विद्युत् प्राधिकरणको नाफा ४८ करोड घट्यो, आयात बढ्यो

  • आम्दानी ९ अर्ब बढ्यो
  • चुहावट २०.४५ प्रतिशतमा झर्यो
  • विद्युत् माग घट्योड्ड ३ लाख ग्राहक बढे

नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्ष (२०७४/७५)मा ९८ करोड रुपैयाँ बराबर खुद नाफा कमाएको छ । आन्तरिक लेखा परीक्षण हुन बाँकी रहे पनि हालसम्मको प्रारम्भिक आम्दानी र खर्चबाट यति नाफा देखिएको हो ।

यो रकम अघिल्लो आर्थिक वर्ष २०७३/०७४ को भन्दा ४८ करोड कम हो । आयातित विद्युत्को भाउ बढेको, बढ्दो खर्चलगायतको कारणले खुद नाफा घटेको हो । अघिल्लो आर्थिक वर्षमा पछिल्लो १७ वर्षयता नै पहिलोपटक प्राधिकरणले खुद नाफा १ अर्ब ४६ करोड गर्न सफल भएको थियो । तर, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अन्तिम लेखापरीक्षण सम्पन्न भएपछिमात्र अहिले प्रक्षेपित वार्षिक खुद नाफा बढ्नसक्ने बताए । गत आवमा प्राधिकरणको सञ्चालन मुनाफा ७ अर्ब ८६ करोड रुपैयाँ छ । यसमा अन्य वित्तीय खर्चहरू कटौती गरेपछि खुद मुनाफा आउँछ ।

“प्राधिकरणको गत आवको वार्षिक बजेटमा खुद नोक्सानी करिब २ अर्ब ५० करोड रुपैयाँ हुने प्रक्षेपण गरेका थियौं, तर प्रशासनिक र वित्तीय सुधारका लागि चालिएका कदमबाट संस्थालाई नाफामा लैजान सफल भएका छौं,” कार्यकारी निर्देशक घिसिङले भने, “मैले जिम्मेवारी सम्हाल्दा संस्था ८ अर्ब ८९ करोड रुपैयाँ वार्षिक घाटामा थियो, प्रधानमन्त्री, ऊर्जामन्त्री, उर्जासचिव, सञ्चालक समितिसहितको सहयोगबाट अघिल्लो वर्ष नै संस्था नाफा गयो । यद्यपि, सोचेजति सफलता अझै हासिल भएको छैन ।”

विद्युत् चुहावट नियन्त्रणमा हासिल भएको सफलता, भारतबाट आयात र निजी क्षेत्रका उत्पादकहरूसँगको विद्युत्को औसत खरिद दरमा आएको कमी लगायतबाट खुद मुनाफा गरेको प्राधिकरणको दाबी छ । चुहावट नियन्त्रणबाट प्राधिकरणलाई झण्डै ४ अर्ब रुपैयाँ थप आम्दानी भएको छ ।

गत वर्ष विद्युत् आयात भने ३ अर्ब रुपैयाँ बढेको छ । प्राधिकरणका अनुसार, गत वर्ष १९ अर्ब ३७ करोड बराबरको २५८२ गिगावाट आवर बराबर विद्युत् आयात गरेको प्राधिकरणले अघिल्लो वर्ष १६ अर्ब ५१ करोड बराबरको २०१७ गिगावाट आवर विद्युत् भारतबाट खरिद गरेको थियो ।

प्राधिकरणले अघिल्लो आर्थिक वर्षमा विद्युत् बिक्री र व्याजलगायतबाट ५१ अर्ब ७० करोड रुपैयाँ आम्दानी गरेकोमा गत वर्ष यो बढेर ६० अर्ब ४८ करोड रुपैयाँ पुगेको छ । यो अघिल्लो वर्षको तुलनामा करिब ९ अर्ब बढी हो । लोडसेडिङ अन्त्य र आफ्नो स्वामित्वमा रहेका विद्युत् गृहको कुशलतापूर्वक सञ्चालनका साथै लोडसेडिङ अन्त्य हुँदा सहरी क्षेत्रका ठूला गार्हस्थ्य तथा व्यापारिक र औद्योगिक ग्राहकतर्फको आम्दानी बढेको प्राधिकरणले जनाएको छ । “हामीले सञ्चालन गरेको ‘उज्यालो नेपाल अभियान’बाट उपभोक्ताले उज्यालोमात्रै पाएका छैनन्, नियमित विद्युत् आपूर्ति हुन थालेपछि मुलकको अर्थतन्त्र नै चलायमान भएको छ,” घिसिङले भने । आम्दानी बढेपनि विद्युत्को माग भने घटेको छ । अघिल्लो वर्ष १३ सय मेगावाटसम्म माग पुगेकोमा गत वर्ष १२ सय ५० मेगावाट मात्र छ । लोडसेडिङमुक्त भएपछि माग बढ्ने प्रक्षेपण प्राधिकरणको थियो । तर ग्राहक भने ३ लाख ग्राहक संख्या बढेको छ । अघिल्लो वर्ष ३२ लाख ६० हजार ग्राहक रहेकोमा बढेर ३५ लाख ५१ हजार पुगेको प्राधिकरणले जनाएको छ ।

यसैगरी, विद्युत् प्राधिकरणको चुहावट २०.४५ प्रतिशतमा झरेको छ । प्राधिकरणले अघिल्लो वर्ष २२.९० प्रतिशत विद्युत् चुहावट रहेकोमा २०.५० प्रतिशतमा झार्ने लक्ष्य राखेको थियो । गत आवमा विद्युत् चुहावट २०.४५ प्रतिशतमा सीमित भएको प्राधिकरणले जनाएको छ । जसमध्ये प्रसारण र वितरण प्रणालीमा भएको चुहावट क्रमशः करिब ५.५ प्रतिशत र करिब १४.५ प्रतिशत रहेको छ । चालू आवमा विद्युत् चुहावटलाई १८.५ प्रतिशतमा झार्ने लक्ष्य तय गरिएको छ । “तर हाम्रो कोसिस १५ प्रतिशतमा कायम हुनेछ,” घिसिङले भने ।

चुहावट नियन्त्रणका लागि प्राधिकरणले चोरी नियन्त्रण गर्ने, महसुल बक्यौता असुलीमा कडाई गर्ने, प्राविधिक चुहावट घटाउन ट्रान्सफर्मर, वितरणलाइन तथा सबस्टेसनको सुदृढीकरण लगायतका काम अभियानकै रुपमा प्राधिकरणले चलाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले विद्युत् चुहावट घटाउने, संस्था भित्रको आर्थिक तथा प्रशासनिक वेथिती नियन्त्रण गरी सुशासन कायम गर्ने, सेवाप्रवाहलाई सुधार गर्ने लगायतका निर्देशनको कारणले चुहावट घटेको र आम्दानी बढेको प्राधिकरणको दाबी छ । – आजको कारोबार दैनिकमा खबर छ ।