पूर्व न्यायाधीशको नेतृत्वमा ५ सदस्यीय निर्वाचन क्षेत्र निर्धारण आयोग गठन

सरकारले पूर्व न्यायाधीश कमलनारायाण दासको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरेको छ ।
मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले प्रदेश र संघीय संसदको निर्वाचन क्षेत्र निर्धारणका लागि पूर्व न्यायाधीश दासको संयोजकत्वमा गठन गरेकाे आयोगकाे सदस्यमा माधव अधिकारी, विश्वकल्याण पराजुली, गणेशराज कार्की रहनुभएको छ भने सदस्य सचिव योगेन्द्र शर्मा पौडेल रहनुभएको अर्थमन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । आयोगलाई सरकारले २१ दिनको समय दिएको छ ।
संवैधानिक व्यबस्था अनुसार सरकारले क्षेत्र निर्धारण आयोग गठन गरेको हो । यस्तै क्षेत्र निर्धारण आयोग गठनमा ढिलाई भन्दै सरकारको आलोचना भइरहेको थियो ।यसैबीच विहीबार नै बसेको व्यबस्थापिका संसद बैठकमा सरकारले प्रदेश र संघीय निर्वाचनका लागि ‘प्रतिनिधिसभा सदस्य निर्वाचन विधेयक, २०७४’ र ‘प्रदेशसभा सदस्य निर्वाचन विधेयक प्रस्तुत गरेको थियो ।
निर्वाचन आयोगले प्रदेश र संघीय निर्वाचनका लागि कानुन निर्माणमा ढिलाई भएको भन्दै सरकारको ध्यानाकर्षण गराउँदै आएको थियो ।

गोमा एयरको जहाज दुर्घटनाको छानविन गर्न आयोग गठन

लुक्लामा दुर्घटना भएको गोमा एयरको कार्गो जहाजको विस्तृत छानवीन गरी ९० दिन भित्र प्रतिवेदन पेश गर्न सरकारले दुर्घटना जाँच आयोग गठन गरेको छ । भबिश्यमा यस्ता दुर्घटना हुन नदिन अपनाउनु पर्ने सुरक्षा सतर्कता लगायतका बिषयमा सुरक्षा सिफारिस गर्न संस्कृति,पर्यटन तथा नागरिक उडडयन मन्त्री जितेन्द्र देवले आइतवार पाँच सदस्यीय जाँच आयोग गठन गरेका हुन् ।

नेपाल नागरिक उडडयन प्राधिकरणका पूर्व महानिर्देशक त्रिरत्न मानन्धरको अध्यक्षतामा गठित आयोगमा नेपाली सेनाका महासेनानी क्याप्टेन आशिष नरसिंह राणा,तारा एयर प्रालिका क्याप्टेन बोधराज निरौला,मनाङ एयर प्रालिका बरिष्ठ इन्जिनियर दिगम्बर राजभण्डारी र नागरिक उडडयन मन्त्रालयका सहसचिव सुरेश आचार्य रहेका छन् । आचार्यलाई आयोगको सदस्य सचिव तोकिएको छ । आइकाओको मापदण्ड र गैरसैनिक हवाइ उडान दुर्घटना जाँच नियमावली अनुसार राय सुझावसहित पेश गर्न आयोगलाई जिम्मेवारी दिइएको छ ।
उडान नम्बर ४०९ र रजिष्ट्रेसन नम्बर नाइनएनएकेवाइ लेट ४१० को विमान लुक्ला बिमानस्थल अवतरण गर्ने क्रममा दुर्घटना भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार चालक पारसकुमार राईको दुर्घटनास्थलबाट लुक्लास्थित अस्पताल लैजाने क्रममा र सह चालक श्रीजन मानन्धरको सोही अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।