आफ्नो अनुहार संग मिल्ने मान्छे देखेपछि छक्क परिन यी कलाकार

अमेरिकी नायिका/गायिका स्कार्लेट जोहान्सनले आफ्नी ‘जुम्ल्याहा’ फेला पारेकी छन् । रेडिट डटकममा एक व्यक्तिले स्कार्लेटकै जस्तो अनुहार भएकी आफ्नी हजुरआमाको युवावस्थाको तस्बिर पोस्ट गरेपछि नायिका खुसी भएकी थिइन् ।हाल ७२ वर्ष पुगेकी ती महिलासँग पार्टी गर्न मन लागेको स्कार्लेटले बताएकी छन् ।

‘यो भिडियो हजुरआमाका लागि,’ हालै रिलिज गरिएको भिडियो म्यासेजमा स्कार्लेटले भनेकी छन्, ‘तपाईंको तस्बिर बाहिर आएदेखि मलाई इमेल र म्यासेजको ओइरो लागेको छ । हामी साँच्चै दुरुस्त देखिँदा रहेछौं ।’

आफू वृद्ध भएपछि जोराल्डिन नाम गरेकी ती महिलाजस्तै देखिने स्कार्लेटको अनुमान छ । ३२ वर्षे नायिकाले जेराल्डिनसँग निजी भेटघाट गर्न चाहेको पनि खुलाएकी छन् । तस्बिरमा ती महिला मद्यपान गरिरहेकी देखिन्छिन् । स्कार्लेटले ‘सँगै बसेर पिऊँ न’ भन्दै अनुरोध गरेकी छन् । ‘म तपार्इंको ड्रंक फेस (मातेपछिको अनुहार) हेर्न चाहन्छु,’ नायिकाले भनेकी छन्, ‘मेरो पनि ड्रंक फेस तपार्इंसँग सेयर गर्न मन छ ।’

स्कार्लेटले जेराल्डिनलाई आफ्नो फिल्म ‘रफ नाइट’ को प्रिमियरमा निम्तो पनि दिएकी छन् । ‘बारमा भेटौंला’ भनिएको उक्त भिडियो हेरेपछि जेराल्डिन हर्षित नहुने कुरै भएन । ‘हामी स्कार्लेटको निम्तो मान्न तम्तयार छौं,’ जेराल्डिनका नातिले भनेका छन्, ‘हजुरआमाका त भुइँमा खुट्टा छैन ।’यसै पनि स्कार्लेटका जुम्ल्याहा भाइ छँदै छन् । सन् १९८४ नोभेम्बर २२ मा जन्मेका उनीहरूबीच तीन मिनेटको अन्तर छ । स्कार्लेट जेठी हुन् ।
-कान्तिपुर बाट