उपत्यकामा अत्याधुनिक पेट्रोल पम्प खोल्ने तयारी

capture
अत्याधुनिक सुविधासहितको उपत्यकामा पेट्रोल पम्प खोल्न दिने सरकारले तयारी गरेको छ । ठूलो क्षेत्रफलमा डिपार्टमेन्टल स्टोर, रेष्टुरेन्ट लगायतका सुविधासहितका पम्प स्थापना गर्न दिने तयारी भएको आपूर्ति मन्त्रालयले जनाएको हो ।

उपत्यकामा अहिले संचालनमा रहेका पम्प साँघुरो र सुविधाविहिन छन्। सानो क्षेत्रफलमा पम्प संचालन हुँदा सडकमै तेल भर्न सवारीसाधनको लाइनहुँदा ट्राफिक व्यवस्थापन गर्न समस्या परेको छ । आयल निगमका निमित निर्देशक दीपक बरालका अनुसार उपत्यकामा अत्याधुनिक सेवासहितको पम्प खोल्न दिने तयारी भएको छ ।

उनका अनुसार कम्तीमा पम्पको पूर्वाधार २० वटा गाडी तेल भर्न र पचास वटा गाडी पार्किङ गर्न मिल्ने क्षेत्रफल हुनुपर्नेछ । अहिले उपत्यकामा नयाँ पम्प खोल्न रोक लगाइएको छ । बरालका अनुसार निजी र सार्वजनिक दुबै क्षेत्रले उपत्यकामा पम्प खोल्न पाउनेगरी नयाँ मापदण्ड बनाउन लागिएको छ। पम्प खोल्न दश रोपनी जग्गा हुनुपर्ने प्रावधान राखिएको छ।

सुरक्षा निकाय,साझा र सार्वजनिक संस्थानले तोकिएको सुविधासहित पम्प खोल्न पाउनेछन्। सरकारले उपत्यकाका १५ स्थानमा सेना,प्रहरी,साझा र साल्ट ट्रेडिङलाई पम्प खोल्न दिने निर्णय गरेको थियो । यो निर्णयपछि पम्प खोल्न नयाँ मापदण्ड बनाउन लागिएको हो। यो पूर्वाधारसहित पम्प खोल्न निजी क्षेत्रलाई भने कठिन हुनेछ। जग्गाकै कारण निजी क्षेत्रले नयाँ पम्प खोल्न कठिन हुने देखिन्छ ।

गत महिना मन्त्रालयले सुरक्षा निकाय तथा सहकारीलाई उपत्यकामा १५ वटा पेट्रोल पम्प सञ्चालन गर्न दिने निर्णय गरेको थियो । यो योजना अनुसार सेनाले पाँच वटा, सशस्त्र दुई, जनपथ प्रहरीले दुई, साझालाई चार वटा र साल्ट ट्रेडिङले दुईवटा पेट्रोलपम्प खोल्न पाउने व्यवस्था गरिएको छ ।

यो पनि हेर्नुहोस्-कम तेल दिने पेट्रोल पम्पमा सिलबन्दी