आयोगद्वारा निर्वाचन निर्देशन : चैत्र ११ भित्र हातहतियारको विवरण दिन गृहलाई पत्राचार

election-commission

वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको व्यापक तयारीमा रहेको निर्वाचन आयोगले बुधबार गृह मन्त्रालयलाई पत्राचार गरी जिल्लागत रुपमा संकलन गरिएका हतियारको विवरण चैत्र ११ गतेभित्र दिन भनेको छ ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले दिनुभएको जानकारी अनुसार आयोगले संकलन भएका हातहतियारको जिल्लागत विवरण चैत ११ भित्र आयोगमा उपलब्ध गराउन गृह मन्त्रालयलाई निर्देशन दिएको हो । चैत ८ गतेसम्ममा नियन्त्रणमा लिइएका अवैध हातहतियारको सूची उपलब्ध गराउन पनि निर्देशन दिएको छ ।

त्यसै गरी आयोगले आगामी वैशाख ३१ गतेका लागि घोषित स्थानीय तह निर्वाचन सम्पन्न नभएसम्मका लागि तालिम, गोष्ठी, सेमिनार, अवलोकन भ्रमण प्रयोजनार्थ हुने वैदेशिक भ्रमण कार्यक्रम स्थगन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पुनः निर्देशन दिएको छ । आयोगले यसअघि फागुन २८ गते नै निर्देशन जारी गरेको थियो ।

त्यसै गरी आगामी वैशाखको पहिलो सातादेखि निर्वाचन अधिकृतको कार्यालय खुल्ने भएकाले निर्वाचन अधिकृतको कार्यालय स्थापनामा आवश्यक व्यवस्थापन गर्न सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई निर्देशन दिएको छ ।

आयोगले स्थानीय तहको निर्वाचन घोषणा भई फागुन १८ मा निर्वाचन आचारसंहिता लागू भएपछि आयोगको आचारसंहिता समितिमा परेको उजुरी तथा निवेदनमध्ये समितिले हालसम्म सहमतिका लागि माग भई आएका ३२२ निवेदनमा छानबिन गरी १९३ वटा निवेदनलाई समेत सहमति प्रदान गरेको छ ।

यसैगरी, आयोगले १२९ वटा निवेदनलाई सहमति नदिने निर्णय गरेको छ । प्राप्त निवेदनमध्ये ९२ वटालाई त्यस विषयमा थप खुलाई लेखी पठाउने र छवटा निवेदनलाई तामेलीमा राख्ने निर्णय गरेको छ । साथै, आचारसंहिता विपरीत कार्य भएको भनी आयोगमा परेका २१ वटा उजुरीमध्ये आयोगले केहीमा निर्णय दिएको छ ।

निर्वाचन आयोगको पत्रपछि रोकियो चुनाव