आफ्नो बच्चालाई गाली गर्दा १५ महिना जेल सजाय

आफ्नो बच्चालाई दुव्र्यवहार गरेको आरोपमा नर्बे प्रहरीले एक भारतीय दम्पतीलाई पक्राउ गरेको छ । पक्राउ परेका दम्पतीलाई कम्तीमा १५ महिना कारागारमा राख्न वकिलहरूले प्रस्ताव गरेका छन् ।

 

पक्राउ परेका दम्पती भारतको आन्ध्रप्रदेश घर भई हाल नर्बेको राजधानी ओस्लोमा रहँदै आएका सफ्टवेयर इन्जिनियर भी चन्द्रशेखर र उनकी पत्नी अनुपमालाई यस्तो दण्डसजाय दिन लागिएको पिटिआईले जनाएको छ ।

 

ओस्लो प्रहरीले विज्ञप्ति जारी गरी उनीहरूलाई पक्राउ गरेको पुष्टि गरेको छ । भारत भाग्ने आशंकाका कारण उनीहरूलाई तत्काल पक्राउ गरिएको प्रहरीले जनाएको छ । मुद्दाको सुनुवाइ तथा फैसला आगामी ३ डिसेम्बरमा हुने भएको छ ।

 

पक्राउ परेका दम्पतीमाथि प्यानल कोडको सेक्सन-२१९ बमोजिम कारबाही गरिने प्रहरीले जनाएको छ । कुनै पनि बालबालिकालाई दुव्र्यवहार गरे वा धम्की दिएमा सेक्सन-२१९ बमोजिम कारबाही गर्ने व्यवस्था छ ।

 

बालअधिकारका लागि कार्य गर्दै आएका वकिलले बालकका बुबालाई १८ महिना तथा उनकी आमालाई १५ महिना कारबासको सजाय सुनाउन प्रस्ताव गरेको समाचारमा उल्लेख छ ।

 

चन्द्रशेखरका सात वर्षीय छोराले आफूलाई बुबाआमाले बारम्बार भारत पठाउने धम्की दिएको क्लास टिचरलाई बताएपछि चन्द्रशेखर दम्पती पक्राउ परेको हाल भारतको हैदराबादमा रहेका उनका भतिजा भी शैलेन्द्रले जनाएका छन् । बच्चाले स्कुलबसमा पिसाब गरेको खबर घरमा पुगेपछि उनले दोस्रोपटक यस्तो व्यवहार भारत पठाउने धम्की छोरालाई दिएका थिए ।

 

यसअघि नर्बेको नियम-कानुनबमोजिम बालबच्चाको पालनपोषण नगरेको भन्दै सरकारी संस्थाले भारतको कोलकाता घर भई नर्बे बस्दै आएका एक भारतीय दम्पतीबाट उनीहरूको एक छोरा र एक छोरी खोसेको थियो ।