आमाको मुख हेर्ने दिनमा गायक शिशिर योगीले लिएर आए ‘आमा’

गायक शिशिर योगीको स्वरमा ‘आमा’ सार्वजनिक भएको छ । आमाको मुख हेर्ने दिन अर्थात मातृ औंशीको अवसर पारेर अर्जुन पराजुलीको शब्द, बीबी अनुरागीको सङ्गीत र शिशिर योगीको स्वर रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो ।

सोमवार राजधानीको महराजगंज स्थित एमवेस्डर रेस्टुरेन्टमा बरिष्ठ अधिबक्ता तथा गायक, गीतकार तथा सङ्गीतकार भीमार्जुन आचार्य ‘अर्जुन मिलन’को प्रमुख आतिथ्यतामा गीत सार्वजनिक गरिएको थियो ।

मिलाप मासिकको आयोजनामा भएको कार्यक्रममा भीमार्जुनले शिशिर योगीको स्वरमा जादु रहेको भन्दै अर्जुन पराजुलीको शब्द पनि त्यत्तिकै शसक्त रहेकोले गीत निकै राम्रो बनेको बताए ।

गायक शिशिर योगीले यो गीत गाउदा आफू धेरै चोटी भक्कानिएको बताउँदै सार्वजनिक समारोहमा यो गीत गाउँने प्रयास गरेपनि गाउन नसकेको  बताए । संजय पाण्डेले निर्देशन गरेको गीतको भिडियोमा सरोज खनाल, रश्मी भट्ट, सुस्मिता कार्कीको अभिनय रहेको छ ।

चक्र महर्जनको छायाँकन रहेको गीतको भिडियोलाई दिनेशजंग रानाले सम्पादन गरेका छन् । भिडियो बेष्ट टोन म्युजिकको युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।