आमाको वृद्धभत्ताको पैसाले मात्र भोट गरेर कहाँ माथी पुग्नु : ब्रत गन्धर्भ

ब्रत गन्धर्भ नेपालको पहिलो महिला सारङ्गी वादक हुन् । उनले संगीतलाई राम्रोसँग बुझेकी छिन् र त्यसैले उनको पहिचान सारङ्गी मात्र होइन उनी एउटा कुशल संगीतकार र गायिका पनि हुन् ।

पछिल्लो समय संसारकै सबैभन्दा उत्कृष्ट गायन रियालीटी शो ‘द भ्वाईस’ को नेपाली फ्रेन्चाईज ‘द भ्वाईस अफ नेपाल’ को मञ्चमा पुगेपछि उनको चर्चा थप चुलिएको छ ।

दुर्भाग्य उनी ‘द भ्वाईस अफ नेपाल’ को टप २४ बाट बाहिरिएकी छिन् । ‘द भ्वाईस अफ नेपाल’ को डिजिटल अडिसन पार गर्दै टप २४ सम्म पुगेकी उनी दर्शकको भोटको कमीले गर्दा मञ्चबाट बाहिरिनु परेको थियो । उनी आफ्ना प्रतिस्पर्धीले परिवार, आफन्त र साथीभाइबाट राम्रो साथ र सपोर्ट पाएको बताउँछिन् । तर आफूले भोट किन्न नसकेको दुःखेसो व्यक्त गर्छिन् । उनको भोटका लागि आमाले आफ्नो वृद्धाभत्ताको पैसा समेत खर्च गरेको भिजन नेपाल एचडीसंगको कुराकानीका क्रममा बताइन ।

आफ्नो प्रस्तुति, दर्शकहरुको साथ र सपोर्ट राम्रै पाएकोले टप १० सम्म पुग्छु भन्ने आशा पालेकी बर्त सानो उमेरमा बाध्यताले सारङ्गी बजाउँदै घरघरमा हिड्ने गरे पनि अहिले त्यही सारङ्गीले नै आफूलाई संसारभर चिनाएको बताउँछिन् । बाल्यकालदेखि नै अनेक अभाव झेल्दै आएकी गन्धर्भ भावुक हुँदै भन्छिन्– अहिले मेरो नाम संसारले चिनेको छ तर अझै पनि मेरो जीवन जसोतसो मात्र चलेको छ ।’