आयुर्वेदिक उपचारको महत्व बुझ्दै शुक्लाफाँटाका बासिन्दा

आयुर्वेदिक चिकित्सा पद्धतिको महत्वबारे कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका सर्वसाधारणले बुझ्न थालेका छन् ।

रोग निवारणका लागि आयुर्वेदिक औषधि प्रभावकारी सावित भएपछि सर्वसाधारणको औषधालयप्रतिको आकर्षण बढ्न थालेको हो । झलारी आयुर्वेद औषधालयमा उपचार गर्न पुग्ने बिरामीको संख्यामा विगतको तुलनामा तीनगुणाले वृद्धि भएको छ ।

आयुर्वेदिक औषधिले शरीरमा रहेको विकारलाई नियन्त्रण गरी पूर्णतया रोगलाई निवारण गर्ने भएकाले बिरामीको संख्यामा वृद्धि भएको औषधालयका वैद्य दीवाकार जोशीले बताउनुभयो ।

आयुर्वेदिक औषधिले साइड इफेक्ट नगर्ने भएकाले बिरामीको आयुर्वेद चिकित्साप्रतिको मोह बढेको उहाँले बताउनुभयो । बिरामीलाई प्रत्यक्ष निगरानीमा राखेर उपचार हुँदै आएको र औषधि र परामर्श निःशुल्क गरिएकाले सर्वसाधारणको आयुर्वेदिक औषधालयप्रतिको विश्वास जागेको छ ।

औषधालय पुग्ने बिरामीमा बाथ, ग्याष्ट्रिक, दम खोकी, लिकोरिया, जोर्नी दुख्ने, कमलपित्त र छालाको समस्या लिएर आउने बढी छन् । वैद्य जोशीका अनुसार विगतमा दैनिक एक÷दुई जना बिरामी उपचरका लागि औषधालय पुग्ने गरेका भए पनि हाल दैनिक २०÷३० को संख्यामा बिरामी औषधालय पुग्ने गरेका छन् ।

आयुर्वेदिक औषधालयमा बिरामीको रोग यकिन गरी अविपर्तिकर, सिटोप्लावी, रक्त लवम्गवी, सम्डीपन, हिमकाष्ट, सतरावी, विलम्वी, भुवनेश्वरी वटी, अतिसार चूर्ण र विभिन्न भष्मबाट उपचार गरिन्छ वैद्य जोशीले भन्नुभयो, “लामो समयसम्म आयुर्वेदिक औषधिको सेवन गर्नु पर्दछ भन्ने विगतको गलत मान्यताका कारण बिरामी औषधालय नपुग्ने गरेका थिए ।”

हाल छोटो अवधिमै आयुर्वेदिक औषधिले रोग निको पार्न थालेपछि बिरामी बढेका हुन् । औषधालयमा पुग्ने ७५ प्रतिशत बढी बिरामीको उपचारपछि रोग निवारण हुने गरेको उहाँको दाबी छ । औषधालयमा २९ प्रकारको औषधि पाइने गरेको छ ।

वृद्धवृद्धाका लागि थकान कम गर्ने अश्वगन्धा निःशुल्क प्रदान गरिने व्यवस्थाले महिला र वृद्धवृद्धाको आकर्षण आयुर्वेदिक औषधालय बनेको छ । औषधालयका लागि आयुर्वेदिक औषधि विभागबाट औषधि खरिदका लागि रु दुई लाख बजेटको व्यवस्था गरिएको छ ।

नगरपालिकाको वडा नं १० को कार्यालयले पञ्चकर्म सेवाका लागि रु एक लाख ५० हजार बजेट विनियोजन गरेको छ । औषधालय विसं २०५४ मा स्थापना भएको हो । कञ्चपुरको महेन्द्रनगर र झलारीमा सरकारी आयुर्वेदिक औषधालय सञ्चालनमा रहेका छन् ।

औद्योगिक क्षेत्रवरिपरिका ८४ प्रतिशत बालबालिकाको रगतमा सिसा