आफ्नो स्वास्थ्यस्थितिप्रति प्रधानमन्त्री ओलीको टिप्पणी- “म १५ वर्ष अघि बिरामी थिएँ”

सिंगापुरबाट उपचार गरेर फर्केको केही दिनमै प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएपछि अनेक टिप्पणी सुनिए र उहाँलाई पुनः सिंगापुर लैजाने तयारी भएको समाचारहरु पनि बाहिर आए ।

बिहिबार बिरामी परेकै कारण नेकपाको बैठक नबसेको समाचार बाहिरिएका बेला शुक्रबार भने प्रधानमन्त्री ओली तन्दुरुस्त भएर पस्थित हुनुभयो र भन्नुभयो “म अहिले हैन १५ वर्षअघि बिरामी थिएँ ।”

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा गृहजिल्ला झापाका जनप्रतिनिधि तथा पार्टी कार्यकर्ताहरुसँगको भेटमा प्रधानमन्त्री ओलीले आफू तन्दुरुस्त रहेको बताउँदै आफूलाई ज्वरो आएर आराम गर्दा बाहिर हावा हालेर समाचार बनेको भन्दै सो टिप्पणी गर्नुभएको हो । प्रधानमन्त्री ओली गम्भीर बिरामी भएको भन्दै समाचारहरु बाहिरिएपछि शुक्रबार प्रधानमन्त्रीको निजी सचिवालयले झापाका कार्यकर्तासँग भेटेका छन्, जसको तस्वीर सार्वजनिक गरेको हो ।

प्रधानमन्त्री ओलीसंगको भेटपछि दमक नगरपालिकाका उपमेयर गीता अधिकारीले प्रधानमन्त्री ओलीको भनाई उदुधृत गर्दै भन्नुभयो ‘म १५ वर्षअघि विरामी थिएँ, अहिले होइन’ हिजो ९९ डिग्री ज्वरो आएर एकछिन आराम गरेको थिएँ तर, बाहिर त हाँगा हालेर खबर आए ।’

विहान झापालीहरुसँगको भेटपछि ओली नेकपा केन्द्रीय सचिवालय बैठकको अध्यक्षता गरिरहेका छन् । नेकपा सचिवालय बैठक बालुवाटारमा बसिरहेको छ ।
पटक(पटक स्थगित हुँदै आएको बैठक शुक्रबार बिहान ११ बजेपछि बालुवाटारमा बसेको हो । हिजो बिहीबार डाकिएको बैठक प्रधानमन्त्री केपी शर्मा ओली बिरामी भएपछि औपचारिक रूपमा सुरू नै नभएर स्थगित भएको थियो ।

प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार आएपछि बैठक दिउँसो डाकिएको थियो । तर प्रधानमन्त्री ओलीको सक्रियताल बैठक बिहानै बसेको हो । सचिवालय बैठक बस्नुअघि अहिले प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको थियो ।