नेविसंघ नेताले आमरण अनशन तोडे

विभिन्न माग गर्दै पार्टी कार्यालय सानेपामा आन्दोलन थालेका नेविसंघका नेताहरुले बुधबार अनशन तोडेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा, कृष्णप्रसाद सिटौला लगायतका नेताहरुले जुस खुवाएर अनशन तोडाएका हुन् ।

महाधिवेशन प्रतिनिधि र जिल्ला नेतृत्व भागबन्डाको आधारमा छनौट गरिएको भन्दै  विद्यार्थी नेताहरु गणेश सापकोटा र रत्नहरी ढुंगेल आमरण अनशनमा बसेका थिए । उनीहरुको अवस्था नाजुक भएपछि बागबजार स्थित मोडल अस्पतालमा भर्ना गरिएको थियो ।उनिहरुले शनिबारदेखि आमरण अनशन थालेका थिए ।

प्रतिनिधि विवाद मिलेपछि उनीहरुले अनशन तोडेका नेविसंघ नेता कुन्दन काफ्लेले जानकारी दिए । नेतृत्व विवाद भएका जिल्लाहरुमा छानविन गर्ने र आवश्यक देखिए खालि गर्ने सहमति भएको छ । नेविसंघको ६४ जिल्लामध्ये ११ जिल्लामा विवादका कारण नेतृत्व चयन गरिएको छैन । नेतृत्व चयन भइसकेका थप १३ जिल्लामा पनि विवाद छ ।

यो पनि पढ्नुहोस्

देउवाले खुट्टा पसार्दा रामचन्द्र भाउन्न, नेविसंघमा कस्को पल्ला भारी ?