड्दैनन् ।’ मान्छेले तानेर जोत्दा गोरुले तानेको भन्दा दोब्बर छिटो काम हुन्छ । ‘गोरुले तान्दा एक दिनमा करिब तीन रोपनीमा मात्र मकै रोपिन्छ । मान्छेले तान्दा छ, सात रोपनीमा मकै रोप्न सकिन्छ’, उनले भने । मान्छेले हलो तान्दा छेउकुना भेट्न पनि धेरै सजिलो हुन्छ । ‘गोरुले हलो तान्यो भने छेउकुना धेरै छुट्छ । मान्छेले तान्दा कतै पनि छुट्दैन’, उनी भन्छन् ।

मान्छेले हलो तान्दा बारी कम खुँदिने भएकाले पनि किसानले मान्छे लगाएर जोत्ने गरेका हुन् । ‘दुईवटा गोरुको चारवटा खुट्टाले बारी धेरै खुँदिन्छ तर मान्छेले तान्दा खुँदिन्नँ’, लाप्राकका मार्सिङ गुरुङ भन्छन्, ‘मकै रोपेको ठाउँमा कुल्चनु हुँदैन भन्ने हाम्रो चलन छ ।’

यस भेगको माटो बलौटे, मलिलो र खुकुलो छ । मकै रोप्नुअघि गोरु लगाएर एक पटक जोतिसकिएको हुन्छ । यो वर्ष मंसिरमै बाँझो जोत्ने काम सकियो । खेतला लगाएर डल्ला फुटाउने, माटो खुकुलो बनाइसकिएको हुन्छ ।

माघको अन्तिम साता वा फागुनको पहिलो हप्तातिर मकैको बिहे गर्ने चलन रहिआएको छ । बिहे गरेको मकैको बिउ सबैको घरको मकैको बिउमा मिसाएर मात्र मकै रोप्ने गरिन्छ ।

मान्छेले हलो तान्दा खासै थकाइ नलाग्ने अर्का स्थानीय धनबहादुर गुरुङको भनाइ छ । ‘यो बेला त यति धेरै रमाइलो हुन्छ कि दिनभरि हलो तान्दा पनि थकाइ लाग्दैन’, उनी भन्छन्, ‘बेसार राखेर पहेलो बनाइएको भात खाने चलन छ । मिठो खान पाइने, अनि बारीभरि त्यसरी नै मकै छर्ने युवा युवती धेरै हुन्छन् । त्यही रमाइलोले थकाइको थाहापत्तै हुदैन ।’ मिठोमिठो खाजा खान पाउँदा र युवा युवती हासीमजाक गर्दै काम गर्दा साह्रै रमाइलो हुने उनले बताए ।

मकै रोप्नुअघि मकैको बिहे गर्ने चलन हुन्छ भन्छन् मार्सिङ । माघको अन्तिम साता वा फागुनको पहिलो हप्तातिर मकैको बिहे गर्ने चलन रहिआएको छ । बिहे गरेको मकैको बिउ सबैको घरको मकैको बिउमा मिसाएर मात्र मकै रोप्ने गरिन्छ । ‘जुनपायो उही दिनमा मकै रोप्नु हुन्न’, धनबहादुर गुरुङ भन्छन् ‘जैसीले दिन हेरेर मात्र मकै रोप्न थालिन्छ । शनिबार, मंगलबार मकै रोप्नु हुँदैन ।’

बारपाकतिर दुई युवाले हलो तान्ने चलन छ भने बाँकी गाउँमा एकैजनाले तान्ने चलन रहेको मार्सिङ बताउँछन् । हलो तान्ने पुरुष र बिउ रोप्ने महिला नै हुने पुरानो परम्परा हो । १८ वर्षभन्दा मुनिका युवालाई हलो तान्न नदिने चलन पनि रहेको उनी बताउँछन् । मकै रोप्दाबाहेक एकोहोरो मकै गोड्दा र सिलाम छर्दा पनि मान्छेले हलो तानेर जोत्ने चलन रहेको स्थानीय बताउँछन् ।

आजको अन्नपूर्णमा खबर छ ।