आमा बनिन् प्रियंका कार्की

अभिनेत्री प्रियंका कार्की आमा बनेकी छन् । रियल लाइफमा नभएर रिल लाइफमा उनी आमा बनेकी हुन् । गतबर्षको सफल चलचित्र ‘छक्का पन्जा’को सिक्वेल ‘छक्का पन्जा २’ अभिनयमा उनले आमाको भुमिका निर्बाह गरिरहेकी छन् ।

चलचित्र भित्र उनले अभिनेत्री स्वस्तिमा खड्काकी आमाको भूमिका निर्वाहा गरिरहेको निर्माण युनिटले जनाएको छ ।छक्का पन्जामा दीपकराज गिरीसँग विवाहको नाटक गरेर अन्तिम समयमा शिवहरी पौडेलकी पत्नी बनेकी उनी यो चलचित्रमा स्वस्तिमाकी आमा बनेकी छन् ।

सधै अभिनेत्रीको भुमिकामा देखिने गरेकी प्रियंकालाई आमाको भुमिकामा पनि साधारण लुकमा देख्न सकिन्छ । छायाँकन पहिले प्रचारका लागि प्रोमो र रिलिज डेट तोकिएको चलचित्र दीपाश्री निरौलाले निर्देशन गरिरहेकी छन् भने कार्यकारी निर्माता विकास आचार्य हुन् ।

पहिलो सिक्वेलमा नदेखिएका स्वस्तिमा खड्का र स्वरुप पुरुष ढकालको यो चलचित्रमा मुख्य भुमिका रहेको छ । चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, शिवहरी पौडेल, वुद्धि तामाङ, प्रियंका कार्की, किरण केसी, बर्षा राउत, निश्चल बस्नेत लगायतका कलाकारहरुको पनि मुख्य भूमिका रहेको छ ।

चलचित्रको पटकथा तथा संवाद दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र अभिमन्यू निरवीले लेखेका हुन् । दीपक–दीपाको प्रस्तुतीमा तयार हुन लागेको यो चलचित्रमा जीतु नेपाल, माग्ने बुढो डट कम, ताराचन्द्र चापागाँई, सुमन गिरीको लगानी रहनेछ ।

यो युनिटबाट अहिले धुर्मुस सुन्तली र निर्मल शर्मा अलग भएका छन् । यी कलाकार अलग हुनुले चलचित्रलाई ब्यवसाहिक धक्का लाग्ने अनुमान धेरैले लगायका छन् ।