प्रचारमा अस्वाभाविक खर्चको अनुगमन गर्न आयोगको आग्रह

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रचार–प्रसारमा राजनीतिक दल र उमेदवारबाट भइरहेको अस्वाभाविक खर्चको अनुगमन गर्न सरकारी निकायहरूसँग आग्रह गरेका छन् ।

शुक्रबार आयोगमा आयोजित निर्वाचनको तयारी तथा निर्वाचन आचारसंहिता सम्बन्धी उद्योग वाणिज्य क्षेत्रका सरकारी पदाधिकारी तथा उद्योगी व्यवसायीहरूसँगको छलफलमा प्रमुख आयुक्त यादवले यस्तो आग्रह गरेका हुन् ।

निर्वाचनमा दल र उमेदबारबाट भएको अधिक नगद प्रवाहको अनुगमन गर्न नेपाल राष्ट्र बैंक, सम्पत्ति सुद्धीकरण अनुसन्धान विभाग र आन्तरिक राजश्व विभागलाई आग्रह गरेका छन् ।

‘‘आयोगले तोकेको सीमाभन्दा अत्यधिकरुपमा खर्च भइरहेको छ भन्ने चर्चा छ, यसलाई कसरी नियन्त्रण गर्ने भन्ने चिन्ताको विषय हो, खर्चको स्रोत के हो, कहाँबाट आउँछ र त्यो कर योग्य आय हो होइन ? त्यसको निगरानी सरकारी निकायबाटै हुनुपर्छ,’’ उनले भने ।

निर्वाचनलाई स्वच्छ र स्वतन्त्र ढंगबाट सम्पन्न गर्न सहयोग पुर्याउन आग्रह प्रमुख आयुक्त यादवले दल तथा उमेदवारले आफ्नो सिद्धान्त र घोषणापत्रका आधारमा जनताको मन जित्नुपर्ने बताए ।

यो पनि पढ्नुहोस्

उम्मेदवारले बढीमा २५ लाख खर्च गर्न पाउँने

भदौं १ भित्र निर्वाचन मिति घोषणा गर्न प्रधानमन्त्रीलाई आयोगको आग्रह

निर्वाचन आयोगले भदौ १ गतेभित्र प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन मिति घोषणा गर्न सरकारलाई सुझाव दिएको छ ।
सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुगेका प्रमुख आयुक्त डा. अयोधिप्रसाद यादवले भदौ १ गते भित्र निर्वाचन मिति घोषणा गर्न सरकारलाई सुझाव दिएका हुन् ।
निर्वाचनको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा सकारात्मक देखिएको भेट पछि उनले बताए ।

“समयमा निर्वाचन सम्पन्न गर्नका लागि छिटो प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन सम्बन्धि कानून र क्षेत्र निर्धारणको प्रतिवेदन उपलब्ध गराउन भनेका छौं,” यादवले भने ।
उनले दुबै निर्वाचन एउटै मितिमा गर्ने विषय भने छलफलमै रहेको जानकारी दिए । त्यस्तै प्रधानमन्त्रीसँग इलेक्ट्रोनिक भोटिङ मेसिन (ईभीएम) प्रयोगबारे समेत छलफल भएको थियो ।