आयल निगममा अनियमितता गर्ने ८१ कर्मचारीकाे सरुवा

नेपाल आयल निगम

वर्षौंदेखि आयल निगमको एउटै अड्डामा बसेर अनियमितता गर्दै आएका ८१ कर्मचारीलाई एकैपटक सरुवा गरिएको छ । निगमले कर्मचारी प्रशासन विनियमावली, ०६३ विपरीत लामो समयसम्म एउटै अड्डामा बस्ने २ सय ९ कर्मचारीको सरुवा गर्ने रोस्टर तयार पारेकोमा पहिलो चरणमा माथिल्लो पद र कर्मचारी युनियनका नेतालाई लक्षित गरी ८१ जना सरुवा गरिएको हो ।

निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले कर्मचारी व्यवस्थापनमा सुधार गरेर संस्थाको छवि उकास्ने प्रयत्न थालिएको बताए । ‘निगमको छवि सुधार गर्न कर्मचारीबाटै सुरु गर्नुपर्छ भन्ने लाग्यो,’ उनले भने, ‘त्यसैले विनियमावलीविपरीत कार्यरत सबै कर्मचारीको सरुवा सुरु गरिएको हो ।’ कर्मचारीलाई एकैठाउँमा लामो समय बस्न नदिएर विनियमावलीअनुसार सरुवा गर्दा हालको अनियमिततामा सुधार हुने निगमको अपेक्षा छ ।

निगमप्रमुख पौडेलले सोमबार निर्णयमा हस्ताक्षर गरेसँगै कांग्रेस समर्थित कर्मचारी युनियनले मंगलबार दिउँसो २ बजे केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ भने नेकपा समर्थित कर्मचारी संघका पदाधिकारीले स्वागत गरेका छन् । कर्मचारी सरुवाको जानकारी पाएपछि युनियन सम्बद्ध कर्मचारीले आइतबार साँझ नै केही पदाधिकारीको सरुवा रोक्का गरेको छ भने अन्यको सरुवा पनि रोक्ने गृहकार्य अघि बढाएका छन् । तर, सरुवाको निर्णय कार्यान्वयन गरेरै छाड्ने पौडेलको भनाइ छ । उनले सरुवा भएका कर्मचारी पुरानो ठाउँमा हाजिर नहुने व्यवस्था मिलाइएको बताए ।

३५ वर्षदेखि एउटै अड्डामा बस्नेको सरुवा
निगमको प्रशासन विभागअन्तर्गत पुस्तकालयमा ३५ वर्षदेखि कार्यरत देवीप्रसाद न्यौपानेको प्रधान कार्यालयमै रहेको आन्तरिक नियन्त्रण तथा अनुगमन विभागमा सरुवा भएको छ । ५औँ तहका पूर्वएमाले समर्थित कर्मचारी संघका अध्यक्ष प्रधान निगमभित्रको ट्रेड युनियनमा सबैभन्दा शक्तिशाली नेता भएकै कारण आफ्नो सरुवा रोक्दै आएका थिए । पुस्तकालयलाई निगमभित्र वितरण विभाग र खरिद विभागपछि तेस्रो बढी कमाउ हुने अड्डाका रूपमा लिइन्छ । हाल उनी नेकपा समर्थित कर्मचारी संघलाई चुनावमा जिताउँदै आधिकारिक ट्रेड युनियनको नेता बनेका छन् र सञ्चालक समिति सदस्य छन् । त्यस्तै १५ वर्षदेखि योजना महाशाखामा कार्यरत राजेन्द्र पुरीको पनि सरुवा भएको छ ।

तीन दशकदेखि कर्मचारी एकैठाउँमा
विनियमावलीअनुसार अधिकृतस्तर वा सोभन्दा माथिका कर्मचारी २ वर्ष र सहायकस्तरका कर्मचारी ५ वर्षभित्र अनिवार्य सरुवा हुनुपर्छ । तर, निगमबाट प्राप्त विवरणअनुसार विराटनगर डिपोमा टीकाप्रसाद राजवंशी, लक्ष्मीनारायण श्रेष्ठ, जगनाथ कोइराला क्रमशः ३१ वर्ष, ३४ वर्ष र २२ वर्षदेखि सरुवा नभई बसेका छन् । सो डिपोका १३ कर्मचारी सरुवाको सूचीमा छन् । त्यस्तै भैरहवा डिपोमा सीताराम महर्जन ३४ वर्षदेखि कार्यरत छन् । सो डिपोमा ६ कर्मचारी २० वर्षभन्दा बढी समयदेखि कार्यरत छन् । उनीहरू सबै सरुवाको सूचीमा छन् । वीरगन्ज कार्यालयका दिनेशकुमार राउत कुर्मी ३२ वर्षदेखि त्यहीँ छन् । सिनामंगल डिपोका सीताराम काफ्ले र गोपालप्रसाद गौतम २५ वर्ष, शरणमान महर्जन ३० वर्ष, पूर्णप्रसाद खनाल २५ वर्षदेखि कार्यरत छन् । रवीन्द्रलाल सिंह, पूर्णबहादुर खड्का र रविनाथ थापा २० वर्षदेखि सरुवा भएका छैनन् । अमलेखगन्ज डिपोका १८ कर्मचारी सरुवा सूचीमा छन् । यी सबै कर्मचारी दोस्रो चरणमा सरुवा हुने निगमले जनाएको छ ।

ट्रेड युनियन नेताको सरुवा रोकियो
कर्मचारी युनियनका पदाधिकारीले दबाब दिएर आफ्नो सरुवा रोक्का गरेका छन् । स्रोतका अनुसार कांग्रेस समर्थित कर्मचारी युनियनको उपाध्यक्ष कमला न्यौपानेको सरुवा बदर गरिएको छ । उनी वितरण विभागका प्रबन्धक हुन् । यो विभागलाई निगमभित्रको सबैभन्दा कमाउ अड्डा मानिन्छ । त्यस्तै युनियनको महासचिव सन्दीप बरालको सरुवा पनि बदर गरिएको छ । छैटौँ तहका उनी सिनामंगलस्थित हवाईइन्धन डिपोमा साढे चार वर्षदेखि कार्यरत छन् ।

विनियमावलीअनुसार उनी २ वर्षमा सरुवा हुनुपर्ने थियो । युनियनका कोषाध्यक्ष गोविन्दमान डंगोल अर्थ विभागमा रहेको ७ वर्ष भइसकेको छ । ५ वर्ष मात्र बस्न पाउने नियमअनुसार उनको सरुवा गर्ने रोस्टरमा नाम राखिएको थियो । तर, आइतबार साँझ व्यवस्थापनलाई दबाब दिएर सरुवा बदर गरिएको छ ।

पाँचौँ तहका दीपेश रसाइली मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको लेखाप्रमुख छन् । जबकि सो पदमा छैटौँ तहको कर्मचारी योग्य हुन्छ । पूर्वकार्यकारी निर्देशक गोपाल खड्कालाई रिझाएर उनी योग्यता नपुगेको पदमा बसेका छन् । ३ वर्षमा सरुवा हुनुपर्ने उनी त्यहाँ बसेको ५ वर्ष भइसकेको छ । यसपटक पनि युनियनको दबाबमा उनको सरुवा बदर गरिएको छ ।

आजको नयाँ पत्रिकामा खबर छ ।

उपभोक्ताको ढाड सेकेर कर्मचारीलाई साबुनसम्मको सुविधा बाँड्दै आयल निगम