आमाको सम्झनामा…

– लक्ष्मण कार्की

बुढ्यौलीले केश पाक्दै थियो, आँखामा बादल लागिसकेको थियो । गालामा मुजा पर्दै थियो । खोकि र दमको रोगी भइसकेकी थियौ, कमजोरीले राति सुत्दा खुट्टाको पिडुला फर्किएर मरौला जस्तो हुन्छ भन्थ्यौ । राती निन्द्रामा ऐठन भएर बर्बराउथ्यौ । राती ज्यान दुखेर एैयैया गर्दै हर फर्काउथ्यौ । भरपर्दो सहारा थिएन घरमा ।

तिमीलाई बिहान बेलुका मिठो मसिनो खाना बनाएर ख्वाउनुपर्ने अवस्थामा परिस्थितिले प्रदेश हिड्ने बनायो । बुढेसकालमा सहारा नहुदा पनि तिमीले मन गाठो पारी गहभरि आँसु राखेर मेरै मनोकांक्षा पुरा होस् भन्दै बिदा दिएको भर्खरै होकि जस्तो लाग्छ । अझै घरको पिडीमा म आउने दिन कुरेर बसेकी छौ कि जस्तो पनि लाग्छ तर बास्तवमा तिमी हामीबाट टाढा गईसकेकी छौ ।

रोजगारीका लागि बिदेश उछिट्टिएका धेरै प्रदेशीको परिस्थिति यस्तै हुन्छ मनले जे चाहे पनि परिस्थितिले पुरा हुन दिदैन । यतिसम्म कि मर्ने बेला सुनपानी छर्कन पाईदैन, आफ्नै प्रिय मान्छेको अन्तिम दर्शन पाउनबाट समेत बन्चित भइन्छ । तिमीले मेरो काखमा प्राण त्याग गर्न पाइनौ भनेर भन्दा पनि बढी बाबाको ओच्छ्यान कुरेर बाबा मरेकै घरमा मर्ने तिम्रो ईच्छा पुर्याईदिन नसकेकोमा कैयौ पटक आत्मग्लानि हुन्छ । माफी माग्नुभन्दा अरु केही उपाए नै छैन ।

आज आमाको मुख हेर्ने दिन आमा जिउँदा हुनेहरुका लागि बिशेष नै होला ।बर्ष दिन पहिलासम्म फोनबाट भए पनि आशीर्वाद लिएको याद छ तर यसपालीबाट त त्यो आशीर्वाद लिनबाट बन्चित भैसकेको रहेछु । तिमीलाई सम्झे, आज एकपटक फेरी तिमी हामीमाझ नभएको महसूस गरे, मन दुख्यो एकपटक, सम्झे तिम्रा संघर्षका दिन, तिम्रो माया, अनि तिम्रो अभावमा आफ्नै सबैभन्दा ठूलो शभेच्छुक गुमाएको महशुस गरे ।

मलाई याद छ बाबाले हामीलाई छोड्दा हामी सबै रोयौ, धेरै रोयौ । रुनु भनेको मन अलि हलुका बनाउनु पनि रहेछ क्यारे । बिस्तारै सबै सहज भैसकेको थियो । तर जब तिमी यो संसार छोड्यौ भन्ने ख़बर यो प्रदेशमा पाए मेरो संसारै लुटिए जस्तो लाग्यो । मैले केही उछार पाईन, धेरै ठूलो पीडा मनमा बजारिदा त रुन पनि नसकिदो रहेछ क्यारे । आफै सबै बन्दोबस्त गरेर घरमा पुगेर जे जे गर्नु गरेर फिर्ता भए । काठमाण्डौ फर्केपछि बल्ल तिमी हामीदेखि टाढा भएको महशुस गरें, डाकै छोडेर रोएछु । त्यसपछि पनि प्रदेशमा बेला बेला सम्झेर मन अमिलो गराइरहन्छु तर तिम्रो मायाको पूर्ति हुन सक्दैन । तिम्रा याद मात्र मनमा झन झन तिखारिएर आउछन् ।

ठूलो परिवार, हाम्रो पालन पोषणका लागि सबेरै उठेर आफूभन्दा ठूलो गाग्रीमा पानी ल्याएर दैलो कुचोसंगै शुरुवात गरेका दैनिकी, आखा टर्राउने धुँवामा सबै परिवारलाई खाना पकाउने जिम्मा । कसौटीमा रहुन्जेल हामीहरुलाई थपि थपि ख्वाएर पुगे खाने नपुगे खाली भाडो मात्र पुछपाछ पारेर खादा पनि अघाउने तिमीलाई सजिलै बिर्सन कहा मन मान्छ ? दिनभरिको मेला पात त्यहिमाथि रातमा ढिकी जातो गरेर हाम्रो चारो जुटाउनुपर्ने त्यो दुखमा पनि हामीलाई माया दिने आमा तिम्रा संघर्षका दिन कम पीडादायी थिएनन् । असहजतामा पनि तिम्रो सहनशिलता महान थियो ।

हामी सन्तानको लागि तिमी कति कोमल मनकि थियौ । बिभिन्न कारणले घरबाहिर हुँदा घरमा केही चोखो मिठो पाक्दा पनि छिमेकीसंग छोरो आएर घाटीमा बस्यो निलिदै निलिएन भनेर रोएको खबर सुनेको भर्खर जस्तो लाग्छ । संगै घरमा हुँदा चार पाउ मासु पाक्दा पनि छानी छानी फलमासु हाम्रा भागमा फालेर आफूले हड्डी चपाउँदा पनि खुसी भएको हिजै हो जस्तो लाग्छ । म काठमाण्डौ बस्दा सुन्तलाको बोटमा फलेका सुन्तलाका ठुल्ठुला दाना समेत कसैलाई खाना नदिएर मेरो नाममा जोगाएर राखेको सम्झना छ । आँगन अगाडि काँक्राको झालमा काँक्राले बतिलो लाउने बित्तिकै चोकेमा राखेर मेरै नाममा जोगाएर राखेको बिर्सनै सकेको छैन । तिमी हुँदा र नहुँदा कति फरक हुँदोरहेछ । यस बर्ष पनि सुन्तलाले फल त फलायो होला, काँक्राको झालले पनि अबश्य काँक्रो फलाए होला तर चोकेमा राखेर जोगाईदिने तिमी नै त रहिछौ तिम्रो सन्तान प्रतिको माया पो रहेछ । आज ती याद झलझली घुमे आँखा वरिपरी । तिमी हामी सामु छैनौ भन्ने थाहा छ आमा तर मनले बिर्सन खोजेर पनि बिर्सन सकेको छैन ।

तिमीले हाम्रा खुसीका लागि के गरिनौ, कसैले मिश्री नरिवल चकलेट खान दिदा पनि पटुकामा घुसारेर ल्याएर खुवायौ । बन पाखामा फलेका एेसेलु, काफल पनि एक्लै निल्न सकिनौ पातमा बेरेर ल्याएर भए पनि चखायौ ।तिमीले हामी राम्रो भएको खुसी भएको देखेर नै आफस् खुसी भएको मान्यौ, महिनावारी हुँदा निस्केको रगतले टाटा बसेको थोत्रो लुंगी धोएर लगायौ, कुहिनामा च्यातिएको चोलोमा टालो हालेर निर्वाह गर्यौ । धुजा परेको पटुकीले लुंगी अडायौ, छिनेका चप्पलमा डोरीले अल्झाएर गुजारा गयौ । तर मामाघरमा चाडबाडमा दिएको दक्षिणा समेत हाम्रा खुसीका ख़ातिर खर्च गयौ, आफ्ना खुसीलाई तिलान्जलि दिदै तिम्रो त्यो त्यागले लागेको ऋण चुक्ता गर्न सकिएन नै । आजका दिनमा सम्झनु बाहेक ।

आमा तिम्रा धेरै सम्झनायोग्य धेरै कुरा छन लेखीसाध्य छैन नै, आज हामीदेखि टाढा धेरै टाढा छौ । हाम्रो संसार नै फरक छ । जान अन्जानमा गरेका गल्तिको लागी माफी माग्न समेत सम्भव छैन । तर तिमीले हाम्रा लागि गरेको त्याग मानसपटलमा झनझन ताजा भएर बसेका छन् । तिम्रो शरीर मरेको हो । तिम्रो याद मरेको छैन । हृदयमा तिम्रो सम्मान छ । तिमीप्रतिको सम्मानमा कहिल्यै कमि हुने छैन । मनमा सधै जिवीत भएर बस्ने छौ । आमा तिमी मरेकी छैनौ । सधै जिवित भएर सम्मानपूर्वक रहने छौ यो मनभित्र । आजको दिनमा तिम्रो स्वर्गमाबास होस् यदि अर्को जन्म छ भने तिम्रै छोरो भएर जन्म लिन पाउँ भनेर अज्ञात भगवानसंग हात जोड्नु सिवाए अरु के नै गर्न सकें र।