आफ्नै कोठामा मृत भेटिए तेस्रो लिंगी- हत्याको आशंकामा एकजना पक्राउ

काठमाडौंको लाजिम्पाटमा एकजना तेस्रोलिंगी उनकै कोठामा मृत अवस्थामा फेला परेका छन् । उनको निधारमा चोट लागेका कारण मृत्यु शंकास्पद मानिएको छ र किटानी जाहेरीका आधारमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

समाचार अनुसार मृत्यु हुनेमा कास्की घर भई लाजिम्पाट बस्दै आएका ३१ वर्षीय जीवन गुरुङ छन् । मृत गुरुङको निधारमा चोट देखिएकाले तेस्रोलिंगी समाजले घटनालाई शंकास्पद मानेको छ ।

उनीहरुले दरबारमार्ग प्रहरीमा गुरुङसँगै बस्ने विदेश कार्कीविरुद्ध किटानी जाहेरी दिएका छन् । जसको आधारमा उनलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको छ ।

गत शुक्रबार मादक पदार्थ सेवन गरेर कार्कीले मृतक गुरुङलाई कुटपिट गरेको जाहेरीमा उल्लेख छ । त्यसबारे प्रहरीलाई समेत खबर गरिएको थियो । तर, पहिले अस्पताल लैजान सुझाइएपछि उपचारका लागि वीर अस्पताल लगिएको थियो ।

उपचारपछि गुरुङ फर्किएका थिए तर, त्यसबारे प्रहरीलाई केही जानकारी थिएन । एक्कासी शव भेटिएको खबर पाएपछि प्रहरी अनुसन्धानका लागि गुरुङको कोठामा पुगेको हो ।

महानगरीय प्रहरी वृत्त, दरबारमार्गका प्रमुख प्रहरी नायब उपरीक्षक विनोद शर्मा घिमिरेका अनुसार गुरुङको कोठामा उनको शव भेटिएको थियो ।

शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ । पोष्टमार्टम रिपोर्टपछि मात्रै मृत्युको कारण खुल्ने प्रहरीले बताएको छ ।