आफ्नो सार्वभौम मताधिकारको निर्धक्कका साथ प्रयोग गर्न प्रधानमन्त्रीको अपिल

भोली हुन लागेको स्थानीय तहको पहिलो चरणको निर्वाचनमा आफ्नो सार्वभौम मताधिकारको निर्धक्कका साथ प्रयोग गर्न सम्पुर्ण मतदातालाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आग्रह गरेका छन् ।

शनिवार एक विक्षप्ती जारी गर्दै लामो संघर्ष र बलिदानबाट प्राप्त संविधान कार्यन्वयनको यो मह्तवपुर्ण घडिलाई उपयोग गर्न प्रधानमन्त्रीले आग्रह गरेका हुन् । उनले जारी गरेको विक्षप्तीमा पहिलो चोटी नेपालको सार्वभौम अधिकार नेपाली जनतामा निहित भएको र यसको प्रयोग गर्ने उत्कृष्ट विधिनै निर्वाचन भएको  भन्दै मतदानमा भाग लिन मतदातालाई आग्रह गरेका हुन ।

उनले २० वर्षपछि नभई नेपाली इतिहासमानै पहिलो पटक स्थानीय तहको निर्वाचन हुन लागेको बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको चुनावमा सक्रियरुपमा भाग लिएर आफ्नो सार्बभौम मताधिकार प्रयोग गर्न सबै मतदातालाई अपिल गरेका छन् ।

चुनावलाई ऐतिहासिक अवसर भन्दै उनले  यो चुनाव नेपालको शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउने कडीको रुपमा रहेको बताएका छन् । पहिलोचोटी हुन लागेको यो चुनावबाट सिंहदरवार केन्द्रित अधिकार र स्रोत साधन जनताको घर आँगनसम्म पुर्‍याउनका लागि ढोका खुल्ने प्रचण्डको विश्वास छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सरकार र निर्वाचन आयोगले कुनै कसर बाँकी नराखेको प्रधानमन्त्री प्रचण्डले बताए ।

‘मूलतः शान्ति सुरक्षाको दृष्टिले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न दरिलो र भरपर्दो सुरक्षा प्रवन्ध मिलाइएको छ । तसर्थ सबै मतदाता दिदी बहिनी तथा दाजुभाइहरुलाई यस ऐतिहासिक अवसरको सदुपयोग गर्दै कुनै भय र संकोच विना निर्धक्क भई आफूले चाहेका उम्मेदवारहरुलाई मत खसाल्न हार्दिक अनुरोध गर्दछु,’ प्रधानमन्त्री प्रचण्डले जारी गरेको बिज्ञप्तिमा भनिएको छ ।

समावेशिताको दृष्टकोणले पनि यो चुनाव ऐतिहासिक रहेको भन्दै उनले शदियौंदेखि चुलो चौकामा सीमित नेपाली महिलाहरुको सशक्तीकरण र नेतृत्व निर्माणका दिशामा ऐतिहासिक कोशेढुंगा हुने बताएका छन् । प्रचण्डले भनेका छन्, ‘धेरैले लगभग बीस वर्षको अन्तरालपछि स्थानीय चुनाव हुन गइरहेको भन्ने गरेको पाइन्छ । हो, स्थानीय स्तरमा जन प्रतिनिधि चुन्ने अर्थमा यस्तो चुनाव लामो समय पछि हुन गइरहेको छ । तर म के स्पष्ट पार्न चाहन्छु भने यस्तो प्रकारको चुनाव नेपालमा पहिलोचोटि हुँदैछ ।’

केन्द्रिकृत राज्यसत्ताको अन्त्य गरी संघात्मक शासन व्यवस्थाको स्थापनाका लागि चुनाव कोशेढुंगाका सावित हुने उनको भनाइ छ । ‘यो चुनाव नेपालको शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउने कडीका रुपमा रहेको छ भने अर्कातिर स्थानीय लोकतन्त्रलाई सुदृढ गर्दै लामो समयदेखि जरा गाडेको एकात्मक र केन्द्रीकृत राज्यसत्ताको अन्त्य गरी संघात्मक शासन व्यवस्थाको स्थापनाका लागि एउटा कोशेढुंगाका रुपमा लिन सकिन्छ ।,’ प्रधानमन्त्री प्रचण्डले भनेका छन् ।

आर्थिक वृद्धिदर ७.५ प्रतिशतः प्रधानमन्त्री दाहाल