दुबै चुनाव एकै मितिमा गर्न तयारी थाल्न आयोगलाई निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले एकै मितिमा प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव सम्पन्न गर्ने गरी तयारी थाल्न निर्वाचन आयोगलाई निर्देशन दिएका छन् ।
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा निर्वाचन आयोगका पदाधिकारीसँग भएको भेटमा चुनावी खर्च कम गर्न र तोकिएकै समयमा चुनाव सम्पन्न गर्न दुवै चुनाव एउटै मितिमा गर्ने गरी तयारी थाल्न निर्देशन दिएका हुन् ।
प्रधानमन्त्रीले निर्वाचन सम्वन्धी दुई ऐन संसद्मा पारित हुने चरणमा अघि बढेको र क्षेत्र निर्धारण आयोगले पनि तोकिएकै मितिमा प्रतिवेदन बुझाउने भन्दै निर्वाचन तयारीमा लाग्न आयोगलाई आग्रह गरेका हुन् ।

निर्वाचन आयोगका पदाधिकारीहरूले भने दुवै चुनाव एकैपटक गर्न विद्युतीय भोटिङ मेसिन प्रयोग गर्नुपर्ने धारणा राखेका थिए । समय कम भएकाले उक्त मेसिन खरिद गर्ने प्रक्रिया, मेसिन प्रयोगको लागि मतदाता शिक्षालगायतका काम गर्न सकिने कि नसकिने भन्ने विषयमा प्रधानमन्त्रीले चासो राखेको प्रधानमन्त्रीका बरिष्ठ सञ्चार विज्ञ गोविन्द परियारले बताए ।

निर्वाचन आयोगका पदाधिकारीहरूले मतदातालाई ‘राईट टु रिजेक्ट’ को अधिकार दिने कि नदिने भन्ने र विदेशमा रहेकालाई पनि मत दिन पाउने प्रावधानका विषयमा पनि जिज्ञासा राखेका थिए ।