आमाबाबुबिहिन प्रेम भन्छन् : मेरो हात जसरी पनि निको पार्नुपर्यो

हात

दुधे उमेरमा आमाबाबा गुमाएका प्रेम सिंह विद्यालयको पढाइ र घरको काम गर्दागर्दै हात भाँचिएपछि हैरान भएका छन् । ११ वर्षीय प्रेमसँग अहिले उपचार गर्ने पैसा पनि छैन, न त उनीसँग सहयोग गर्ने आमाबाबा नै छन् ।

जाजरकोटको डोल्पा जिल्लासंग सिमाना जोडिएको भगवती गाविस–८ को निकै विकट बस्ती औलगुत्तामा उनी जन्मिएका हुन् । उनी जन्मेको एक वर्ष नबित्दै २०६३ भदौ १० गते उनकी आमा रुपसरी सिंहको पखालाले मृत्यु भयो । बाबा तिलक सिंह उपचारकै अभावमा २०६९ माघ १५ गते मृत्यु भएको घाइते बालक प्रेम बताउँछन् । आमाबाबु वितेपछि उनी काका रामबहादुर सिंहसंगै बस्दै आएका छन् । काका रामबहादुरको पनि आर्थिक अवस्था राम्रो छैन

बालक प्रेमको बिदाको समयमा आफ्नो जग्गा जोत्दै गर्दा गोरुले हानेर हात भाँचिएको थियो । गत असोज २ गते उनको हात भाँचिए पनि आर्थिक स्रोत नहुँदा उपचार हुन सकेको छैन ।

सबै साथी अहिले घर नजिकैको श्री भगवती निम्न माध्यमिक विद्यालयमा पढ्न जान्छन् । उनी भने घरको काम पनि गर्न सक्दैनन्, विद्यालय पनि जान नसक्ने अवस्थामा छन् । उनी अहिले कक्षा ५ मा पढ्ने विद्यार्थी हुन् । “विद्यालय गएर लेख्न नसक्ने भएपछि किन विद्यालय जानु ? सबैले हेप्छन्, आमाबाबा छैनन् कसले तँलाई उपचार गर्छ ? भनेर साथीहरु हेप्छन्”, प्रेमले रुँदै भने ।

“एकजना भिनाजु हुनुहुन्छ खगेनकोटमा, कहिलेकाहिँ उहाँको घरमा जान्छु र केही पैसा ल्याएर खर्च गर्छु”, प्रेमले भने । “जन्मदर्ता नै छैन प्रेमको, कसले गरिदिन्छ र ?” उनका भिनाजु लक्ष्मण सिंह भन्नुहुन्छ ।

उनको हात देखेर हैरान हुन्छ, गाउँका काका, दाजुभाइले कावरी लगाऊ भन्छन्, हात बिग्रेला भनेर लगाउन दिएको छैन, लक्ष्मणले भन्नुभयो ।“आमाबाबाको फोटो हेरेरै बिहान, बेलुका रुन्छु, आज राति बाबा सपनामा आएर अस्पताल लानुभएको थियो । पत्रकार दाइ, मलाई सहयोग गर्नुपर्यो, म तपाईंको घरमा नै बसौँला बरु”, उनी भन्छन्, “मेरो हात जसरी पनि निको बनाउनु पर्यो ।”

सात बर्षीय बालकले गाए यस्तो गितः टुहुरो यो छोराको मायालाई तोडेर … (भिडियो सहित)